coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

पोखरा रंगशाला। फाइल तस्बिर

पोखरा - लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।

‘सम्झौताका लागि आशयपत्र प्रकाशित गरेपछि कम्पनीसँग सम्झौता भएको हो’, राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने, ‘सम्झौता भइसकेको छ। अब कम्पनीले फिल्ड भिजिट गरेपछि काम सुरु गर्नेछ।’ कम्पनीका पदाधिकारीहरू सोमबार पोखरा रंगशाला आउने र स्थलगत अध्ययन गर्नेछन्।
नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिनाअघि ती मैदानको पूर्वपश्चिम रहेका दुई प्यारापिट भत्काइएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले भने फुटबल रंगशालाका लागि आवश्यक बजेटमध्ये ५३ करोडसमेत विनियोजन गरिसकेको छ। ‘मन्त्रालयले बजेट छुट्ट्याइसकेको छ,’ उनले भने, ‘छ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का दिइएको छ।’

खेलकुद परिषद्ले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेन्डर आह्वान गरेको थियो। सिएमई कन्स्ट्रक्सन प्रोजेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सिएबी कन्स्ट्रक्सन एचडी लिमिटेड जावलाखेल, ललितपुर अन्तिम छनोटमा परेका थिए। तर केही महिनाअघि मात्रै चिनियाँ कम्पनीलाई हटाई भारतीय कम्पनीलाई छनोट गरिएको थियो।

मैदानका लागि १ अर्ब ७३ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ। फुटबल रंगशाला निर्माणका लागि अर्थ मन्त्रालयले डेढ महिनाअघि मात्र बजेट विनियोजन गरेपछि टेन्डर प्रक्रिया टुंग्याइएको हो। अर्थ मन्त्रालयले १ अर्ब २० करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने सुनिश्चितता गरेको थियो।

फुटबल रंगशाला निर्माणका लागि अर्थ मन्त्रालयले डेढ महिनाअघि मात्र बजेट विनियोजन गरेपछि टेन्डर प्रक्रिया टुंग्याइएको हो।

आह्वान गरिएको टेन्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्र्याक बनाउन कम्पनीको अनुभवपत्रसमेत माग गरिएको थियो। फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्डअनुसार मैदान १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ हुनुपर्ने उल्लेख छ। मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याक हुनुपर्ने उल्लेख छ।

४ सय मिटरको आठ लेनको सेन्थेटिक ट्र्याक हुनुपर्ने टेन्डरमा खुलाइएको छ। टेन्डर खरिद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलर हुनुपर्ने सर्त राखिएको थियो। जोइन्ट भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभरलगायत अध्ययन परिषद्ले गरेपछि निर्णय गरिएको उनले सुनाए।

टेन्डर सम्झौता भएपछि कम्पनीका पदाधिकारी पोखरा आइपुग्ने जनाउँदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्थलगत अध्ययन गरेपछि लगत्तै काम सुरु गर्ने बताए। ‘अब काम रफ्तारमा हुन्छ’, उनले भने, ‘सोमबार टोलीले स्थलगत अध्ययन गरेर फर्किएपछि सामान झार्न सुरु हुन्छ।’ टेन्डर सम्झौता भएपछि माघ १५ गतेदेखि मनकामना केवलकार फुटबल प्रतियोगिता र फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकप प्रतियोगिता प्रभावित हुने सम्भावना छ।

पोखरा रगंशालाको ४ सय १७ रोपनी जग्गा छ। क्रिकेट रंगशाला, स्विमिङपुल, सडक, मार्सल आर्ट कभर्ड हल बनाउन बाँकी छ। आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल निर्माणाधीन छन्। साग गेमलाई लक्षित गरी आर्चरी कभर्ड हल र टेनिस कोर्टको काम भइरहेको छ। स्क्वासका लागि आवश्यक पूर्वाधारसमेत बनाइएको छ।

पोखरा रंगशालाभित्र अहिले साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल, दुई करोडको लागतमा आर्चरी मैदान, साढे दुई करोडमा टेनिसको हार्ड कोर्ट, क्ले कोर्ट र चेन्जिङ रुमसहित प्यारापिट निर्माणाधीन, साढे तीन करोडको लागतमा निर्माणाधीन चारकोर्ट युक्त ब्याडमिन्टन कभर्ड हल, सवा करोडको लागतमा भलिबल प्रशिक्षण केन्द्र र ९० लाखको लागतमा ह्यान्डबल खेलमैदान निर्माण गरिएको छ।

यता गण्डकी प्रदेश सरकारले समेत अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न परिपत्र गरेको जनाएको छ। अन्तर्राष्ट्रिय खेलमैदान बनाउन प्रदेशले चिनियाँ कम्पनीसँग छलफल गरिरहेको छ। छलफलसँगै चिनियाँ रेलवे १४औं ब्युरो ग्रुप कम्पनीले रंगशाला अध्ययन भ्रमण गरी आवश्यक सर्भे गरी नक्सांकन गरिसकेको गण्डकी प्रदेश भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेतले बताएका थिए।

प्रकाशित: २३ पुस २०७५ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App