७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद् पदाधिकारीलाई आठ करोडका गाडी

फाइल तस्बिर

रुपन्देही - प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो।

अहिले उनीहरू नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन्। अरूबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ। गाडी खरिदमा प्रदेशसभाले सात करोड ९१ लख ४४ हजार रुपैयाँ खर्च गरेको छ। १३ मध्ये ११ वटा गाडी टाटा कम्पनीको सफारी स्ट्रोम भिएक्स छन्। बाँकी दुईटामध्ये एउटा निसान टेरानो र अर्को महेन्द्रा स्कार्पियो छन्। भदौ २६ गते प्रदेससभा सचिवालयले विभिन्न प्रकृतिका १४ वटा गाडी किन्न बोलपत्र आह्वान गरेको थियो। बोलपत्रअनुसार १४ वटा गाडी किनिए पनि सभामुख पूर्ण घर्तीले मन नपराएपछि एउटा फिर्ता गरिएको स्रोतले बतायो। किनिएका ती गाडी उपसभामुख, विषयगत छ वटा समितिका सभापति, सत्तापक्ष र प्रतिपक्षका सचेतक तथा सचिवले प्रयोग गरेका छन्।

बजार मूल्यभन्दा महँगोमा खरिद
प्रदेशसभाले खरिद गरेका टाटा कम्पनीका सफारी स्ट्रोम भिएक्स गाडीहरू महँगो मानिन्छन्। प्रदेशसभाका अनुसार टाटा सफारी स्ट्रोम भिएक्स एउटा गाडीलाई ७१ लाख ९४ हजार रुपैयाँ तिरिएको छ। निसान टेरानो ५३ लाख ९५ हजार र महेन्द्रा स्कार्पियो ३५ लाख ८५ हजार रुपैयाँमा खरिद गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयले बजार मूल्यभन्दा बढी तिरेर गाडी किनेको भन्दै सत्तापक्षबाटै आलोचना गरिएको छ। प्रदेश ५ मा नेकपा नेतृत्वमा सरकार छ। सरकारको नेतृत्व शंकर पोखरेलले गरेका छन्। गाडी किन्दा आर्थिक घोटाला भएको स्रोतको दाबी छ। तर प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले ई–बिडिङमार्फत खरिद गरिएकाले कुनै पनि चलखेल नभएको बताए।

सत्तापक्षका मुख्य सचेतक भूमिश्वर ढकाल लु१झ ४५६ नम्बरको गाडी चढ्छन्। विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल लु१झ ब्ःए४ र सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे लु १ झ ४४५ नम्बरको गाडी चढ्छन्। यी तीनवटै टाटा सफारी स्ट्रोम भिएक्स हुन्। प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमाल लु१ झ४४३ नम्बरको गाडी चढ्छन। अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने शर्मा लु१झ ४४९ नम्बरको, कृषि, वन तथा वातारण समितिका सभापति विजयबहादुर यादव लु१झ ४४२ नम्बरको, भौतिक पूर्वधार विकास समितिका सभापति आशा स्वर्णकार लु१झ ४४६ नम्बरको, प्रदेश मामिला तथा कानुन समितिका सभापति दामाकुमारी शर्मा लु१झ ४४० नम्बरको र सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी लु१झ ४४१ नम्बरको र विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ लु१झ ४४८ नम्बरको गाडी चढ्छन। स्थायी राजधानी र नामकरण तोक्न गठन भएको विशेष समितिका संयोजक दीपेन्द्र पुनमगरले पनि गाडी पाएका छन। उनलाई लु१झ ४५२ नम्बरको महिन्द्रा पिकअप गाडी दिइएको छ। प्रदेशसभाका सचिव पुनले रातो नम्बर प्लेटमा लु१झ ४६७ नम्बरको निसान टेरानो गाडी चढ्छन्। उनले अहिले गाडीको प्लेट परिवर्तन गरेका छन्।

प्रकाशित: २३ पुस २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App