coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

सार्वजनिक शौचालय छैन
भरतसिंह थापा (स्थानीय, सृजना चोक)

यो ठाउँमा सार्वजनिक शौचालय छैन। जसका कारण यात्रुले सास्ती भोगेका छन्। हनुमन्ते खोलादेखि सृजना चोकसम्म बाटो पिच गर्न र ढल हाल्न खाल्डा खनिएको महिनौभन्दा बढी भइसक्यो। तर, अहिले न सडक पिच भयो न त ढलका पाइप हालेर खाल्डा नै पुरिए। ठाउँठाउँमा ढलका पाइप खुला छाडिएका छन्। सर्वसाधारणहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। धुलोले बस्नै सकिएको छैन। पिच नगरेसम्म ट्यांकरबाट पानी हालेको भए हामीलाई धेरै सहजता मिल्ने थियो। मुख्य सडकमा अहिले चिल्ला बनाएका छन्। तर, भित्री बाटो भने अहिले हेरिसक्नु छैन।

ढल व्यवस्थापन भएन
संध्य बासु (स्थानीय, कटुन्जे)

यो वडाको मुख्य समस्या भनेकै ढल व्यवस्थापन नहुनु हो। ढलका पाइप नहुँदा घर आँगनतिरै ढल जमेको छ। छिर्ने कही ठाउँ छैन। दुर्गन्धले गर्दा घरमा बस्ने स्थिति नै छैन। वर्षायाममा त टोल नै डुबान हुन्छ। टोलमा बासकै कारण कैयौंपटक बिजुलीको तार विच्छेद हुने गरेको छ, जसका कारण अन्धकारमा बस्नुपरेको छ। बाँस र विजुलीका तार व्यवस्थित नँहुदा हामी धेरै त्रसित छौँ। कहिलेकाहीँ पानी पनि धमिलो आउने गर्छ। भित्री बाटो पिच गरिएको छैन। बल्ल सडक विस्तार गर्दैछन्। तर, कछुवा गतिमा काम भएको छ। दोबाटोतिर फोहोरमैला फाल्छन्। विभिन्न ठाउँहरूमा डस्टबिन राखिदिएको भए टोल फोहोरमय हुँदैनथ्यो होला। निर्वाचित हुनुअगाडि हात जोडेर सडक बनाउँछु, टोल सुन्दर बनाउँछु भनेर भोट मागे। तर, निर्वाचित भएपछि अहिले जनप्रतिनिधिहरू देखिएका छैनन्।

एजेन्डाअनुरूप काम भएन
रामकुमार बोयाजु (स्थानीय, कटुन्जे भञ्ज्याङ)

बटो यहाँको समस्या हो। अधिंकाश सडकका पिच उप्किएका छन्। बाँकी सडक पनि फराकिलो छैन। जसले गर्दा सवारी जाम हुन्छ। अहिलेसम्म पनि टोलको ढल बाहिर निस्कासन गरिएको छैन। त्यसैले ढलकोे पनि ठूलो समस्या छ। भित्री सडकमा पिच नै गरिएको छैन। खाल्डाखुल्डीले कतिपय सवारी दुर्घटना भएका छन्। फोहोर व्यवस्थापनमा पनि कन्जुस्याई गरेको देखिन्छ। वडा कार्यालयअगाडि नै फोहोरमैला छ। फोहोर व्यवस्थापन नहँुदा धान रोप्ने बेला खेतमा सिसाका टुक्रा र प्लास्टिक भेटिन्छ। फोहोरमैला व्यवस्थापन गर्न वडावासीमा जनचेतनाको कमी छ। यी यस्ता धेरै समस्याहरू छन्। त्यसैले व्यवस्थापनको लागि वडा कार्यलय अग्रसर हुनु आवश्यक छ। निर्वाचनका बेला जनप्रतिनिधिले थुप्रै एजेन्डाहरू त ल्याए। तर, निर्वाचित भएपछि उनीहरूले एजेन्डा बिर्सिए।

वडा व्यवस्थित बनाउनेछु
राजकुमार जोशी (वडा अध्यक्ष)

हामी जनप्रतिनिधि भएर आएपछि ढल व्यवस्थापनमा पहल गरिरहेका छौँ। करिब १ किलोमिटर बाटो निर्माणसँगै  ढल पनि व्यवस्थापन गरेका छौं। साउने पानी भन्ने ठाउँ लगायत अन्य ठाउँमा बाँसहरू छन्। त्यहाँ केबल तार हालिएको छ। कुनै नांगो तार बिछ्याइएको छैन। त्यसैले जोखिम छैन्। मापदण्ड अनुसारको सडक विस्तार भएपछि बाँस हटाइनेछ। तीन महिनामा सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ। त्यसैले अहिले तीव्र गतिमा काम भइरहेको छ। यो सृजना चोकदेखि नगरपालिकाको भवनसम्म सडक पिच गरिनेछ।  सार्वजनिक शौचालयको पनि समस्या छ। सुशील भैरव मन्दिरमा दुई शौचालय राम्रो नै छ। चालू आवमा नगर भवन लगायत अरु ठाउँमा पनि शौचालय निर्माण गर्नेछौँ। वडा कार्यालयमा बजेट अभाव त छदैछ, पर्याप्त कर्मचारी पनि छैनन्। फोहोरमैला व्यवस्थापनमा समस्या छ। तर, पनि हप्ताको दुई पटक सरसफाइ अभियान सञ्चालन गरिरहेका छौं। सरसफाइको लागि नगरपालिकाको ब्रुमर किन्ने योजना छ। हनुमन्ते खोलामा ढल निकास गर्न नमिल्ने भएकाले यो वडा लगायत अन्य वडाको ढल व्यवस्थापनको लागि बालकुमारीमा ट्रिटमेन्ट प्लान्ट बनाउने प्रक्रिया सुरु भएको छ। यो निर्माण भएपछि ढल व्यवस्थापन हुन्छ। यस वर्ष करिब तीन करोड बजेट वडामा विनियोजन भएको छ। यस बजेट भित्र रहेर भौतिक पूर्वाधार विकास निर्माण पनि गर्दै आएका छौँ। ज्येष्ठ नागरिक, एकल नागरिक, अपांगता भएका व्यक्तिका लागि विभिन्न कार्यक्रम गरिरहेका छौं। हामी निर्वाचित भएर आएपछि अहिले बाटो निर्माण, ढल व्यवस्थापन जस्ता काम गरिरहेका छौं। सुशील भैरव मन्दिरबाट वडा कार्यालय जाने बाटो निर्माण गर्न सीमांकन गरेका छौँ। यो काम तत्कालै सुरु हुन्छ। करिब दुई सय रोपनी सार्वजनिक जग्गा छ। यसको पनि संरक्षण गर्नेछौँ। हाम्रो २१ प्रतिबद्धता अझै पनि सिरानीमुनी छ। त्यही अनुसार हामीले काम गरिरहेका छौं। यसको मूल्यांकन जनताले गर्नेछन्। उहाँहरूको सुझावको अपेक्षामा छौँ। मेरो कार्यकालमा चक्रपानी मार्गमा ढल सहितको पिच, खानेपानी व्यवस्थालगायत मैले प्रतिबद्धता जाहेर गरेअनुसार ८० प्रतिशत काम पूरा गरेर वडा व्यवस्थित गर्नेछु ।
प्रस्तुति: श्याम राई

प्रकाशित: २३ पुस २०७५ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App