८ वैशाख २०८१ शनिबार
अर्थ

तेल चोर्नेलाई कार्वाही गरेको विरोधमा आन्दोलन

विराटनगर– तेल चोर्ने ट्यांकरलाई कार्वाही गरेको विरोधमा पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रने भएका छन्। पेट्रोलियम ट्याङकरको साँचो (चाबी) आयल निगमलाई बुझाएर पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रन लागेका हुन्।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले नियम विपरीत ट्यांकरलाई कार्वाही गरेकाले आन्दोलनमा उत्रन बाध्य हुनु परेको बताए। तेल चोरी भएको ट्याङकरको अनुमति खारेज गरेको विषयमा पुनर्विचार गर्न माग राख्दै आफूहरू आन्दोलित भएको निरौलाले बताए। उनका अनुसार तेल चोरी गर्ने ट्याङकरलाई जरिवाना तिराएर तीन महिना निलम्बन गरेको विषयलाई आफूहरूले स्वीकार गरेको बताए। तर, अन्य  १३ वटा ट्याङकरलाई तीन महिना निलम्बन गर्ने र तेल चोरी भएको ट्याङकरको अनुमति नै खारेज गर्ने विषय कुनै हालतमा स्वीकार्य नभएको निरौलाले बताए।

‘तेल चोरिएको ट्याङकरलाई जरिवाना तिराएर तीन महिना निलम्बन गर्नु ठिकै हो’ उनले भने ‘ट्याङकरको अनुमति नै खारेज गर्नु र अन्य ट्याङकरलाई  पनि कार्वाही गर्नु त उचित भएन।’ उनले केन्द्रमा निगम र ढुवानी व्यवसायीहरूबीच कुराकानी भइरहेको पनि जानकारी दिए। निरौलाले भने ‘केन्द्रमा कुराकानी भइरहे पनि आइतबार साँझसम्ममा कुनै सहमति भएको छैन।’

निगमले ढुवानीकर्ता सुखदेव सिंहले संचालन गरेका १३ वटा ट्यांकरलाई पुसबाट लागु हुने गरी ढुवानीमा प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) रोकेको छ।

‘नियम विपरित लगाइएको प्रतिबन्ध फुकुवा नभए’ सोमबारबाट ढुवानी ठप्प पारेर देशव्यापी हड्ताल गर्ने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पनि चेतावनी दिएको छ। निगमले ढुवानीकर्ता सुखदेव सिंहले संचालन गरेका १३ वटा ट्यांकरलाई पुसबाट लागु हुने गरी ढुवानीमा प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) रोकेको छ।

भारतको बरौनी डिपोदेखि नेपाल आयल निगमको विराटनगर डिपोसम्म ढुवानी गर्ने क्रममा गत मंसिर ६ गते सिंहले संचालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा दुई हजार चार सय ८४ लिटर डिजेल चोरी भएको थियो। त्यसपछि सिंहले संचालन गरेका सबै ट्यांकरलाई निगमले इन्धन ढुवानीमा तीन महिना रोक लगाएको हो। लक लागेकै अवस्थामा डिजेल चोरी भएको ट्यांकरलाई भने अबदेखि कहिल्यै ढुवानीमै प्रयोग गर्न नपाउने गरी निगमको वोर्ड बैठकले खारेज गरिदिइसकेको छ। ढुवानीकर्तालाई दोब्बर जरिवाना गर्दै चालक धर्मेन्द्र स्वर्णकारलाई छ महिनासम्म निगमको विराटनगर डिपो प्रवेषमा रोक लगाइएको छ। निगमले यस घटनाको छानविन समेत गरेको थियो।  ढुवानी व्यवसायीले निगम समक्ष विभिन्न ६ बुँदे माग अघि सारेका छन्।

इन्धन ढुवानीमा तापक्रमको फरक अनुसारको लस पाउनु पर्ने, एक प्रतिशतसम्मको लसलाई मूल्य बराबर मात्र जरिवाना गरिनु पर्ने, दुर्घटना हुँदा लस भएको परिणामको मात्र ढुवानी भाडा रोक्नु पर्ने, आयल निगमले भारतीय डिपोमा अधिकृत स्तरका कर्मचारी खटाएर लोडिङ सहज बनाउनु पर्ने, निगमका सबै डिपोबाट लकिङ प्रणाली चेकजाँच गरी ट्यांकरलाई प्रमाणपत्र दिनु पर्ने माग ढुवानी व्यवसायीको छ। भारतबाट पेट्रोलियम पदार्थ ओसार्दा बाटैमा तेल चोरी हुने गरेको थियो। तेल चोरी नियन्त्रण गर्न आयल निगमले लकिङ सिस्टम लागू गरेको थियो। तर, लकिङ गरेकै ट्याङकरबाट पनि तेल चोरी भएपछि निगमले तेल चोर्ने विरुद्ध कडा कार्वाही थालेको थियो।

प्रकाशित: २३ पुस २०७५ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App