८ वैशाख २०८१ शनिबार
समाज

दुई जिल्ला जोड्ने पुलको शिलान्यास

पुलको शिलान्यास गर्दै मन्त्री विकास लम्साल । तस्बिर : नागरिक

पोखरा – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत स्याङजामा पर्ने आँधीखोलामा मोटरेवल पुलको शिलान्यास गरिएको छ। भारत र चीन जोड्ने यो आयोजना पछिल्लो समय तीव्रगतिमा निर्माणाधीन छ। शुक्रबार शिलान्यास भएको यो पुलको लागत ९ करोड ६५ लाख ७८ हजार छ।

आगामी २ वर्षमा सक्नेगरी रायमाझी राजेश्वरी पि.टि.आर. र अधिकारी जे.भी. अर्घाखाँचीले संयुक्त रुपमा पुल निर्माणको ठेक्का लिएका छन्। सम्झौता अनुसार पुलको लम्बाई ५० मिटर र चौडाई १५ मिटर हुनेछ। यो सडक स्याङजाको मिर्मी हुँदै पर्वतको सेतीवेणी–रानीपानी–बाच्छा–फलेवास हुँदै मालढुंगासम्म जोड्ने यो सडकखण्डमा अन्य ३ वटा मोटरेवल पुल रहेका छन्।

सेतीवेणीस्थित सेतीखोला, फलेवासमा लमायखोला र मोदीवेणीधामस्थित मोदीखोलामा पनि मोटरेवल पुल बन्दैछ। यी पुलको निर्माणकार्य पनि अगाडि बढिसकेको छ। करिडोरको ५५ किलोमिटर क्षेत्र पर्वतमा पर्दछ। यो सडकखण्डले ऐतिहासिक धार्मिक पर्यटकीयस्थल सेतीवेणीदेखि मोदीवेणीलाई प्रत्यक्ष रुपमा जोड्ने छ। यी चार वटा पुल निर्माणपछि स्याङ्गजाको मिर्मीदेखि पर्वतको मालढुंगा बाह्रै महिना सवारी आवागमनमा सहजता हुनेछ।

सडकको पर्वत खण्ड अन्तर्गत मिर्मी–सेतीवेणी, सेतीवेणी–फलेवास, फलेवास–कुश्मा, र कुश्मा–अर्मादी गरि चार खण्डमा काम भइरहेको छ। शुक्रबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलको शिलान्यास गरेका हुन्।

पुलको शिलान्यास पश्चात मन्त्री लम्सालले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्ययवसायीलाई आग्रह गरे। निर्माणको जिम्मा लिने र समयमा काम नसक्ने प्रवृत्तिका कारण नै दबाब दिनका लागि शिलान्यास गर्नुपरेको उनले बताए। ‘समयमै काम सके सिधै उद्घाटन गरे पुग्छ, तर समयमा सकिने होइन, जिम्मा लिएपछि समयमै पुरा गर्नुपर्याे नि, एकैपटक १० ठाउँमा हात हाल्ने अनि काम होल्ड गरेर राख्ने ?’ उनले प्रश्न गरे, ‘यही प्रवृत्ति हटाउन र तोकिएकै समयमा काम सक्नको लागि शिलान्यास गर्नुपरेको हो।’

यस्तै, उनले धार्मिक हिसाबले पनि यो सडक महत्वपूर्ण रहेको बताए। पर्वतको लाइफलाइनको रुपमा हेरिएको यो सडक सम्पन्न भएपछि जिल्लाको भौतिक पूर्वाधार सहित जनाले प्रत्यक्ष रुपमा आर्थिक लाभ लिन सक्ने मन्त्री लम्सालले बताए।

प्रकाशित: २१ पुस २०७५ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App