काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले चीन र भारतकालागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। आइतबार बसेको समितिको बैठकले चीनकालागि राजदूत सिफारिस भएको लिलामणि पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो भने भारतकालागि सिफारिस भएका राजदूत दीपकुमार उपाध्यायको नाममा भने प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपा नेपालले असहमति जनाएका थिए।
एमाले र राप्रपा नेपालका संसदहरुले यसअघि भारतका राजदूत रहिसकेका उपाध्यायले मुलुकको हितमा काम गर्न नसकेको भन्दै उनको नाममा विरोध जनाएका हुन्। एमाले र राप्रपा नेपालको विरोधकाबीच उपाध्यायलाई राजदूत नियुक्त गर्न समितिल सिफारिस गरेको छ। कुनै पनि राजदूतको नाम अस्विार गर्न दुई तिहाइ मत चाहिने भएपछि उपाध्यायको नाम अनुमोदन भएको हो।
उपाध्यायले भारतको राजदूत हुँदा सरकार परिवर्तन गर्न दिल्लीमा बसेर भूमिका खेलेको भन्दै तत्कालीन केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। संविधान सभा निर्वाचनमा कपिलबस्तुबाट पराजित उपाध्याय नेपाली कांग्रेसका नेता हुन भने पौडेल पूर्व मुख्यसचिव हुन्।
प्रकाशित: १६ आश्विन २०७३ ०५:१९ आइतबार