८ वैशाख २०८१ शनिबार
राजनीति

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

काठमाडौं – महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो। आयुक्त कार्यालयका एसपी वसन्त कुवँरको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले केही दिनदेखि मिसिल जाँच गरिरहेको छ।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले मुचुल्का उठाउदा र मुद्दाको मिसिल तयार पार्दा प्रहरीले गलत गरेको आरोप लागेपछि आयुक्त कार्यालय मातहत रहेका प्रहरी परिसर तथा वृत्तबाट त्यस्तो गल्ती नदोहोरियोस् भन्ने उद्देश्यले मिसिलमा छड्के गर्न थालिएकाो हो। आयुक्त कार्यालयको सो टोलीले उपत्यकाको २१ वटा स्थानमा छड्के गरिरहेको छ। कार्यालयका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले मुद्दा शाखाबाट मिसिल बनाउदा कमजोर बनाइयो वा गलत बनाइयो भने त्यसलाई सुधार गर्न आयुक्तको कार्यालयबाट छुट्टै टोली खटिने गरेको बताए।

‘प्रहरीले लगेका धेरै मुद्दा अदालतबाट कमजोर बनेको पछिल्लो परिस्थितिमा यसलाई बलियो बनाउन तथा प्रमाणयुक्त र अधारयुक्त बनाउन पनि यो कार्य थालिएको हो,’ डिआइजी थापाले भने। उनका अनुसार आयुक्त कार्यालयले तीनवटै परिसर र त्यस मातहतका सबै वृत्तमा छड्के जाँच थालिएको हो। ‘मातहतका प्रहरी कार्यालयले के गरिरहेका छन्, उनीहरुरूले गरेको कामले सफलता पायो कि पाएन भनेर अनुगमन गर्ने जिम्मेवारी आयुक्त कार्यालयको हो, मिसिल गलत भयो भने मुद्दा फितलो हुन्छ, अपराधी सहजै उम्कन्छ, त्यसकारण मिसिल चेक गरिरहेका छौं,’ डिआइजी थापाले भने। त्यसका साथै आयुक्त कार्यालयले हरेक प्रहरी जवानले गरेको कामको विवरणसमेत परिसरसँग माग्ने गरेको छ। राम्रो गरेको भए त्यसलाई पुरस्कार दिएर थप हौसला दिन त्यसरी विवरण मागिररहेको उनको दाबी छ।

यसअघि प्रहरी प्रधान कार्यालयले र आयुक्त दुवैले प्रहरी अधिकृत तथा जवानका गतिविधि निगरानी गर्न ‘मार्सल टोली’लाई सक्रिय बनाएका थिए। सेवाग्राहीबाट रकम असुलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी कर्मचारी पक्राउ पर्ने क्रम नरोकिएपछि प्रधान कार्यालय र आयुक्त कार्यालय दुवैले संयुक्तरूपमा काठमाडौं, भक्तपुर र ललितपुरसहित देशभर मार्सल टोली बनाएर निगरानी गरिएको थियो। प्रधान कार्यालयको मार्सल टोलीले महानगरीय प्रहरी कार्यालय, अपराध महाशाखा, विमानस्थल, परिसर, जिल्ला, क्षेत्र, अञ्चललगायतबाट परिचालित घुमुवा÷सादा पोसाकका कर्मचारीमाथि पनि निगरानी गर्थे भने आयुक्त कार्यालयले विभिन्न वृत्त र प्रभागको अनुगमन गर्ने गरेको थियो।

प्रकाशित: २२ पुस २०७५ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App