६ वैशाख २०८१ बिहीबार
समाज

मानेभञ्ज्याङ्गमा १२ विद्यालयको विद्यार्थी संख्या २० भन्दा कम

ओखलढुंगा - सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको साटो वर्षेनी घट्दो छ। शिक्षा नियावलीमा पहाडका विद्यालयमा एक शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ। सिंगो मानेभञ्ज्याङ्ग गाउँपालिकामा रहेका कुल ४५ सामुदायिक विद्यालय मध्ये अधिकांशमा शिक्षा नियावलीमा तोकिएको भन्दा कम विद्यार्थी संख्या छन्। कुल ४५ सामुदायिक विद्यालय मध्ये आधाभुत तहका १२ विद्यालयमा शिक्षकको अनुपातमा विद्यार्थी संख्या न्युन छ।

कक्षा १ देखि ३ सम्मका १२ विद्यालयमा २० जना भन्दा कम विद्यार्थी छन्। वडा नं. १ देखी ९ सम्म १५ वटा विद्यालय आधारभुत तह कक्षा १–३ का छन्। त्यस मध्ये १२ वटा विद्यालयमा २० जना भन्दा कम विद्यार्थी संख्या छन्। १२ विद्यालय मध्ये मानेभञ्ज्यांग–३ को सानोजुरे आधारभुत विद्यालयमा सबै भन्दा कम विद्यार्थी संख्या छ। यहाँ मात्र एक जना विद्यार्थी छ। खुशी राई सिंगो विद्यालयकी एक्ली विद्यार्थी हुन्। उनी कक्षा दुईमा पढ्छिन्। यो वर्ष विद्यालयमा तिन जना विद्यार्थी भर्ना भए पनि दैनिक विद्यालय आउने उनी मात्र हुन्।

विद्यालयमा एक जना स्थायी शिक्षक छन्। यसका साथै ईश्वरी आधारभुत विद्यालय मानेभञ्ज्यांग गाउँपालिका–१ मोली र सन्देश आधारभुत विद्यालय मानेभञ्ज्यांग गाउँपालिका–३ उबुँमा पनी विद्यार्थी संख्या कमै छ। तथ्याङ्क अनुसार यि दुबै विद्यालयमा छ/छ जना विद्यार्थी छन्। ३/३ जना शिक्षक कर्मचारी छन्। वाड नं. १ मोलीको महाकाली आधारभुत विद्यालय खाटामा मात्र आठ जना विद्यार्थी छन्। यहाँ पनी तीन जना शिक्षक कर्मचारी छन्। कृषेपु आधारभुत विद्यालय वाक्सा तथा शिलबन्दी आधारभुत विद्यालयमा १२ र समाज सेवा आधारभुत विद्यालय जाक्मामा ११ जना विद्यार्थी छन्।

यसैगरी सिद्धस्थान आधारभुत विद्यालय र कालिका आवि भालुखोलामा १५ जना विद्यार्थी छन्। कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक टेकप्रसाद बास्तोलाका अनुसार भर्ना रजिष्टरमा १५ जना विद्यार्थी संख्या देखिएपनि दोश्रो परिक्षामा मात्र १० सहभागि भएका थिए। यसका साथै जानकी आधारभुत विद्यालय वाड नं. ३ उबुँमा २० र दुधकौशीका आधारभुत विद्यालय वाड नं. ६ सोक्माटारमा १९ जना विद्यार्थी छन्। मानेभञ्ज्जयांङ्ग गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा विद्यालयहरुले उपलब्ध गरेका तथ्याङ्क अनुसार यो संख्या पाईएको हो। ‘स्थलगत रुपमा विद्यालयमै पुग्ने हो भने अझ विद्यार्थी संख्या कम पाईन सक्छ’ शाखाका प्रमुख पेशल राईले बताए।

सिंगो मानेभञ्ज्याङ्ग गाउँपालिकामा कक्षा १ देखी ३ सम्मका १५, कक्षा १ देखी ५ सम्म १२, कक्षा १ देखी ८ सम्म १० वटा आधारभुत तहका विद्यालय सञ्चालनमा छन्। यसका साथै कक्षा १ देखी १० सम्म दुई र कक्षा १ देखी १२ सम्मका ६ वटा माध्यमिक तहका विद्यालय छन्। अभिभावकहरुमा अंग्रेजीको आकर्षणका कारण बोर्डिङ्गमा आफ्नो बच्चालाई पढाउनु तथा सामुदायिक विद्यालयको खस्कदो पठन पाठनका कारण विद्यार्थी संख्या घटेको पाईन्छ। न्युन विद्यार्थी संख्या भएका विद्यालयको सुधारका लागि गाउँपालिकाले कुनै नीति तथा कार्यक्रम बनाएको पाईदैन। यस अघि जिल्लामा विद्यार्थी अभावले चार वटा सामुदायिक विद्यालय बन्द भईसकेका छन्। 

 

प्रकाशित: २३ पुस २०७५ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App