coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

भीमसेन मन्दिर पुनर्निर्माण अझै अन्योल

भूकम्प गएको तीन वर्ष बित्दा पनि ललितपुर पाटनदरबारमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन। स्थानीय र सरोकारवाला निकायबीचको समन्वय नहुँदा मन्दिर पुनर्निर्माण टाढिएको हो।

तीन वर्षसम्म पनि पुनर्निर्माण सुरू नभएपछि मन्दिरको अवस्था कमजोर बन्दै गएको छ। अहिले वरिपरि टेका लगाएर मन्दिर अड्याइएको छ। समयमै काम अघि नबढाए मन्दिर लड्न सक्ने ललितपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष अजरमान जोशीले जानकारी दिए। उनले पुरातात्व विभाग र महानगरपालिकाले चासो नदिँदा मन्दिर पुनर्निर्माण टर्दै गएको बताए।

‘सम्पदा जस्तो कुरामा खेलाँची भएको छ, तीन वर्ष पुग्नै लाग्दा पनि अझै मर्मत सम्भार अघि बढ्न सकेको छैन,’ उनले भने, ‘अझै पनि ढिलो गर्ने हो भने त्यसले हामीलाई नै क्षति पुर्‍याउँछ।’ उनका अनुसार यसअघि स्थानीयले बारम्बार पहल गर्दा पनि पुरातात्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिर पुनर्निर्माणबारे बेवास्ता गर्दै आएका थिए। भूकम्पका कारण मन्दिरको भित्री भागमा क्षति पुगेको छ। सरोकारवाला निकायकै ढिलासुस्तीले रोकिएको मन्दिर बनाउन ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीयले हातेमालो गर्ने भने पनि उक्त काम अझै टर्दै गएको छ।

संघका अध्यक्ष तथा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले आफूहरूले मन्दिरको पुनर्निर्माणमा जुट्न लागे पनि सरोकारवाला निकायले त्यसबारे खासै चासो नदिएको जानकारी दिए। ‘हामीले यसअघि नै मन्दिर बनाउने विषयमा धेरै छलफल गर्‍यौं, पुरातात्व विभागमा पनि पत्राचार गर्‍यौं,’ उनले भने, ‘माथिल्लो निकायले बहाना बनाउँदै मन्दिर पुनर्निर्माणलाई टर्दै लगे, अझै पनि माथिल्लो निकायले चासो दिएको छैन, अझै कति समय लाग्ने हो थाहा छैन।’

यसअघि दुई वर्षमा पुनर्निर्माण सक्ने गरी चार करोड ८१ लाख लागतमा मन्दिर पुनर्निर्माण सुरु हुने भनेर स्थानीयले मन्दिर पुनर्निर्माण सुरु गर्न लागेका थिए। तर, उक्त काम अघि बढ्न नसकेको स्थानीयवासीको भनाई छ। संघका पूर्वाध्यक्ष सबिन श्रेष्ठले भने, ‘तीन वर्षअघिदेखि नै मैले निकै प्रयास गर्दै आएको थिएँ। तर, माथिल्लो निकायले दाताको मुख ताक्दा काम सुरु हुन सकेन। पहिल्यै हामीलाई सुम्पिएको भए मन्दिरको यो हालत हुने थिएन।’ उनका अनुसार पुरातात्व विभागकै कमजोरीले मन्दिर पुनर्निर्माण हुन सकेको छैन।

भीमसेन देवता व्यापारी वर्गको मुख्य देवता मानिन्छन्। यसअघि विश्व सम्पदामा सूचीकृत यस मन्दिर मर्मत–सम्भार गर्न पुरातात्व विभागले भारतीय दूतावासलाई दिने निर्णय गरेको थियो। यसबारे पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले इन्डियन एमवेसीले मन्दिर पुनर्निर्माण थाल्ने निर्णय भएको जानकारी दिए। उनले भारतीय दुतावासबाट कुनै जवाफ नआएपछि पुरातात्व विभागले स्थानीयलाई टार्दै आएको जानकारी दिए। ‘हामीले मन्दिरको अध्ययन गरी मर्मत–सम्भारमा आवश्यक इस्टिमेट र ढाँचा तयार पारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पास गराई इन्डियन एम्बेसीलाई पठाएका थियौं, उताबाट कुनै जवाफ आएन,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने।

भूकम्पको डेढ वर्ष बित्दा पनि मर्मत–सम्भार नभएको भन्दै स्थानीय व्यापारीले विभागलाई घचघच्याउँदै आएका थिए। यो मन्दिरलाई कान्तिपुत्र, चक्रवती, पञ्चपाकव लगायत नामले पनि चिनिन्छ। भीमसेन देवता राखेको तेस्रो तल्ला भूकम्पले क्षति पुगेकाले तान्त्रिक विधिअनुसार मूर्तिलाई भुइँतलामा राखिएको छ।

प्रकाशित: २३ पुस २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App