coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक

काठमाडौं – स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन्। साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरुको भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँच अभिवृद्घिका लागि वित्तीय साक्षरता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन्।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताए। उद्यमीलाई कसरी प्रोत्साहन गर्ने र बैंकसँग कसरी सहज पहुँच बनाउने भन्ने कुराको समाधानका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए। साना उद्योगीको हकहित संरक्षणका लागि महासंघ स्थापना भएको बताउँदै अध्यक्ष सिंहले भने, ‘उद्योगीहरुका लागि विभिन्न खालका सहुलियत र सुविधायुक्त बैंकिङ योजना छन् त्यसबारे हाम्रा धेरै उद्योगीलाई थाहा छैन, यस्तै कुराको विस्तृत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम सुरु गरेका हौं।’

एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको जनाउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा बैंकबाट लगानीको समस्या नहुने बताए। कार्यक्रममा लघु, साना तथा मझौला उद्यमहरुलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमबाट सहभागी उद्योगीले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने आयोजक पक्षको विश्वास रहेको छ।
 

प्रकाशित: २२ पुस २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App