६ वैशाख २०८१ बिहीबार
समाज

बागबजारमा फेरि आगलागीः नौ पसल जले, एक पक्राउ

डडेल्धुरा– सदरमुकाम बागबजारमा गएराती फेरि भीषण आगलागी भएको छ। सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोट रोडमा मध्यराती साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बसपार्क नजिकै बगरकोट जोड्ने सडक किनारमा काठ र जस्ताले बनेका पसल जलेर खरानी भएका छन्। उक्त क्षेत्रमा चिया नास्ता पसल, तरकारी फलफुल र माछा पसल रहेका थिए।

गएराती भएकोे आगलागीसहित दुई साताभित्र बागबजार क्षेत्रमा ४ पटक आगलागी भइसकेको छ। राती राती हुने आगलागीले व्यापारी संशकित भएका बेला आगो लगाउने एक जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। पक्राउ परेकाको नाम ठेगाना प्रहरीले नखुलाए पनि आगलागी पीडितको आफन्त नै रहेको बताएको छ। उनले आगो लगाएको प्रहरी सामु स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए। 

आगलागी करिब २ घण्टा पछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो। सधै जसो आगलागीका घटना हुनु रहस्यमय भएको स्थानीय व्यापारीहरुले ठम्याई छ। उच्च सुरक्षा सतर्कता अपनाउन व्यापारीहरुले माग गरेका छन। गत साता  मात्र डडेल्धुरामा लगातार ३ पटक भएको आगलागीमा ५ पसल जलेर नष्ट  हुँदा करिब ८७ लाख बराबरको क्षतिको थियो। दुई सातामा डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा १४ पसल जलेर नष्ट भएका छन।

प्रकाशित: २३ पुस २०७५ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App