४ वैशाख २०८१ मंगलबार
राजनीति

सासंद पहारीद्वारा सम्पूर्ण तलबभत्ता सामाजिक कार्यमा खर्च

पोखरा– गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो सम्पूर्ण तलब तथा भत्ता वापतको रकम सामाजिक कार्यक्रमा खर्चिएका छन्।

सरकारका मन्त्रीले दोहोरो सुविधा लिएको र सांसदले आफन्त तथा नातागोतालाई स्वकीय सचिब राखेको, सेवा सुविधामा मरिहत्ते गरेका समाचार सिलसिलेवार सार्वजनिक भइरहेका बेला सांसद पहारीले संसद सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको सम्पूर्ण तलबभत्ता प्रशासनिक खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका हुन्।  

उनले पोखरामा पत्रकार सम्मेलन गरेर आफ्नो तलब भत्ताको रकम बिद्यालय निर्माण, क्लब, आमा समूह, संघसंस्था सँग सम्बन्धित सामाजिक काममा खर्च गरेको जानकारी दिए।

कास्की ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित पहारीले २०७४ माघ ७ गते शपथ लिएदेखि मंसिर मसान्तसम्म प्रदेशसभा सचिवालयबाट तलबभत्ता बापत प्राप्त ४ लाख ५० हजार रुपैयाँ विभिन्न संघ संस्थालाई सहयोग स्वरुप प्रदान गरेको बताए। 

पहारीले शनिबार मात्रै सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा ५, सृजना सामुदायिक विद्यालय अन्नपूर्ण १, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्बन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरेका छन्। 

सरकारी विद्यालयमा करोडौंको भवन, पर्याप्त फर्निचर लगायतका पूर्वाधार भएपनि सफा पिउने पानीको अभावमा विद्यार्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले सो सहयोग गरेको पहारीले बताए।

यसअघि कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपको लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको पहारीले तथ्यांक प्रस्तुत गरे। 

कार्यक्रममा सांसद पहारीले संघ तथा प्रदेश सरकारबाट आफ्नो पहलमा आफ्नो निर्वाचन क्षेत्रमा करोडौका योजनाहरु परेको दाबी गर्दै भने, ‘गण्डकी प्रदेश सरकार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, केन्द्रीय योजनामार्फत खेलकुद, पर्यटन, खानेपानी, पहिरो नियन्त्रण, सडक निर्माण लगायत विषयमा ठूलो रकम विनियोजन भएको छ।’

प्रकाशित: २२ पुस २०७५ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App