coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको दाबी : मुलुक आर्थिक समृद्धिको बाटोमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि एक वर्षको अवधिमा मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मात्र होइन, उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले समेत सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरिरहेका बेला आइतबार संसद्लाई सम्बोधन गर्दै उनले मुलुकको हरेक क्षेत्रको सूचाकांक सुधारको बाटोमा गएको विवरण पेस गरेका हुन्। एक घन्टा लामो सम्बोधनका क्रममा प्रतिपक्षीमाथि आक्रामक देखिएका प्रधानमन्त्री ओलीले भने, ‘केही गर्न खोजिन्छ। सोधिन्छ– त्यो किन गरेको रु केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खै काम गरेको ?’

प्रधानमन्त्री ओलीले राजस्व संकलन र वित्तीय अवस्था, पुँजीगत खर्च, आर्थिक वृद्धिदर, आयात/निर्यात अन्तर, शोधनान्तर बचत, फ्लागसिप कार्यक्रमको कार्यान्वयन र रोजगारी, राष्ट्रिय गौरवका आयोजनामा प्रगतिको सूचक देखिएको दाबी गरे। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको जनाउँदै पुँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको उनले दाबी गरे।

गत वर्षको तुलनामा मूल्यवृद्धि घटेको, १६२.७२ प्रतिशतले विदेशी सहयोग वृद्धि भएको, उद्योग–व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले बढेको, बैंकको क्षेत्रगत लगानी २४.६ प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए। नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भएको जनाउँदै कृषि उत्पादनसहितका क्षेत्रमा पनि प्रगति भएको उनको दाबी थियो।

सरकारमाथि हुने गरेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले प्रतिपक्षी र आफ्नै दलका नेताहरूलाई प्रतिक्रियात्मकभन्दा पनि रचनात्मक हुन आग्रह गरे।

राष्ट्रिय गौरवका आयोजना गौतम बुद्ध र पोखरा विमानस्थल निर्माणमा भएको प्रगतिका साथै भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण, मेलम्ची खानेपानी परियोजनाको चर्चा गर्दै उनले काठमाडौं–तराई/मधेस फास्ट ट्र्याक निर्माणको प्रगति उत्साहवद्र्धक रहेको दाबी गरे। उनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरे। सरकारमाथि हुने गरेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै उनले प्रतिपक्षी र आफ्नै दलका नेताहरूलाई प्रतिक्रियात्मकभन्दा पनि रचनात्मक हुन आग्रह गरे।

नागढुंगा–नौबिसे सुरुङमार्ग छिट्टै शिलान्यासबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले राजधानी र देशका विभिन्न भागमा पाँच सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको दाबी गरे। उनले सूचना प्रविधिमा पहँुचका लागि १३ सय ७१ वडाका १४ सय ६० विद्यालय र एक हजार ६३ स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा जडान गरी दुई वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको दाबी गर्दै आफ्नो नेतृत्वमा सरकार गठनपछिको १० महिनामा भूकम्पबाट भत्केका तीन लाख ३८ हजार एक सय ४७ घर र ६ हजार ६ सय ७८ विद्यालय भवन निर्माण सम्पन्न भएको उल्लेख गरे।

तुइनलाई झोलुंगे पुलबाट विस्थापन गर्ने घोषणा कार्यान्वयनको चरणमा रहेको दाबी गर्दै ओलीले सरकार नेपालीको रेल सपनालाई पूरा गर्न प्रयत्नशील रहेको दाबी गरे। उनले राष्ट्रपतिलाई बदनाम गरेर गणतन्त्रलाई कमजोर बनाउने खेल सुरु भएको आरोप लगाए। संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धराशयी हुने जनाउँदै प्रधानमन्त्रीले विगतमा जस्तै अहिले पनि सांसदलाई बदनाम गर्ने काम सुरु भएको आरोप लगाए। उनले भने, ‘जानेर होस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै होइन, प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो।’

कर्मचारी समायोजन अध्यादेशलाई लिएर खेल नखेल्न प्रधानमन्त्रीले प्रतिपक्षी कांग्रेसलाई आग्रह गरे। ‘अनिवार्य या स्वैच्छिक अवकाशको बाटोमा गएको भए मुलुकले अनावश्यक ५०/६० अर्बको व्ययभार सदाका लागि बोक्नुपथ्र्यो,’ उनले भने, ‘उमेर भएका राष्ट्रसेवक कर्मचारीलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपथ्र्यो।’ प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे। उनले भने, ‘आपराधिक घटनाका सिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिएको अमर्यादित एवं अराजक भीडले नभई सरकारले नै दिने हो। ढुक्क रहे हुन्छ– सरकारले न्याय दिन्छ।’

लामो समयदेखि नेपालमा भइरहेको सुनको तस्करी, त्यसमा जोडिएको आपराधिक मनोवृत्ति र संगठित अपराधको सञ्जाल ध्वस्त पारेको जिकिर गर्दै उनले भने, ‘चर्चित ३३ किलो सुनकाण्डका केही आरोपित व्यक्तिसहित भारतीय राजस्व अनुसन्धान ब्युरोको सहयोगमा हालै कोलकतामा ३३ किलो सुन समातिएको छ। त्यसमाथि थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: २३ पुस २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App