६ वैशाख २०८१ बिहीबार
खेल

तीन विभागीय टोलीसहित गण्डकी सेमिफाइनलमा

नेपाल पुलिस र प्रदेश–१ बीच प्रतिस्पर्धा हुँदै। तस्बिर : नागरिक

इटहरी – तीन विभागीय टोलीसहित गण्डकी प्रदेश शनिबार इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शनिबार भएको क्वार्टरफाइनलमा नेपाल पुलिस, एपिएफ, आर्मी र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका हुन्। पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले प्रदेश–१ माथि ३–२ सेटको संघर्षपूर्ण जित निकाल्यो। पुलिसले सुरुका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो।

पुलिसले पहिलो सेट २५–२३ ले र दोस्रो २५–१७ ले गुमाए पनि त्यसपछि लगातार तीन सेट आफ्नो बनाउँदै महत्वपूर्ण जित निकाल्यो। तेस्रोमा २५–१७, चौथोमा २५–२१ र पाँचौं सेटमा १५–१२ को जित निकाल्दै पुलिस सेमिफाइनल सुरक्षित गर्न सफल भयो।

अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दोस्रो क्वार्टरफाइनलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा एपिएफले २५–१३, २५–१६ र २५–१३ को सहज जित निकाल्यो।

प्रतियोगिताअन्तर्गत तेस्रो क्वार्टरफाइनलमा संघीय प्रतिद्वन्द्वी प्रदेश–३ लाई गण्डकी प्रदेशले सोझो सेटमा नै स्तब्ध बनायो। गण्डकीले प्रदेश–३ माथि २५–२०, २५–१६ र २५–२० को सहज जित निकाल्यो। अन्तिम क्वार्टरफाइनलमा नेपाल आर्मीले प्रदेश–५ लाई ३–० को सोझो सेटले पराजित गर्यो।

आर्मीले प्रदेश–५ माथि २५–२२, २५–१९ र २५–२१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। दुवै सेमिफाइनल आइतबार हुनेछन्। आइतबारको पहिलो सेमिफाइनलमा दुई विभागिय टिम नेपाल पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम सेमिफाइनलमा आर्मी र गण्डकी प्रदेश खेल्नेछन्।

प्रकाशित: २२ पुस २०७५ ००:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App