४ वैशाख २०८१ मंगलबार
कला

‘किचेन क्याबिनेटमा बस्न मन लागेन’

काठमाडौं – नागरिक नेटवर्कसँगको सहकार्यमा हाँस्य कलाकार मनोज गजुरेलको कमेडी शो ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही हुन्न’ सुरु भएको छ। गत मंगलबारबाट सुरु भएको शोको पहिलो अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराई थिए। शोका सञ्चालक गजुरेल ‘नेपाल कन्फ्युज पार्टी’का ‘पुष्पकमल गजुरेल’का रूपमा प्रस्तुत भएका छन्।

शोमा गजुरेलले पार्टीमा नयाँ गुट सिर्जना गरेको विषयमा नेता तथा सांसद भट्टराईलाई प्रश्न गर्दै आफूहरूको गुट मन नपराउनुको कारण के हो भनी सोधेका छन्। नेता भट्टराईले अध्यक्षद्वयले गुट सुने पनि आफूहरूले ‘गुँड’ भनेको जवाफ दिएका छन्। ‘हामीले गुँड भनेका हौं। तर अध्यक्षज्यूले गुँड सुन्नु भएछ। पार्टीमा एउटा अध्यक्षको एउटा गुँड र अर्को अध्यक्षको अर्को गुँड भयो। त्यो गुँडमा हामी आउनै पाइएन। त्यसकारण हामीले आफू बस्ने आफ्नो गुँड बनायौं’, भट्टराईले भनेका छन्, ‘एउटा गुँड भित्र बुबा, अंकल, आन्टी, हजुरआमा, दाजुभाई, काका, भतिज पनि चाहिन्छन्। त्यसकारण सबै मिलाएर अहिलेको गुँड भन्दा बलियो गुँड हुन्छ कि भनेर सबैलाई एक ठाउँमा राख्न गुँड बनाएका हौं।’

ताप्लेजुङबाट प्रतिनिधिसभाको चुनाव जितेका योगेशलाई चुनाव प्रचारका क्रममा वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एक मन्त्रालय दिने घोषणा गरेका थिए। चुनाव जितेर नयाँ सरकार बनाउँदा पनि भट्टराई मन्त्रीको सूचीमा नपरेपछि ओलीको चर्को आलोचना भएको थियो। यही विषयमा पनि मनोजले योगेशलाई प्रश्न गरेका छन्। ‘हलको क्याबिनेट होला भनेर त्यो क्याबिनेटको मन्त्री हुन मन लागेको थियो। तर पछि बुझ्दा किचेन क्याबिनेटमा बैठक हुँदो रहेछ। किचन क्याबिनेटमा बस्न मन लागेन’,उनले भने।

शोमा योगेशलाई सञ्चालक मनोजले आफ्नो गुटमा आउन अनुरोध गरेका छन्। ‘तपाईको गुटमा आउन हुन्थ्यो। तपाईको गुटमा पनि कोही टिकेका छैनन्। कोही विप्लव, बाबुराम, वैद्य भनेर छुट्टिएर गएका छन्। बादल चाहिँ उडेर आए’, योगेशले भनेका छन्।

शोमा मनोजले नेपाली काँग्रेसको महासमिति बैठक, ३३ किलो सुन भारतमा भेटिएको विषय, थाइल्याण्डको बैंककमा भएको बडी विल्डिङ प्रतियोगितामा नेपालका महेश महर्जनले स्वर्ण पदक जितेको समयमा वर्तमान राष्ट्रिय गान बज्नुपर्नेमा पूर्व राष्ट्रिय गानको धुन बजेको प्रसंग पनि जोडेका छन्।

मनोजको यो शो प्रत्येक मंगलबार नागरिक नेटवर्कको युट्युब च्यानलबाट प्रसारण हुनेछ। शोमा उनले सामाजिक विषयसँगै नेपालको वर्तमान अवस्था प्रति पनि व्यंग्य गर्नेछन्। शोको निर्देशन रामशरण पाठकले गरेका छन्।

प्रकाशित: २२ पुस २०७५ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App