काठमाडाैं - प्राध्यापक डा. गोविन्द केसीले सरकार जनताको पैसा खाएर माफियाका लागि काम गरिरहेको आरोप लगाएका छन्। सोमबार त्रिवि शिक्षण अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सरकारले व्यापारीकरण गरिरहेको आरोप लगाए।
'आफूलाई साम्यवादी भन्नेहरु जनता मार्न माफियासँग लागेकाे बताउँदै उनले भने 'यिनीहरु जनतामारा, विद्यार्थीमारा हुन्। सर्वहारावादी भन्छन्, तर यिनीहरु सर्वहारामारा हुन्।' साम्यवादी तथा समाजवादी भनिएका शिर्षस्थ नेताहरुले नै यस क्षेत्रलाई कमाइ खाने भाडो बनाएको उनको आरोप छ। 'प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा टिस्टा सम्म देखिने भ्यु टावर निर्माण गर्दैछन् रे त्यसमा एक अर्व थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ', उनले प्रश्न गरे 'यहि हो साम्यवादी नेताको प्राथमिकता?'
अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरु जनताका नोकर भएको बताउँदै उनले नोकर भएरपनि उनीहरुले मालिक तथा राजाका झैं व्यवहार गरिरहेको आरोप लगाए। बीएण्डसीलाई सम्बन्धन दिएकोमा आपत्ती जनाउँदै उनले यसमा प्रचण्डको अर्बौं रुपैयाँको लगानि छ भन्दैमा यसलाई सम्बन्धन दिने अरुलाई किन नदिने भन्दै प्रश्न गरे।
आफु इलाम मेडिकल कलेज खोल्नको लागि दवाव दिन गएको बताउँदै उनले नेपालमा भएका १५ मेडिकल कलेज मध्ये ३ वटा मात्रै सरकारी हुनुले सरकारमा बस्नेहरु माफियाका लागि काम गर्दै हिँडेको प्रष्ट हुने बताए।
आफुहरुसँग भएका सम्झाैता कार्यान्वयन नभए २५ गते अघि नै पुनः अनसन बस्ने बताउँदै उनले देशमा रहेकाे अराजकता, दण्डहीनता र भ्रष्टाचार अन्त्य गर्न आफु सरकारसँग लड्न तयार रहेकाे बताए।
प्रकाशित: २३ पुस २०७५ १०:३९ सोमबार