८ वैशाख २०८१ शनिबार
अन्य

अझै बनेन सर्भिस ट्रयाक र पुल

कोटेश्वर– कंलकी सडक खण्ड तयार भएको पनि एक महिना बितिसक्यो। आठ लेनको सडक खण्ड आकर्षक र मनमोहक देखिन्छ। तर, सोही सडकसँगै जोडिएका आधारभूत सर्भिस ट्रयाक, ओभरहेड ब्रिज, जेब्राक्रस, ट्राफिक लाइट, मिडियन लगायतका ‘सडक फर्निचर्स’ अझै तयार भएका छैनन्। जसका कारण पैदलयात्रु अलमल पर्ने मात्र होइनन्, जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन्।

चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले गत मंसिरमा  (१०.३९) किलोमिटर सडक खण्ड निर्माण सम्पन्न गरिसकेको छ। तर, नेपाल सरकारले गर्नुपर्ने आठ लेनको दायाँ–बायाँ दुवैतर्फ ६–६ मिटरको सर्भिस ट्रयाक निर्माणले भने अझैसम्म गति लिन सकेको छैन।

वातावरणविद् तथा सडक अभियन्ता भूषण तुलाधार कोटेश्वर–कंलकी सडक खण्ड यात्रुमैत्री नभएको बताउँछन्। ‘सहरी क्षेत्रको सडक नै एक्सप्रेस रोड जस्तो छ। जसको कारण पैदलयात्रुले सडक वारपार गर्न समेत डराउनुपर्ने अवस्था छ,’ उनले भने, ‘कोटेश्वर–कंलकी सडकखण्डमा आधारभूत सडक फर्निचर्स समेत निर्माण भएका छैनन्। जसले गम्भिर समस्या निम्ताउने जोखिम बढेको छ।’

अभियन्ता तुलाधारले चक्रपथ सुधार योजनालाई बारम्बार सडकको पूर्वाधार निर्माणमा सुधार गर्न अनुरोध गर्दै आइरहेको बताए। बालकुमारीका रमेश श्रेष्ठले चिनियाँ कम्पनीले चिटिक्कको सडक तयार परेपछि सर्भिस ट्रयाक र आकाशे पुल निर्माण नहुँदा सर्वसाधारणले सास्ती भोगेको बताए। ‘आठ लेनको सडक मात्रै चिटिक्क पारेर भएन। सर्भिस लेन नबनाएसम्म धुलाम्मे सडक उस्तै भइहाल्ने भो नि,’ उनले भने, ‘यो सडक खण्ड। बाह्र हात नाघेर बित्तामा रोकिएजस्तै भएको छ। त्यसैले तत्कालै निर्माण सम्पन्न गर्नुपर्ने देखिन्छ।’


उनका अनुसार कंलकी–कोटेश्वर सडक खण्डमा पर्याप्त आकाशे पुल, जेब्राक्रस, ट्राफिक लाइट लगायतका आधारभूत सडक पूर्वाधार तत्कालै निर्माण गर्न जरुरी देखिन्छ।  सरकार र चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपबीच सन् २०१२ मा कलंकी–कोटेश्वर (१०.३९ किलोमिटर) चार लेनको सडकलाई आठ लेनको बनाउने सम्झौता भएको थियो। सम्झौताअनुसार  ठेकेदार कम्पनीले आठ लेनमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक, बाँकी चार लेन दुवैतर्फ सात–सात मिटरका दुई–दुई लेनका सहायक सडक निर्माण गरिएको हो। सडकमा साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण गरिएको छ। तर, ठेकेदार कम्पनीले तोकिएको समयभन्दा झण्डै दुई वर्षपछि मात्रै उक्त सडक निर्माण सम्पन्न गरेको हो।

काठमाडौं चक्रपथ सडक सुधार योजना प्रवक्ता निरञ्जन शर्मा अर्यालले चिनियाँ कम्पनीले आठ लेनको सडक तयार पारिसके पनि आवश्यक पर्ने सडक फर्निचर्स निर्माण गर्न ढिलाई भएको बताउँछन्।  ‘चिनियाँ कम्पनीले आफ्नो टार्गेट अनुसारको काम सम्पन्न गरिसक्यो,’ उनले भने, ‘नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सर्भिस ट्रयाक निर्माण र आधा दर्जन पुल निर्माण अझै सम्पन्न गर्न सकेका छैनौं।’ योजनाका १०.३९ किलोमिटर सर्भिस ट्रयाकमध्ये करिव ६ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। ‘आठ लेनको सडकको डिजाइन तयार भएर निर्माण सम्पन्न हुनेबेला मात्रै सर्भिस ट्रयाक र पुल निर्माणको योजना अघि सारिएको हो। त्यसैले आठ लेनको सडकसँगै पुल र सर्भिस ट्रयाकलाई सञ्चालनमा ल्याउन नसकेका हौं,’ उनले भने।

उनका अनुसार चिनियाँ ठेकेदार कम्पनीले दुवै काम एकैपटक गर्दा समस्या आउने भन्दै पछि थप गरिएका योजना केही ढिला हुन पुगेको हो। चक्रपथ सुधार योजनाले २०७४ सालमा उक्त सडक खण्डमा ६ पुल निर्माण गर्न ठेक्का दिएको थियो। पूर्णचण्डी जेभीले महालक्ष्मीस्थान, सानेपा, बल्खु क्षेत्रमा पुल निर्माण गर्ने ठेक्का पाएको थियो। त्यस्तै गरी हीराचन अवाले जेभीले बालकुमारी, सातदोबाटो, एकान्तकुना क्षेत्रमा ओभरहेड ब्रिज निर्माण गर्ने ठेक्का पाएको हो।

योजनाका प्रवक्ता अर्यालका अनुसार हालसम्म ओभरहेड ब्रिज निर्माणको २० प्रतिशत भौतिक प्रगति भएको छ। ‘अहिलेसम्म महालक्ष्मीस्थानमा ओभरहेड ब्रिज निर्माणको काम सुरु भएको छैन,’ उनले भने, ‘अन्य पाँच स्थानमा भने धमाधम ब्रिज निर्माण भइरहेको छ। सकभर असार मसान्तभित्र ब्रिज निर्माण सम्पन्न गर्नेछौं।’

योजनाका अनुसार एउटा आकासे पुल निर्माणका लागि साढे दुई करोड रूपैयाँ लाग्नेछ।  योजनाका अनुसार चिनियाँ पक्षले आठ मोटरेबल पुल र तीन ओभरहेड ब्रिज (आकाशे पुल) तयार गरिसकेको छ। सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख केशव शर्मा आठ लेनको सडक निर्माण सम्पन्न भए पनि निर्माण कम्पनीले एक वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी लिने भएकालै तत्कालै सडकको संरचना बदल्न नमिल्ने बताउँछन्। ‘एक वर्षसम्म निर्माण कम्पनीले नै मर्मतसम्भार गर्ने जिम्मेवारी तोकिएको हुन्छ। त्यसैले हामीले चाहेजसरी मोडिफाइड गर्न समस्या हुने गर्छ,’ उनले भने, ‘कोटेश्वर–कंलकी सडक खण्डको अध्ययन गरेर मात्रै थप सडक फर्निचर्स राख्न सकिनेछ।’ उनका अनुसार अध्ययनले दिएको प्रतिवेदनको आधारमा मात्रै अन्य संरचना थपिनेछ।

नयाँ राजदूतसँग सल्लाह गरेर बाँकी काम अघि बढाउनेछौैं

सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख शर्माले कंलकी–महाराजगञ्ज सडक विस्तारको डिपिआर निर्माण भइरहेको बताए। ‘चिनियाँ पक्षले डिपिआर निर्माण गरिरहेको छ,’ उनले भने, ‘हालसालै चिनियाँ राजदूत फेरिनुभएको छ। त्यसैले अबको केही समयभित्रै सम्झौता गरेर निर्माण बढ्नेछ।’

महाशाखाले अहिले कलंकी–महाराजगन्ज सडकखण्डमा ठूला केही अवरोध नभएको जनाएको छ। ‘यो सडक खण्डमा ठूलाखाले अवरोध छैन। तर, केही घर–टहरा, बिग्रिएका सवारीसाधन र विद्युतीय पोल रहेका छन्। त्यस्ता अवरोध असारमा हटाउन अनुरोध गरेका छौँ,’ उनले भने, ‘खानेपानी पाइप, ढल, विद्युतीय पोल सार्न सम्बन्धित निकायसँग समन्वय गर्न लागिरहेका छौँ। जतिसक्दो छिटो अवरोध हटाएर निर्माण अघि बढाउनेछौँ।’

महाशाखाका अनुसार आगामी भदौबाट निर्माण सुरु हुनेछ। डिपिआर पारित भएर निर्माण सुरु भएको करिब साढे तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक केन्द्रबाट दुवैतर्फ ३१–३१ मिटर चौडा भएको सडकमा आठ लेनको सडक निर्माण गरिनेछ। जसमा फुटपाथ, साइकल लेन, सडकबीचमा मेडियमलगायत पूर्वाधार निर्माण गरिनेछ। २७ किलोमिटर चक्रपथमध्ये पहिलो चरणमा १०.३९ किलोमिटर सडक विस्तार सम्पन्न भइसकेको छ। अब करिव १७ किलोमिटर सडक निर्माण गर्न बाँकी छ।

प्रकाशित: २३ पुस २०७५ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App