७ वैशाख २०८१ शुक्रबार
अर्थ

शिक्षकको तलब बैंक खातामा

सोलुखुम्बु - सोलुदूधकुण्ड नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ। यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकैै खातामा जम्मा गर्न सुरु गरेको लेखा अधिकृत योग्यप्रसाद राईले बताए।

लामो प्रयासपछि सयौं शिक्षकलाई बैंक खाताबाट मंसिर महिनाको तलब भुक्तानी गरिएको हो। ६४ वटा विद्यालयका चार सय २७ शिक्षकमध्ये शुक्रबार ६२ विद्यालयका चार सय दुई शिक्षकको खातामा तलब जम्मा गरिएको लेखा अधिकृत राईले बताए। २५ शिक्षकको तलब बैंक खातामा जम्मा गर्न नसकिएको नगरपालिकाले जनाएको छ।
पाँच शिक्षकको बैंक खाता नखुलेको र २० शिक्षकको हाजिरी प्राप्त नभएकाले तलब जम्मा गर्न नसकिएको हो। सल्लेरीको जनजागृती आधारभूत विद्यालय र बेनीको हिमालयन शेर्पा बुद्धिष्ट आधारभूत विद्यालयले मंसिर महिनाको हाजिरी बुझाउन बाँकी रहेको छ।

मंसिर महिनामा शिक्षकको तलबमा खर्च हुने ९२ लाख २४ हजार ६ सय ६४ रुपैयाँमध्ये ८३ लाख ६ हजार आठ सय ९९ रुपैया बैंक खातामा जम्मा गरिएको छ। शिक्षकको तलबबाट सात लाख २८ हजार दुई सय ५६ रुपैयाँ सञ्चय कोषमा जम्मा गरिएको छ  भने बिमा कोषमा एक लाख पाँच हजार ६ सय र सामाजिक सुरक्षा कर ८३ हजार नौ सय आठ रुपैयाँ कट्टा गरिएको नगरपालिकाले जनाएको छ।

शिक्षक तलबका लागि संघीय सरकारवाट सर्सत अनुदानको रुपमा प्राप्त १० करोड ५४ लाख २८ हजार मध्ये मंसिर महिनासम्म ५ करोड ४२ लाख ४ हजार ८९० रुपैया खर्च भएको लेखा अधिकृत राईले बताए। उनले असार मसान्तसम्म करिब दुई करोड रकम शिक्षक तलबका लागि अपुग हुने बताए।

विद्यालयको खातामा जम्मा हुने रकम सम्बन्धित शिक्षकको खातामा जम्मा हुन थालेपछि प्रध्यानाध्यापकलाई तलब खुवाउने बोझ हटेको छ भने शिक्षकलाई सजिलो भएको छ। नगरको यो कदमले प्रध्यानाध्यापकहरुले नगरपालिकाबाट शिक्षक तथा कर्मचारीको तलब तथा भत्ता निकासा गर्न, भरपाई तयार गरि बैंकमा पठाउन, संचयकोष, बिमा, सामाजिक सुरक्षा कर कट्टी गर्न र सो बापतको रकम बैंकमा जम्मा गर्नुपर्ने झण्जट हटेको छ।

अधिकांश शिक्षकले आफ्नै खातामा तलब जम्मा हुने भएपछि खुसि व्यक्त गरेका छन्। भुमेस्थान आधारभूत विद्यालय तिङलाका प्रध्यानाध्यापक दाबा शेर्पाले आफूहरुको झण्जट हटेकोमा खुसि व्यक्त गरे। तर उनले हरेक शिक्षकलाई महिनाको एक दिन विदा दिनुपर्ने अवस्था सृजना हुने बताए। उनले भने, ‘पहिले प्रध्यानाध्यापकको टाउको दुखाईको मात्र विषय थियो। अहिले त्यो दुख हट्यो तर बैँकमा जम्मा भएको तलब निकालनका लागि शिक्षकलाई कम्तीमा महिनाको एक दिन विदा दिनुपर्ने अवस्था आउन सक्छ।’ उनले पहिले तलब निकासा गरि विद्यालयमै लगेर बाड्ने गरेको अनुभव सुनाए।

शिक्षकको तलब निकासा र व्यवस्थापनमा खर्चनुपर्ने समय प्रध्यानाध्यापकले शैक्षिक सुधारका क्षेत्रमा खर्च गर्न सक्ने वातावरण निर्माणको चरणमा रहेको  मेयर नाम्गेलजाङबु शेर्पाले बताए। उनले भने, ‘कतिपय विद्यालयका प्रध्यानाध्यापकले सन्चय कोषमा जम्मा गर्नुपर्ने रकम बर्ष भरि चलाउने र आर्थिक सुरक्षा चुनौति भोग्नुपर्ने दिन गए।’ उनले तब निकासामा खर्चिनुपर्ने समय विद्यालयको व्यवस्थापन र शैक्षिक सुधारका क्रियाकलापमा खर्चन प्रध्यानाध्यापकहरुलाई आग्रह गरे। उनले मासिक रुपमा उनीहरुकै खातामा तलब जम्मा गर्न लागेपछि शिक्षकमा नियमितता र अध्यापनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे। तर भुमेस्थानका प्रध्यानाध्यापक दाबा शेर्पाले खातामा जम्मा भएको रकम झिक्नका लागि हरेकलाई कम्तीमा एक दिन विदा दिनुपर्ने अवस्था आयो भने त झन् समस्या हुने बताए।

नगरपालिकाले शिक्षिकको तलबको भुक्तानीलाई सरल पार्नका लागि बैंकिङ कारोबार शुरु गरेको जनाएको छ। अब देखि विद्यालयले महिनाको पहिलो हप्ता माग फारम र शिक्षक तथा कर्मचारीको हाजिरी नगरपालिकामा पेश गर्नेछ भने दोस्रो हप्ता भित्रमा हरेक शिक्षकको खातामा तलब वापत्को रकम जम्मा गरिने लेखाअधिकृत योग्य प्रसाद राईले बताए। उनले भने, ‘माग फारम र हाजिरीको काम पनि प्रध्यानाध्यापकवाट अलग गराउने द्येयले स्रोत व्यक्ति मार्फत संकलनको अभ्यास शुरु गर्ने की भन्नेमा लागि परेका छौ।’ उनले तयारीका लागि शुरुमा समय लागेपनि आगामी दिनमा शिक्षकको तलब भुक्तानी प्रक्रिया निकै सरल हुने बताए।

बैँक खातावाट तलब भुक्तानी प्रक्रिया शुरु भएसंगै अब शिक्षकले मासिक रुपमा तलब प्राप्त गर्नेछन्। यसअघि उनीहरुले हरेक चौमासिकमा एकमुष्ट तलब बुझ्दै आएका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले विद्यालयलाई अडिटमा हुने बोझ पनि घट्ने बताएका छन्। उनले भने, ‘विद्यालयको खातामा रकम जम्मा हुदा आम्दानी देखिने भएकाले कारोबारको आधारमा अडिट खर्च पनि घटिबढि हुने भएकाले सम्बन्धित शिक्षकको खातामा तलब जम्मा गर्नाले अडिट खर्च कम हुनेछ।’ राष्ट्रिय बाणिज्य बैँक मार्फत हुने कारोबार जिल्लाको मात्र नभई नेपालकै पहिलो भएको नगरले दाबी गरेको छ।

प्रकाशित: २२ पुस २०७५ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App