coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

संस्कृत स्कुलका ती दिन...

घर नजिकै रहेको कमलादेवी प्राविबाट कक्षा ५ उत्तीर्ण गरेपछि मनमा नयाँ स्कुल उत्साह, अन्योल र खुसी तरंगित भइरहेका थिए। त्यतिबेला गाउँमा दुई ठूला स्कुल थिए– सिपा तीनघरे निमावि र ऐंसेलुखर्क मावि। पढाइ, अनुशासन र अतिरिक्त क्रियाकलापमा सिपा तीनघरे निमावि सिन्धुपाल्चोक जिल्लाभर अब्बल मानिन्थ्यो। कक्षा ७ सम्म पढाइ हुने भए पनि गाउँका धेरै मानिसको रोजाइ तीनघरे निमावि थियो। मलाई पनि सोही स्कुलमा भर्ना गरियो। २०४४ सालको हिउँदको कुनै चिसो बिहानीमा पहिलोपल्ट कक्षा ६ पढ्न तीनघरे निमाविमा पाइला राख्न पुगेँ।

त्यो दिन मेरा लागि नितान्त भिन्न थियो– विद्यालय जाँदा पहिलोपल्ट झोला बोक्न पाएको थिएँ। यसअघि कट्टु (हाफ प्यान्ट) लगाएर स्कुल जाने मैले पहिलोपल्ट प्यान्ट लगाउन पाएको थिएँ। नयाँ झोला, नयाँ प्यान्ट र जुत्ता लगाएर घरबाट झन्डै आधा घन्टाको ओरालो हिँडेर स्कुल पुग्दा मलाई अर्कै संसारमा पुगेको अनुभूत भएको थियो। सुरुका केही दिन नयाँ मानिसका अनुहार, विद्यालयका कोठा, गुरुहरूको भावभंगिमा हेर्दैमा बिते।

प्रधानाध्यापक शंकरनाथ न्यौपाने (नेपाली), गोविन्द न्यौपाने (अंग्रेजी), शम्भु कोइराला (गणित), ऋषिराम आचार्य (विज्ञान) लगायतको चुस्त शिक्षक समूहले स्कुल चलेको थियो। गुरुहरूको अनुहारमा हेरेर बोल्न सकिन्नथ्यो। गृहकार्य नबुझाए सजायको भागीदार हुनैपर्दथ्यो। शिक्षण सिकाइमा उहाँहरूको मेहनत निकै प्रभावकारी थियो। अतिरिक्त क्रियाकलापमा सबैले भाग नलिएमा शिक्षकको तारो बनिन्थ्यो। स्कुलले आयोजना गरेको जुनसुकै कार्यक्रममा भाग लिनैपर्दथ्यो। संविधान दिवस, शिक्षा दिवस, बालदिवस, पृथ्वी जयन्ती, महेन्द्र जयन्ती, प्रजातन्त्र दिवसमा विभिन्न कार्यक्रम हुन्थे। राजा वीरेन्द्रको जन्मोत्सवमा त विद्यालयमा बिहानदेखि राति अबेरसम्म कार्यक्रम हुन्थ्यो। जयजयकार गर्दै टोल घुम्दा रमाइलो लाग्थ्यो।

स्कुलमा बाहुन, क्षेत्री, तामाङ, नेवारसहित तल्लो जाति भनिएका सार्की, दमाईं, कामी सबैका सन्तान पढ्न आउँथे। कतिपयले त बाहुनबाहेक अरूले संस्कृत किन पढ्ने ? छोरीले संस्कृत पढेर पुरेत्याइँ गरेर हिँड्ने ? भनेर प्रश्न पनि गर्थे। त्यस्ता प्रश्नको मसँग उत्तर थिएन। किनकि ज्ञान आर्जनमा जातजातिको कुरा निकाल्नु नै व्यर्थ रहेछ भन्ने पछि मात्रै बुझेँ।

कक्षा ५ मा प्रथम भएर त्यो स्कुलमा गएकाले मलाई धेरैले ‘यो त जान्ने छ’ भन्थे। कक्षा ६ को अन्तिम परीक्षामा उत्कृष्ट पाँचमा परेँ। त्यतिबेला रोल नम्बर १ देखि ४ सम्म छात्रा थिए। कक्षाकोठाबाट टिफिनमा मात्र बाहिर निस्कन पाइन्थ्यो। अरू बेला बाहिर जानुपर्दा ‘मनिटर’ लाई सोध्नुपर्दथ्यो। कक्षा ६ मा छात्रा मनिटर थिइन्। छात्रासँग बोल्नै लाज लाग्थ्यो। यही लाजका कारण कयौं दिन पिसाब च्यापेर बस्नुपरेको थियो। म ती छात्रा सहपाठीसँग कक्षा १० सम्म पुग्दा पनि दोहोरो कुराकानी गर्न अप्ठ्यारो मान्थें। कारण अहिलेसम्म थाहा छैन। कक्षा सातमा चन्द्रनाथ आचार्य (यादव) प्रथम भए। म चौथो स्थानमा रहेँ।

१९६० साल पुस २२ गते भाषा पाठशालाका रूपमा स्थापित उक्त विद्यालयमा २०४५ सालमा माविको अनुमति पाएर कक्षा सञ्चालन हुन थाल्यो। कक्षा सातका दाइदिदीहरू कक्षा आठमा पढ्न थाले। अब यही स्कुलमा कक्षा १० सम्म पढ्न पाइने भएपछि हामी खुसी भयौं। स्कुलको नाम सिपा तीनघरे संस्कृत माविमा रूपान्तरण भयो। कक्षा आठमा म प्रथम भएँ। यादव दोस्रा भए। त्यसपछि यादव संस्कृत नपढ्ने, आधुनिक शिक्षा पढेर डाक्टर–इन्जिनियर बन्नुपर्छ भन्दै ऐंसेलुखर्क माविमा पढ्न जान थाले। उनीसँगको सम्पर्क बिस्तारै कम हुँदै गयो। उच्च अध्ययनका लागि काठमाडौं छिरेका उनी अहिलेसम्म बेपत्ता छन्।

मावि भएपछि स्कुलको नेतृत्व परिवर्तन भयो। स्कुलमा नयाँनयाँ शिक्षक आउन थाल्नुभयो। संस्कृत साहित्यका प्रकाण्ड विद्वान् गायत्रीनन्दन चौलागाईं, संस्कृत र अंग्रेजीका प्रखर विद्वान् विष्णुप्रसाद ढुंगाना, गणित र विज्ञानका शिक्षक पीताम्बर महतो, संस्कृत भाषाका ढुण्डीराज खतिवडा, नेपालीका माधवप्रसाद न्यौपाने, अंग्रेजीका रामप्रसाद न्यौपानेजस्ता व्यक्तित्वहरूको सान्निध्यमा रहेर ज्ञान हासिल गर्ने अवसर प्राप्त भयो। संस्कृत साहित्यका अर्का विद्वान् जगन्नाथ आचार्यले छन्दमा कविता वाचन गर्न सिकाउनुहुन्थ्यो। पछिल्लो समयमा गणित र विज्ञानका रामाशंकरप्रसाद चौधरीले निकै सहयोग गर्नुभयोे।

कक्षा ९ मा वीरबल तामाङ प्रथम भए। मेरो स्थान दोस्रोमा झर्‍यो। उनी छिमेकी विद्यालयबाट कक्षा आठमा भर्ना हुन आएका थिए। उमेरमा मभन्दा पाका वीरबल निकै भद्र र अनुशासित थिए। कक्षा १० पनि प्रथम भएका उनले पारिवारिक समस्याका कारण उच्चशिक्षाको दैलो घचघच्याउन पाएनन्।

विद्यार्थीको रुचि, क्षमता, आवश्यकता जेसुकै होस्, तर पढ्नपर्छ भन्ने आदर्श वाक्यको प्रभावले म त्यति बेला बाटोमा हिँड्दा पाठ घोक्थेँ, गृहकार्य बुझाउन घोक्थेँ, जान्न घोक्थेँ र परीक्षा पास गर्न घोक्थेँ। लघुकौमुदीका सूत्रहरू, नेपालीका पद्य, संस्कृत साहित्यका श्लोक, वेदका ऋचा, गणितका फर्मुला, विज्ञानको सिद्धान्त घोक्थें। कुमारसम्भवको पहिलो सर्गका पङ्क्तिपङ्क्ति कण्ठस्थ थियो। घोक्न कसैले कर गरेको हुँदैनथ्यो। तर म पाएसम्म घोक्थेँ, जानेर पनि घोक्थेँ, नजानेर पनि घोक्थेँ। अंग्रेजीमा निकै कमजोर थिएँ। त्यसैले पाठै घोकेर परीक्षाको तयारी गर्थें। मनोरञ्जनका साधन नै किताब थियो त्यतिबेला। सहरतिरबाट जाने कसैले सामान्य ज्ञानको पुस्तक लगिदिए भने त्यसमा भएका सबै कुरा कण्ठस्थ गर्थेँ।

विद्यालयमा फुटबल, भलिबल, क्यारिम खेल्न पाइन्थ्यो। फुटबलमा दौडन, भलिबलमा उफ्रिन र क्यारिम बोर्डमा झुत्तिन म सधैं पछाडि पर्थें। किनकि म कक्षामा सबैभन्दा पुड्को थिएँ। त्यसैले म बुद्धिचाल (चेस) तर्फ आकर्षित भएँ। मेरा चेस खेल्ने साथी थिए राममणि तिमल्सिना। कहिलेकाहीं गुरुहरूसँग चेस खेल्दा निकै ठूलो भएछु जस्तो लाग्थ्यो। जिल्लास्तरमा हुने हाजिरीजबाफ, कवितालेखन, गीत, नृत्यजस्ता प्रतियोगितामा प्रायः म छुट्दैनथें।

स्कुलमा बाहुन, क्षेत्री, तामाङ, नेवारसहित तल्लो जाति भनिएका सार्की, दमाईं, कामी सबैका सन्तान पढ्न आउँथे। कतिपयले त बाहुनबाहेक अरूले संस्कृत किन पढ्ने ? छोरीले संस्कृत पढेर पुरेत्याइँ गरेर हिँड्ने ? भनेर प्रश्न पनि गर्थे। त्यस्ता प्रश्नको मसँग उत्तर थिएन। किनकि ज्ञान आर्जनमा जातजातिको कुरा निकाल्नु नै व्यर्थ रहेछ भन्ने पछि मात्रै बुझेँ। कक्षा ८ मा पढ्दा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो। ०४७ सालको वैशाखतिर स्कुलमा आएर धेरैले भाषण गरे। त्यतिबेला भाषण गर्नेमा वंशलाल तामाङ, रामजी थापा, शेखरनाथ आचार्यलाई सम्झन्छु। तामाङको भाषण नरमै हुन्थ्यो। थापा र आचार्यले चर्का भाषण गर्दा नबुझे पनि हामी ताली पिट्थ्यौँ। तिनै तामाङले अहिले इन्द्रावती गाउँपालिकाको नेतृत्व सम्हालिरहेका छन्। यसपछि स्कुलमा देखिने गरी अन्य राजनीतिक गतिविधि  भएनन्।

१९६० साल पुस २२ गते स्थापना भएको उक्त विद्यालय पहिलोपटक २०४८ सालमा प्रवेशिकामा सामेल भयो। दाजु कविराज पौडेल मात्र उत्तीर्ण भए। २०४९ सालमा मसहित १३ जना विद्यार्थी प्रवेशिका परीक्षामा सामेल भएका थियौंँ। त्यसमा म एकजना मात्र उत्तीर्ण भएँ। प्रवेशिका नतिजामा शून्य हुनबाट जोगाएको भनेर गाउँका धेरै व्यक्तित्वले स्याबासी दिनुभयो। बाआमा खुसी हुनुभयो। विद्यालय परिवार खुसी भयो। मेरा लागि जीवनकै सबैभन्दा खुसीको क्षण थियो त्यो।

द्वन्द्वका बेला माओवादी विद्रोहीले संस्कृत पठनपाठन बन्द गराउन उर्दी जारी गरे। विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपाने र गाउँका केही अगुवाले डटेर सामना गर्दै संस्कृत पठनपाठन कायमै राख्न सफल हुनुभयो। जिल्लाकै सबैभन्दा पुरानो र एकमात्र संस्कृत माविमा अहिले मेरा सहपाठी पुण्यप्रसाद आचार्य प्रधानाध्यापक छन्। आज यो विद्यालय स्थापना भएको एक सय १६ वर्ष भएको छ। मेरो जीवनको सुनौला पाँच वर्ष यही विद्यालयमा बिते। त्यहाँबाट मैले धेरै कुरा सिक्न पाएँ। त्यसै विद्यालयमा थपिएको ज्ञानको इँटामा चढेर म जीवनको गोरेटोमा अघि बढिरहेको छु। मैले त्यही विद्यालयबाट इमानदारी बन्नुपर्छ, कर्ममा विश्वास गर्नुपर्छ र भविष्य सुन्दर बनाउनुपर्छ भन्ने आदर्श सिकें। असल मान्छे बन्ने प्रयन्त गर्नुपर्छ भन्ने कुरा तिनै गुरुहरूबाट सिकें। विद्यालयको वार्षिकोत्सवका अवसरमा मेरा गुरुहरूलाई नमन गर्दछु। सहपाठी साथीहरूलाई मिठो सम्झना र विद्यालय परिवारलाई हार्दिक शुभकामना ! (उपप्राध्यापक, त्रिवि)

प्रकाशित: २२ पुस २०७५ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App