coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डिपिएल अक्सन : भीम र पवनसँगै ४ खेलाडी सर्वाधिक महँगा

तस्बिर : नागरिक

काठमाडाैं - हालै मात्र युएई भ्रमणका लागि घोषित नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक २० खेलाडीमा स्थान बनाउन सफल युवा खेलाडी भीम सार्की र पवन सर्राफ धनगढी प्रिमियर लिग (डिपिएल) ३ मा अधिकतम  रकममा अनुबन्धित भएका छन्।

त्यस्तै भीम  र पवनसँगै पहिलो पटक प्रारम्भिक टोलीमा परेका सन्दीप जोरा र अविनाश बोहोरा पनि आकर्षक रकममा अनुबन्धित हुन सफल भएका छन्।

भीमलाई विराटनगर किङ्स, धनगढी स्टार्स, रूपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया गरी ४ टोलीले शनिबार सम्पन्न अक्सनमा अधिकतम २ लाख ५० हजारमा बोली लगाएका थिए। यस्तोमा रूपन्देही गोलाप्रथामा भाग्यमानी बनेको थियो। प्रतियोगिताका लागि खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम २ लाख ५० हजार रुपैयाँ तोकिएको थियो।

प्रतियोगिताको नियमअनुसार एउटा टोलीले अक्सनमार्फत ११ खेलाडी भित्र्याउन न्यूनतम १० लाख र अधिकतम १२ लाख खर्चनुपर्ने थियो। तर रूपन्देहीले १० खेलाडी भित्र्याउन ११ लाख ९५ हजार खर्च गरिसकेको थियो। यस्तोमा टोलीमा आवश्यक अन्तिम खेलाडी भित्र्याउन रूपन्देहीले भीमलाई २५ प्रतिशत जरिवाना तिर्दै भित्र्याउन सहमत हुँदै बोली लगाएको थियो। भीमले आफ्नो न्यूनतम रकम ६० हजार तोकेका थिए।

पवनलाई पनि विराटनगर, धनगढी र अत्तरियाले अधिकतम २ लाख ५० हजारको बोली लगाएका थिए। यस्तोमा धनगढीले गोलाप्रथामा बाजी मारेको हो। त्यस्तै ललितनारायण राजवंशी, ललितसिंह भण्डारी र विनोद भण्डारी पनि महँगो खेलाडी बने। ललितसिंह भण्डारीलाई रूपन्देही, धनगढी र अत्तरियाले बोली लगाएका थिए। यस्तोमा रूपन्देहीले बाजी मार्यो। रूपन्देहीले विनोदलाई अनुबन्धित गर्ने क्रममा पनि विराटनगर, महेन्द्रनगर युनाइटेड,काठमाडौं गोल्डेन्स र अत्तरियालाई पछि पारेको थियो। महेन्द्रनगरले आरिफलाई अनुबन्धन गर्दा रूपन्देही र सिवाइसीलाई पछि पारेको थियो। त्यस्तै ललित राजवंशीलाई काठमाडाैं गोल्डेन्सले अधिकतम रकममा भित्र्याएको हो।

प्रतियोगिताका लागि अत्तरियाका दीपेन्द्रसिंह ऐरी, महेन्द्रनगरका शरद भेषावाकर, काठमाडौंका ज्ञानेन्द्र मल्ल, विराटनगरका करण केसी, धनगढीका सोमपाल कामी र रूपन्देहीका वसन्त रेग्मी टोलीका रणनीतिक खेलाडी हुन्। यस पटकबाट आयोजक धनगढी क्रिकेट एकेडेमीको आयोजनामा माग २६ गतेबाट फागुन ११ सम्म हुने प्रतियोगितामा सहभागी टोलीले अक्सन, एक ट्यालेन्ट हन्टबाट र दुई विदेशी गरी १५ खेलाडीलाई  टोलीमा अनुबन्धित गर्नुपर्नेछ।

प्रतियोगितामा  कुल १९ खेल हुनेछन्।  ट्वान्टी–२० का आधारमा हुने प्रतियोगिताको  लिग चरणमा प्रत्येक टिमले एकअर्कासँग १–१ खेल खेल्नेछन्। लिगको समाप्तिपछि शीर्ष २ मा रहने टोलीले प्लेअफमा खेल्नेछन् भने तेस्रो र चौथो स्थानको टोलीले इलिमिनेटरमा प्रवेश पाउनेछन्। प्लेअफको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले फाइनल अवसरका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ। डिपिएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो। पहिलो संस्करणमा उसले विराटनगर किङ्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो। यस पटक टिम चौराहको  स्थानमा कृष्ण बोहोरा मालिक रहेको धनगढी स्टार्स नयाँ फ्रेन्चाइज टोली हो।

यता प्रदीप ऐरी प्रतियोगिताको दोस्रा महँगा खेलाडी बनेका छन्। आफ्नो न्यूनतम रकम ५० हजार राखेका प्रदीपलाई रूपन्देहीले २ लाख ४० हजारमा भित्र्याएको हो। त्यस्तै सन्दीप जोरा, रोहितकुमार पौडेल २ लाख ३० हजमा क्रमश अत्तरिया र महेन्द्रनगरमा अनुबन्धन भए। भुवन कार्कीलाई अत्तरियाले २ लाख १० हजारमा भित्र्यायो। अविनाश बोहोरालाई भित्र्याउन महेन्द्रनगरले १ लाख ७० हजार खर्चेको थियो।

पहिलो अक्सनमा कुनै पनि क्लबलाई आकर्षित गर्न असफल मेहबुब आलमलाई काठमाडौंले अनसोल्ड क्याटागोरीबाट न्यूनतम ५० हजारमा अनुबन्धित गरेको थियो। यता ट्यालेन्ट हन्टबाट काठमाडौंले विक्रम ठगुन्ना, रूपन्देहीले शेर मल्ल, विराटनगरले सुवास ऐयर,धनगढीले कृष्ण ऐयर, अत्तरियाले ज्ञानेन्द्र कुँवर र महेन्द्रनगरले सुशील खड्कालाई न्यूनतम ३० हजारमा अनुबन्धित गरेका थिए।

प्रकाशित: २२ पुस २०७५ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App