coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटक तान्न धुलिखेलमा ‘सुपरम्यान जिप लाइन’

धुलिखेल जिप लाइनको थाक्लेडाँडास्थित लञ्चप्याड। तस्बिर : नागरिक

बनेपा - उपत्यकासँगैको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ।
धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल(एडभेन्चर स्पोर्टस्)को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

‘नेपालकै पहिलो सुपरम्यान जिप लाइन/फ्लायरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। धुलिखेल आउने साथै अरनिको राजमार्ग भइ यात्रा गर्ने आन्तरिक तथा बाह्य दुबै खाले पर्यटकलाई यो साहसिक खेलबाट मनोरन्जन मिल्नेछ,’ कम्पनीका अध्यक्ष केदारबहादुर थापाले भने।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कोषाध्यक्षसमेत रहेका थापासहितको समूहले सो जिप लाइन सञ्चालनमा ल्याउन लागेको हो। ‘पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै धुलिखेलमा स्तरिय होटलहरु खुल्दै गरेका छन्। यसै क्रममा हामीले सञ्चालनमा ल्याउन लागेको सुपरम्यान जिप लाइनले उनीहरुको बसाइ अवधि लम्ब्याउन सक्छ। यस्तै, धुलिखेललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन समेत मद्दत गर्छ,’ उनले थपे।

धुलिखेल–८, थाक्लेडाँडाको ‘लञ्च प्याड’देखि पाँचखाल–५, खावामा रहेको ‘ल्यान्डिङ स्टेसन’ सम्म करीब ११ सय मीटर लम्बाइको जिप लाइन रहेको छ। जिप लाइन समुद्रसतहदेखि १३ सय मीटर उचाइबाट सुरु भएर ‘भर्टिकल ड्रप’ दुई सय ४० फीट हुँदै १२ सय मीटरको उचाईमा सम्पन्न हुने कम्पनीले जनाएको छ।

‘हाम्रो जिप लाइन चढ्ने व्यक्तिको तौलअनुसार बढीमा १ मिनेट २० सेकण्डसम्ममा दूरी पार गर्नुहुनेछ। यसमा ६० किलोमीटर प्रति घण्टादेखि अधिकतम ९५ किलोमीटरको गति निर्धारण गरिएको छ। दैनिक ६० जनालाई जिप लाइनको सेवा दिने गरी डिजाइन गरिएको हो,’ थापाले भने, ‘सुपरम्यानले झैं यात्रा गर्ने, एकजना मात्रै नर्मल यात्रा गर्ने, जोडी यात्रा गर्ने सुविधा छ। त्यो यात्रुको रोजाईमा भर पर्छ। यात्रु चाप हेरेर थप लाइनसमेत बढाउन मिल्ने डिजाइन गरिएको छ।’

विगतमा धुलिखेलबाट हिमश्रृंखलाको अवलोकन हिँडेर या होटेलमै बसेर हुनेमा अब जिप लाइनमै सम्भव भएकोमा धुलिखेल–८ का वडाध्यक्ष निराजन जंगम पनि खुशी देखिन्छन्, ‘लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचूलगायतका हिमश्रृंखला र धुलिखेल(रबिओपी) एवं खावा आसपासको हरियालीलाई जिप लाइनबाट नियाल्दै मज्जा लिन सकिने भयो,’ पर्यटन व्यवसायीसमेत रहेको उनले थपे।

‘धुलिखेल जिप लाइन’ पर्यटन विभागबाट स्वीकृति प्राप्त नेपालकै दोस्रो जिप लाइन सेवा भएपनि ‘सुपरम्यान जिप लाइन’का रुपमा सेवा दिने नेपालको पहिलो कम्पनी भएको कम्पनीले दाबी गरेको छ। अष्ट्रिया र भारतीय प्रविधिमा आधारित रहेर जिप लाइन निर्माण भइरहेकोले सुरक्षाको सवालमा ढुक्क रहन थापाले आग्रह गरे, ‘हामीले युरोपियन सुरक्षा मापदण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित रहेर जिप लाइन बनाएका हौं। यहाँ काम गरिरहेको कम्पनीले भारतमा  दर्जनौ र इण्डोनेशिया तथा श्रीलंकामा समेत यस्तै जिप लाइनहरु बनाइरहेको छ। धेरै उचाइबाट डोरीमा यात्रा गर्नु पर्ने भएकाले सुरक्षा र प्रविधिलाई पहिलो प्राथमिकतामा राखेका हौं,’ उनले भने।

कम्पनीले निर्माण कार्यसँगै सेफ्टी (सुरक्षा)को प्रत्याभूतिका लागि धेरै पटक ‘टेष्ट फ्लाइ’ गराइसकेको छ, ‘माघ महिनाबाट औपचारिक रुपमै सेवा दिन थाल्नेछौं। हाललाई प्रति व्यक्ति प्रति पटक दुईदेखि बढीमा तीन हजार रुपैंयाको वीचमा पर्ने गरी शुल्क लिने व्यावसायिक योजना बनाएका छौं,’ थापाले भने।

कम्पनीले १३ वर्षभन्दा माथिका व्यक्तिलाईमात्रै जिप लाइनको सेवा दिने भएकाले बालबालिकालक्षित गरी खावास्थित ‘ल्यान्डिङ स्टेसन’ परिसरको करीब ७० रोपनी क्षेत्रफलमा ‘चिल्ड्रेन एडभेन्चर क्याम्प’ बनाउने भएको छ।
‘एड्भेन्चरमा आधारित अन्य खेलहरु पनि ल्यान्डिङ स्टेसनको क्षेत्रमा सञ्चालन गर्छौं। रुख–रुखमा पनि चल्ने जिप लाइन सुरु गर्दैछौं। छिट्टै साइकल जिप लाइन पनि सुरु गर्दैछौं। क्लाइम्बिङ, बर्ड वाच, नाइट स्टे, रेस्टुरेन्टलगायत धेरै कुराहरु यहाँ उपलब्ध हुनेछ,’ थापाले भने।

पूर्वाधारलगायत जिप लाइनका सामग्रीहरु खरीद तथा जडान कार्यमा हालसम्म पाँच करोड रुपैंया लगानी भएपनि रहे पनि ल्यान्डिङ स्टेसनका रेस्टुरेन्ट, रुफटप क्याफेलगायत थप पूर्वाधार तयार हुँदासम्ममा ६ करोड लगानी हुने उनको इष्टिमेट छ। लञ्चप्याड र ल्यान्डिङ स्टेसनमा १० जना, सेफ्टी अफिसर २ र खावास्थित मनोरन्जनस्थलमा गरी २५ भन्दा बढीले रोजगारी पाउने थापाको भनाइ छ, ‘सेफ्टी र प्राविधिकबाहेकका अन्य कर्मचारीहरुमा स्थानीय रुपमै उपलब्ध र तोकिएको सीप एवं योग्यता भएका व्यक्तिहरुलाई प्राथमिकता दिने कम्पनीको नीति छ,’ उनले थपे।

सूर्योदयको मनमोहक दृश्यावलोकनका साथै दर्जनौं हिमशृंखलाहरु एकै पटक अवलोकन गर्न सकिने स्वच्छ, शान्त रमणीयस्थल धुलिखेलले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहजै आकर्षण गर्दै आएको छ। सुपरम्यान जिप लाइनको सेव आरम्भसँगै धुलिखेलको पहिचानसमेत फेरिने होटल व्यवसायीहरुको भनाइ छ। ‘काठमाडौंबाट नजिकैको पर्यटकीय गन्तव्यमा साहसिक खेलको अवसर थिएन,  बन्जीका लागि सिन्धुपाल्चोक र जिप लाइनका लागि पोखरा नै पुग्नु पथ्र्यो। अब यो अवसर धुलिखेलमै उपलब्ध भएको छ। यसले धुलिखेललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन र पर्यटकहरुलाई लोभ्याउनमा थप मद्दत गर्छ’ क्षेत्रिय होटेल एसोसियसन धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले भने।

धुलिखेल नगरपालिकाको पहिलो नगर सभाले पनि नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान बनाएको नगर बनाउने निर्णयअनुसार पर्यटकीयक्षेत्रका विभिन्न विधामा लगानी आह्वान गरिरहेको छ। ‘यसै अनुसार हाम्रो वडामा ठूलादेखि साना होटल रिसोर्ट थपिने क्रममा रहेको छ। यस्तै, साहसिक खेलका रुपमा सुपरम्यान जिप लाइन हाम्रै वडामा भित्रिनु गौरवको विषय बनेको छ,’ वडाध्यक्ष जंगमले थपे।

प्रकाशित: २३ पुस २०७५ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App