७ वैशाख २०८१ शुक्रबार
अर्थ

सहकारीमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड

सहकारीविज्ञ ज्ञानेन्द्र प्रसाद पौडेलद्वारा लिखित क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज पुस्तकको विमोचन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल (बायाँबाट पहिलो)। तस्बिर : नागरिक

काठमाडौं – सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा प्रयोग गरेर उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने सहकारीका सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औं साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सहकारीकर्मीदेखि सरकारी अधिकारीले दैनिक जीवनमा प्रयोग हुने वस्तु विदेशी आयातमा निर्भर हुँदा मुलुकको व्यापार घाटा बढेकोमा चिन्ता व्यक्त गरे। व्यापार घाटा घटाउनका लागि स्वदेशी उत्पादन वृद्धि सहकारी माध्यम हुन सक्ने बताए। मुलुकमा आर्थिक समृृद्धिका लागि सहकारीले योगदान पुर्‍याउनु पर्ने धारणा राखे।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उत्पादन वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बन्नुपर्ने बताइन्। अर्यालले चीनबाट ल्याएको लत्ता कपडा, भारतमा उत्पादन भएको दैनिक उपभोग्य वस्तु र लाहुरेले पठाएको रेमिट्यान्सबाट मुलुकको सम्वृद्धि सम्भव हुन नसक्ने धारणा राखिन्। ‘सहकारी क्षेत्रमा जम्मा भएको पुँजीलाई उत्पादनमा परिचालन गर्नुपर्छ,’ अर्यालले भनिन्, ‘आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाएमात्र समृद्धि सम्भव छ।’

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहकारीका ऐन कानुन बाधक भए संशोधन गर्न आफू तयार रहेको अर्यालले बताइन्। सहकारीलाई सरकारले समान व्यवहार गरेकाले मुलुकको समृद्धि र स्वाधिन अर्थतन्त्रका लागि सहकारीले योगदान गर्नुपर्नेमा जोड दिइन्। ‘सहकारी संस्थामा संकलन भएको खर्बौं रुपैयाँ सही ठाउँमा परिचालन गर्नुपर्‍यो,’ उनले भनिन्, ‘सहकारीले उत्पादन गरेको वस्तुको बजारीकरण गर्न सरकार प्रतिवद्ध छ।’

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सहकारी विभाग प्रमुख बालकृष्ण खाँडले सहकारीले जनताको घरदैलोमा सेवा गरे पनि उत्पादन बढाउन आग्रह गरे। ‘सानो पुँजीलाई एकीकृत गरेर लगानी गर्नुपर्छ,’ खाँडले भने, ‘सहकारीमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ।’ अन्य वित्तीय संस्थाको तुलनामा सहकारीले घरघरमै पुगेर प्रभावकारी वित्तीय सेवा दिएको बताए।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष केशव बडालले सहकारीमार्फत समृद्धि सम्भव भएको बताए। प्राथमिकता निर्धारण गरेर लगानी गर्न आग्रह गरे। ‘सहकारी सामाजिक व्यवसाय हो,’ बडालले भने, ‘पुँजीलाई उत्पादनमा लगाएर पिछडिएका समुदायको आयस्तरमा सुधार ल्याउनु पर्छ।’ प्रतिव्यक्ति आय बढाउन सहकारीले भूमिका निर्वाह गर्नुपर्ने बताए।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीको पुँजीलाई व्यावसायिक क्षेत्रमा परिचालन गनुपर्नेमा जोड दिए। ‘सहकारीमार्फत मुलुकको समृद्धि र विकास सम्भव छ,’ पौडेलले भने, ‘सहकारीले नयाँ योजना ल्याएर कार्यान्वयन गर्नुपर्छ।’ अब अन्तर सहकारी र प्रविधि मैत्री कारोबार गर्दै सहकारी अघि बढ्नुपर्ने बताए। बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले बोर्डले सहकारी मैत्री नीति नियम बनाउन सहजीकरण गर्ने बताए।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष रमेश प्रसाद पोखरेले सहकारीले गाउँ–गाउँमा पुगेर सेवा दिएको बताए। बैंकमा मुुलुकभरका १० हजार दुई सय १८ सदस्य रहेको बताउँदै साना सहकारीलाई पुँजीमा सहयोग गर्दै आएको बताए। बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेतीले बैंकले ३५ जिल्लाका ४० शाखाबाट सेवा दिएको जानकारी दिए। बैंकले आफ्ना सदस्य सहकारीलाई १५ प्रतिशत बाँड्ने उप्रेतीले बताए।

कार्यक्रममा सहकारी विज्ञ ज्ञानेन्द्र प्रसाद पौडेलद्वारा लिखित क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् र धर्मदत्त देवकोटाद्वारा लिखित नेपाली मौलिककताको समाजवादका सफलताको आधार पुस्तक विमोचन गरिएको थियो। विज्ञ पौडेललाई सहकारी विद्वता पुरस्कार प्रदान गरिएको थियो। देशभरबाट आएका सहकारीकर्मीले सहकारीलाई लगाउँदै आएको कर हटाउनु पर्ने माग गरेको सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए। कार्यक्रममा सहकारी क्षेत्रमा योगदान पुर्‍याउने सहकारीकर्मी, उत्कृष्ट कारोबार गर्ने, बचत गर्ने सहकारी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले बताए।

प्रकाशित: २२ पुस २०७५ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App