coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा अधिकारी

काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध दिर्नेशकमा डिल्ली अधिकारी नियुक्त भएका छन्। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो।  तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारी हटाएको झण्डै चार महिनापछि सरकारले टेलिकमको प्रबन्ध निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको हो। नागरिकसँग संक्षिप्त कुरा गर्दै अधिकारीले नेपाल टेलिककको समग्र विकासको योजना ल्याउने बताए। साउन अन्तिम साता तत्कालीन प्रबन्ध निर्देशक राजभण्डारीलाई हटाएपछि टेलिकम नेतृत्वविहीन थियो।

४४ वर्षे अधिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बिई (इलेक्ट्रोनिक्स) र इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा मास्टर गरेको बताए। अधिकारी नेपाल टेलिकमको १०औं तहको प्रबन्धक थिए। उनी प्राविधिक र व्यावसायिक विषयमा प्रबन्ध निर्देशक कार्यालयका सल्लाहकार थिए।

अधिकारीमाथि खस्कँदो नेपाल टेलिकमलाई उकास्ने चुनौती छ। कमसल गुणस्तर, चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) विस्तार र खस्कँदो घाटा उनको लागि चुनौती हुन्। अन्तर्राष्ट्रिय कलबाट हुने घट्दो नाफालाई बढाउनु र आक्रामक रुपमा आएको निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु अधिकारीका लागि थप चुनौती हुनेछ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशक सिफारिस समितिले उनीसहित पूर्वप्रबन्ध दिर्नेशक बुद्धि आचार्य र टेलिकममै कार्यरत संगीता अर्याललाई सिफारिस गरेको थियो। उनीहरुलाई पन्छाउँदै अधिकारी प्रबन्ध निर्देशक पदमा नियुक्त हुन सफल भएका हुन्। टेलिकम कर्मचारी कार्यविधि अनुसार प्रबन्ध निर्देशकको कार्यकाल तीन वर्षको हुनेछ।

मन्त्रालयले मंसिर २९ गते प्रबन्ध निर्देशक पदको लागि मागेको दरखास्तमा ११ जनाले निवेदन हालेका थिए। त्यसमध्ये मन्त्रालयले आठजनालाई सर्टलिस्टमा नाम छानेको थियो। सर्टलिस्टमा पर्नेमा धनगढी क्षेत्रीय निर्देशनालयका प्रबन्धक निर्देशक बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय थिए। प्रतिस्पर्धाबाट नेपाल टेलिकममा नियुक्त भएकी राजभण्डारीलाई कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै सरकारले साउनको अन्तिम साता बर्खास्त गरेको थियो। राजभण्डारी प्रतिस्पर्धाका आधारमा टेलिकमको प्रबन्ध निर्देशकको रुपमा २०७३ असोजमा तीन वर्षका लागि नियुक्त भएकी थिइन्।

प्रकाशित: २३ पुस २०७५ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App