coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भिभिआइपीलाई चार महँगा हेलिकोप्टर

काठमाडौं – नेपाली सेनाले भिभिआइपी (विशिष्ट) का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ। सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ। तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ। डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। बाँकी तीनमा एउटा अगस्टा र दुइटा बेल रहेको सेनाले जनाएको छ।

विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेसअन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ। ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरूका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरूको उडानमा प्रयोग हुनेछन्। सेनाले हेलिकोप्टर प्राकृतिक विपत्तिका बेला पनि प्रयोग गर्न सकिने जनाएको छ। ‘यी हेलिकोप्टर विशिष्टको उडानका लागि हुन् तर विपद्का बेला पनि प्रयोग गर्न सकिन्छ,’ सैनिक स्रोतले भन्यो।

सेनाले दीर्घकालीन हवाई योजनाअन्तर्गत अहिले रहेका एयर क्राफ्टको संख्या दोब्बर बढाउने तयारी गरेको छ। हाल सेनासँग दुइटा फिक्स विङ र १२ हेलिकोप्टरसहित १४ वटा एयर क्राफ्ट छन्। सेनाले एयरक्राफ्टको संख्या ३१ पुर्याउने लक्ष्य राखेको छ।

चारमध्ये एउटा अगस्ट वेस्टल्याण्ड काठमाडौं आइसकेको छ।

सेनाले मध्य एयर बेसमा १३, पश्चिम एयर बेसमा ८, पूर्वी एयर बेसमा चार र एभिएसन तालिम केन्द्रमा दुई एयरक्राफ्ट राख्ने जनाएको छ। मध्य एयर बेस तथा विशिष्ट उडान सेवा काठमाडौंमा राखिने जनाइएको छ। मध्य एयर बेसलाई मुख्य एयर बेसका रूपमा छिटो, सरल र भरपर्दाे तरकाले देशको सम्पूर्ण भूभाग समेट्ने गरी तयार पार्ने कार्ययोजना पेस गरिसकेको सेनाले जनाएको छ।

यसले प्रदेश नम्बर ३, गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ लाई समेट्नेछ। पूर्वी एयर बेस विराटनगरमा स्थापना गरिने र यसले प्रदेश नम्बर १ र २ लाई समेट्ने सेनाले जनाएको छ। त्यस्तै पश्चिम एयर बेस कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राखिनेछ। त्यसले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेट्नेछ। सुर्खेतमा पश्चिम एयर बेससँगै हवाई तालिम केन्द्र पनि राखिनेछ।

सेनाले हाल आठवटा हेलिकोप्टर खरिद प्रक्रियामा रहेको जनाएको छ। त्यसमध्ये लाइट हेलिकोप्टर बेल एउटा, मिडिएम हेलिकोप्टर अगस्टा दुइटा र एमआई–१७ दुइटा खरिद प्रक्रियामा छन्। मिडिएम एयरक्राफ्ट एउटा तथा तालिम एयरक्राफ्ट दुइटासमेत खरिद प्रक्रियामा रहेको सेनाले जनाएको छ। सेनाले भिभिआइपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) को फ्लाइटका लागि खरिद गरिएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौं आइपुगेको हेलिकोप्टर खरिदका लागि सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (एक अर्ब ८१ करोड नेपाली रूपैयाँ मूल्यमा) खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत विमान खरिद प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: २२ पुस २०७५ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App