coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

थोरै जग्गामा धेरै उत्पादन

शान्ति सुनारले जीविकोपार्जनका लागि टनेल निर्माण गरी लगाएको तरकारी। तस्बिर : नागरिक

नुवाकोट - गाउँघरतिर रोपनीको रोपनी जग्गा बाजो रहेको भेटिन्छ र त्यहिँका मान्छे काम खोज्नका लागि भौतारिन्छन्। थोरै जग्गा धेरै चिज उत्पादन गरी रोजगारीका लागि भौतारिरहेकाहरुलाई गतिलो उदाहरण बन्न सफल भएका छन् विदुर नगरपालिका–१२ ढुंगेटारकी शान्ति सुनारको परिवार।

घर नजिकैको झन्डै एक रोपनीको जग्गा, गरा पनि एउटै। हेर्दा लाग्छ यत्ति जग्गामा के उब्जनी गर्न सकिन्छ र ? तर शान्तिको परिवारले अनेक तरकारी उत्पादन गर्न सक्षम भएका छन्। ‘जग्गा थोरै छ। जेठाजुको ६ आना जग्गा वर्षको दुई हजार तिरेर भाडामा लिएका छौं। मौसम अनुसार फरकफरक तरकारी फलाइरहेका छौं,’ सुनारले भनिन्, ‘बजारको समस्या छैन। सबै बारीबाटै बिक्छ।’

काउली, बन्दा, गोलभेंडा, प्याज, मुला, लसुन, आलु, खुर्सानी, रायोको साग, सिमी जस्ता तरकारीहरु कुनै फलिरहेका छन् भने कुनै भर्खरै रोपिएका छन्। बारीको डिलडिलमा पाँचवटा माहुरीको घार राखिएका छन्। माहुरीलाई फूलको रस आवस्यक पर्ने हुनाले वरिपरि सयपत्री, मखमली, सूर्यमुखी जस्ता फूल पनि फुलिरहेका छन्। बारीको कुनातर्फ दुई सयभन्दा बढी माछापालन गरिएको छ।

उनको परिवारले च्याउको टनेलमा समेत च्याउ उमार्दै छन्। ‘पहिले नि अलिअलि तरकारी खेती गरिन्थ्यो। के चाहिँ हुँदो रहेछ त भनेर सबै तरकारी मेलैसित लगाइराको छु राम्रो भइरहेको छ,’ उनले भनिन्, ‘म तरकारी खेती गर्छु। श्रीमान घर बनाउने काम गर्नुहुन्छ। घर चलाउन सजिलो भइरहेको छ। मौरीलाई असर गर्छ भनेर तरकारीमा कीटनाशक औषधि प्रयोग गर्दैनौं। तरकारीमा केही रोग देखियो भने घरायसी औषधि नै प्रयोग गर्छौं।’

उनको परिवारले व्यावसायिक तरकारी खेती सुरु गरेको गएको वैशाखदेखि मात्र हो। विनासकारी भूकम्पले क्षतविक्षत भएको बस्तीमा घर निर्माणमा सहयोग गर्न आएको गैरसरकारी अन्तर्राष्ट्रिय संस्था इसिमोडले व्यावसायिक तरकारी खेती गर्न आर्थिक सहयोग गरेको उनले बताइन्।

इसिमोडले त्यहाँका ९० परिवारको घर निर्माण गर्न दुई लाख बराबरको निर्माण सामग्री उपलब्ध गराएको थियो। बस्नका लागि घर मात्र भएर भएन खानको लागि जीविकोपार्जन सम्बन्धी कार्यक्रम ल्याउँदा स्थानीयलाई सहज हुन्छ भनेर इसिमोडले ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराएको परियोजना संयोजक गोविन्द जोशीले बताए।

‘खासमा हामी आवास पनर्निर्माणमा सहयोग गर्न आएका हौं तर जीविकोपार्जनका लागि तरकारी खेती गर्न चाहनेलाई ५० प्रतिशत अनुदान लागानी गर्ने निर्णय पनि गरेका हौं,’ जोशीले भने, ‘उहाँहरुले जीविकोपार्जन हुने खालका क्रियाकलापमा पनि सक्रियता देखाउनु भएको छ। उहाँहरुको खुसी नै हाम्रो उपलब्धि हो।’ तरकारी खेतीमा पहिलेदेखि आकर्षित भएका सुनार परिवारले आगामी दिनमा वरिपरिका जग्गा भाडामा लिएर भए पनि बढवा दिँदै अघि बढ्ने बताए।

प्रकाशित: २२ पुस २०७५ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App