मगर भाषाका आदिकवि

शनिबार, २१ पुष २०७५, ११ : ३४ टीकाराम उदासी

1080


मगर भाषाका आदिकवि मानिन्छन् जीतबहादुर सिजाली मगर । उनको घर पहिले साबिक स्याङ्जा जिल्लाअन्तर्गत आलमदेवी गाविसको कोटाकोट बेसी भन्ने गाँउमा थियो तर जन्म भने गुल्मी जिल्लाअन्तर्गत लुम्पेक गाविस सुँगुरे पानी ग्याँजामा रहेको एक ओडारमा भयो वि.सं. १९८८ जेष्ठ २ गते विहीबारका दिन। ओडार उनको मावलीघर नजिकै  थियो। उनको न्वारान पनि मावलमै भयो। हिड्ने भएपछि मात्रै उनी आमासँग आफ्नो घरमा फर्किएका थिए। मावलीमा हुँदा लोट्छ भनेर जीतबहादुरलाई आफ्नी आमाले डोकाले छोपेर पनि राख्थिन्। उनकी आमा त्यतिबेला धेरै माइतमा बस्थिन्। उनको बुबाको जागिर पाल्पामा भएकाले पनि यस्तो हुन गएको हो। जीवनका पछिल्ला पाँच दशक भने उनले दाडमै व्यतीत गरे।

उनको बुबाको नाम प्रेमसिंह सिजाली मगर र आमाको नाम छली सिजाली मगर थियो। विवाहअघि आमाको थर सिजापति मगर थियो। साथै जीतबहादुरका बाजेको नाम भवानसिंह सिजाली मगर थियो। दुई भाइ बाजेमध्ये कान्छा नै उनका बाजे थिए। उनका बुबाले स्याङ्जाका साथै तानसेनमा गएर पनि जैसी विद्या पढेका थिए। साथै उनी तानसेनमा बहिदार थिए। तर पेटको रोगका कारण ३६ वर्षको अल्पायुमै वितेका थिए भने आमा पनि ३२, ३३ वर्षकै कलिलो उमेरमै बितेकी थिइन्। यसरी सानै उमेरमा जीतबहादुर टुहुरा बनेका थिए।

जीतबहादुर सिजाली मगरका तीनचार वटी बहिनी र  तीनचार भाइ पनि नजन्मिएका होइनन् तर कोही पनि बाँचेनन्। उनी मात्रै एक्लो सन्तानका रुपमा बाँचे। यसरी बुबाआमाको पनि अल्पायुमै मृत्यु भएका कारण जीतबहादुर कलिलै उमेरमा एक्ला बन्न विवश भए।

उनका बुबाहरु चार दाजुभाइ थिए–  रणबहादुर सिजाली मगर जेठा, रणसिंङ सिजाली मगर माहिला, प्रेमसिङ सिजाली मगर साहिला र देवीबहादुर सिजाली मगर कान्छा। जेठा बुबा रणबहादुर किसान थिए र उनले दुई विवाह  गरेका थिए। यस्तै माहिला बुबा रणसिङ भारत काश्मिरमा सैनिक थिए। उनी हवल्दार पेन्सन आएका थिए। ७ वटी श्रीमती विवाह गरेपछि मात्रै उनका छोराछोरी भएका थिए। आफ्ना बुबाले पनि दुई श्रीमती लिएका थिए र उनी पाल्पामा बहिदार थिए। उनका कान्छा बुबा देवीबहादुर चाँहि कलकत्ता पुलिसमा जागिरे थिए। तर उनी पेन्सन नपकाएरै घर फर्किएका थिए। उनले पनि दुईवटी विवाह गरेका थिए। यसरी उनको पारिवारिक अवस्था हेर्दा खानलाउन पुग्ने खालकै थियो।

मिलीजुली विवाह
जीतबहादुर सिजालीले अड्ग्रेजी मूल विषय लिएर तत्कालीन नेस्नल कलेज, काठमाण्डौंबाट आई. ए. उत्तीर्ण गरेका थिए। त्यसपछि उनले जागिरे जीवन प्रारम्भ गरे काठमाण्डौंमै। बिरामी भएका कारण कीर्तिपुरको शिक्षण जागिर छाडेपछि जीतबहादुर सिजाली मगर  पूर्ण बेरोजगार भए। केही समय औषधि गरेपछि उनी सञ्चो भए अनि पुनः साथीको पछि लागेर शिक्षण गर्न हिडे नुवाकोटको लामिडाँडा । उनीसँगै गएका साथी थिए विष्णु केसी.। साथी विष्णुले उतै एउटी नेवार्नी विवाह गरे र घरमै लिएर आए। जीतबहादुरले पनि नुवाकोट शिक्षणकै क्रममा एउटी मगर्नी केटीसँग विवाह गरे। श्रीमतीका बुबा मगर थिए, आमा चाँहि नेवार्नी। तर उनीहरुको सन्तानका रुपमा एउटी छोरीमात्रै थिइन्, जसलाई जीतबहादुरले विवाह गरेका थिए। उनीबाट दुई छोरा र एक छोरी पनि जन्मिएका थिए। सासूससुरा र श्रीमतीसमेतले जीतबहादुरलाई पनि उतै बस्न निकै करबल गरे, उनीसँग घर आउन मानेनन्। जीतबहादुरलाई त्यो कुरा चित्त बुझेन र एक्लै फर्किए। त्यसपछि भने उनी पुनः श्रीमती र छोराछोरीको सम्पर्कमा नै गएनन्। यसरी नजानिदो पाराले जोडिन पुगेको उनको वैवाहिक सम्बन्धको डोरी नजानिदो पाराले नै बीचैमा चुँडियो र उनी पुनः एक्ला जीवनयात्री बन्न पुगे।

आफ्नो विवाहलाई जीतबहादुर मिलीजुली विवाह भन्छन्। किनभने, उनीहरुका बीचमा कुनै धुमधामसँग औपचारिक विवाह भएको थिएन तर उनीहरु लोग्ने स्वास्नी नै थिए। उनको गुपचुप विवाहले साथीभाइ, गाँउले र सासूससुराबाट भने सामाजिक मान्यता पाएको थियो। त्यस घटनापछि भने उनले जीवनमा फेरि विवाह गरेनन्। यसरी उनको वैवाहिक जीवन पनि कुनै मार्मिक दुःखान्त कथाजस्तै बन्यो।   

शिक्षादीक्षा
मावलीमै जन्मिएका जीतबहादुर सिजाली मगर हिड्ने भएपछि भने आफ्नै घर फर्किए। आफ्नै घरआगँनको धुलोमाटोसँग लडीबुडी खेल्दाखेल्दै जसोतसो उनको बाल्यकाल बित्यो। आफ्नै बुबा र कान्छा बुबाले उनलाई घरमै बाह्रखरी सिकाए। उनीसँग अन्य गाँउका केटाकेटीहरुलाई पनि उनका कान्छा बुबाले घरमै बोलाएर पढाउने गर्थे त्यतिबेला। खेलकुदमा कमजोर भएपनि पढाइमा भने उनी सानैदेखि अरुभन्दा अब्बल थिए। घरमै कान्छा बुबाले पढाउने भएकाले पनि यस्तो भएको उनले बताएका थिए।

उनी घरमै पढेर किताब बोलाउन सक्ने भएका थिए। साथै दश बाह्र लहरी दुना (गणित) पनि जान्ने भए उनले अनि विस्तारै जोडघटाउ पनि सिके। त्यही समयमा गुल्मी भार्सेका जोगी भएर हिडेका तर साइनोले फुपाजु पर्ने एकजना मानिस उनका घरमा आए। उनलाई घरमै राखियो। उनले नै जीतबहादुरलाई सर्बप्रथम अङ्गे्रजी सिकाए। दुई चार महिना उनी त्यतै बसे। उनी कुनै बहाना बनाएर त्यहाँबाट हिडे अनि पुनः फर्केर आएनन्। त्यसपछि जीतबहादुर पढ्नलाई पाल्पा तानसेन गए। उनले त्यही ठूलो वर्णमाला पढेका थिए। त्यसमा अक्षर ज्ञान र चिठीपत्र लेख्न पनि सिकाइएको थियो। तमसुक, राजीनामा, वादीप्रतिवादी , भर्पाई आदि लेख्न पनि सिकेपछि क्रमशः फैसला लेख्न पनि जान्ने भए उनी।

जीतबहादुर सिजालीले पछि दुई नम्बर गोरखाबाट आठ कक्षा उत्तीर्ण गरे अनि पढ्नका लागि काठमाण्डौं गए। काठमाण्डौं रानी पोखरीनिर रहेको तत्कालीन दरबार हाइस्कुलमा उनले नौ र दश कक्षा पढे। त्यहींबाट उनले पन्ध्र सोह्र सालतिर एस.एल.सी. पनि उत्तीर्ण गरे।  प्रायः उनी कक्षामा तृतीय हुन्थे। अङ्गे्रजी, सिभिक्स, नेपाली, अर्थशास्त्रजस्ता विषय लिएर उनले एल.एल.सी. गरेका थिए। त्यसपछि नेसनल कलेजबाट २०२१ सालमा अङ्गे्रजी विषय लिएर आई..ए.उत्तीर्ण गरे जीतबहादुरले। त्यसबीचमा उनी कीर्तिपुर लगायतका केही ठाँउमा शिक्षक पनि बनिसकेका थिए। त्यसै कारण नियमित पढाइ अगाडि बढ्न सकेन। त्यसपछि भने उनको औपचारिक पढाइमा पूर्णविराम लाग्यो।

काठमाण्डौं अध्ययनका क्रममा उनी धेरै ठाँउहरुमा डेरा सर्दै हिडे। ठमेल, पुतलीसडक, डिल्लीबजार आदिका डेराहरुमा उनले विद्यार्थी जीवन बिताएका थिए। साथै पुतलीसडकमा रिडीतिरकै मानिसले खोलेको होटेलमा उनले धेरै समय खाना पनि खाए।

भाषिक ज्ञानका हिसाबले उनले नेपाली, मगर, अङ्ग्रेजी, बङ्गाली, संस्कृत र हिन्दी भाषा जानेका थिए। सिर्जनात्मक कलम भने उनले नेपाली र मगर भाषामा मात्र चलाए।

नागरिकताको प्रमाणपत्र
जीतबहादुर खासमा सिजाली मगर हुन् तर उनको नागरिकताको प्रमाणपत्रमा उनको नाम थापा मगर थियो। २०१७÷ १८ सालमा उनले नागरिकता लिएका हुन् काठमाण्डौंको अञ्चलाधीसको कार्यालयबाट। त्यतिबेला गृहमन्त्री थिए गिरिप्रसाद बुढाथोकी मगर। उनकै सिफारिसमा जीतबहादुरको नागरिकता बनेको हो पहिलोपल्ट। त्यो नागरिकता हराएपछि उनले फेरि २०२८÷२९सालमा दाङ देउखुरी जिल्लाबाट लिए। त्यो पनि हराएका कारण उनले फेरि तेस्रो पल्ट बनाएका बनाए नागरिकता।

सिजाली थर भएपनि नागरिकतामा थापा उनले त्यत्तिकै लेखेका भने थिएनन्। आफ्नै जेठाबुबाका छोरा दाइ सेनामा थिए। उनले नागरिकता बनाउदा थापा लेखेका कारण जीतबहादुरले पनि दाइकै अनुसरण गरी थापा लेखेका हुन्। उनका सबै कागजपत्रमा थापा नै लेखिएको छ भने दाङदेउखुरीतिर सबैले थापा भनेरै चिन्ने गर्दथे।

साहित्यिक यात्रा
जीतबहादुर सिजाली मगर अध्ययनशील मानिस थिए। उनको यो सानैदेखिको बानी थियो। औपचारिक शिक्षा प्राप्त गर्ने क्रममा रहेका पाठ्यपुस्तकहरुभन्दा पनि उनलाई सानैदेखि बाहिरी पुस्तक र पत्रपत्रिकातर्फ निकै अभिरुचि थियो। काठमाण्डौं अध्ययनका क्रममा उनले त्यहाँका पुस्तकालय गएर नियमित अध्ययन गर्ने गर्थे। बामपन्थी राजनीतितर्फको विशेष झुकावका कारण उनले विद्यार्थी जीवनमा रुसी र चिनीया साहित्यिक एवं अन्य विभिन्न दर्शनका पुस्तकहरुको पनि गहिरो अध्ययन गरेका थिए।

कार्ल माक्र्सका पूँजी
उनका सङ्कलित रचनाहरु, लेनिनका सङ्कलित रचनाहरु धीत मरुञ्जेल पढे उनले। यीबाहेक उनले नेपाली र हिन्दीका विभिन्न पुस्तकहरुको पनि अध्ययन गर्ने अवसर प्राप्त गरेका थिए।

मगर समाज सुधार समितिमा आबद्ध भएपछि जीतबहादुर सिजालीले मगर इतिहास, भाषा र संस्कृतिको अध्ययनमा पनि आफूलाई अग्रसर बनाए। मगर भाषा र संस्कृतिको उत्थानका लागि भनेर उनी धेरै मगर गाँउहरुमा पनि पुगे। त्यसबेला अन्य भाषामा विभिन्न साहित्यिक रचना भएको तर मगर भाषामा नभएको अभावपीडाले उनलाई निकै जिज्ञासा थपिदियो। यसैले नवलपरासीका साथी रेखबहादुर थापा मगरसँग मिलेर उनले २०१७÷ १८ सालतिर मगराँती भाषाङ ल्हिङ द टुक्कावौं किताब लेखेर छपाए। त्यसैगरी २०१९ सालतिर मगर भाषाका शुरुवौं किताब पनि प्रकाशित  गराए। यी दुबै किताबमा प्रकाशन मिति नभएको उल्लेख छ भने पछि २०४८ सालमा लोकबहादुर थापा मगरले दोस्रो संस्करणका रुपमा यी पुस्तकहरु प्रकाशित गरिदिए। यी दुबै किताबहरुमध्ये पहिलो किताब जीतबहादुरले आफ्नो औषधि गर्न भनेर साथीले दिएको पैसाले छपाएका थिए। त्यसै गरी दोस्रो किताब चाँहि खरबारी बेचेर आएको पैसाले छपाएका थिए। ती किताब धेरै ठाँउमा नपुगे पनि आफू गएका ठाँउ र चिनेका साथीहरुमार्फत भने लेखकले धेरै ठाँउमा पुराए। काठमाण्डौंको अञ्चलाधीस कर्यालयमा यी दुबै किताबको पाण्डुलिपि लेखकले मगर र नेपाली दुबै भाषाम बुझाएका थिए। यो घण्टाघर निरको एउटा प्रेसबाट छापिएको थियो। 

त्यतिबेला उनले मगर भाषामा धेरै गीत र कविताहरु लेखेका थिए तर उल्लिखित दुई कृतिहरुबाहेक अरु रचना भने प्रकाशनमा आउन सकेनन्। तर मगर समाजमा पुग्दा वा शिक्षणका क्रममा हुने विभिन्न कार्यक्रममा भने उनले ती कविता र गीतहरु धेरै पल्ट लय हालेर गाउने गरेका थिए। बीचमा लेखिएका उनका धेरै रचनाहरु अव्यवस्थित बसाइँहिडाइँका कारण हराए। कतिपय रचना भने उनले यस पड्क्तिकारलाई समेत कण्ठस्थ सुनाएका थिए।

जीवनशैलीका कारण त्यसपछिको लामो अन्तराल भने जीतबहादुरको सिर्जनात्मक गतिविधिका दृष्टिले अँध्यारो कालखण्डकै रुपमा रहेको देखिन्छ। वि.सं.२०६० पछि भने उनको साहित्यिक यात्राले पुनर्जीवन प्राप्त गरेको प्रष्ट हुन्छ। गाउँ छाडेको करिब ३६ वर्षपछि २०६२ सालको तिहारमा जेठा बुबाकी छोरी बहिनीको हातबाट टीका लगाउने भनेर उनी आफ्नो पुख्र्यौली घर स्याङ्जा गए। उनलाई नयाँ पुस्ताले नचिन्नु त स्वाभाविकै थियो, आफ्ना स्त्रमित्र र बाँचेका आफ्नै साथीहरुले पनि चिन्न सकेनन्। त्यसलाई उनले जीवनकै अनौठो अनुभवका रुपमा लिनु स्वाभाविकै थियो।

स्याङ्जाबाट देउखुरी फर्केपछि उनले लेस्मा रानाङ ( फर्केर आउँदा ) भन्ने किताब लेखे। त्यसलगत्तै उनले पुनर्आगमन भन्ने किताब पनि लेखे। दिलबहादुर सिजापती (मामा) र लोकबहादुर सिजापती (भदै) ले प्रकाशन गरिदिएको यी पुस्तक मगर र नेपाली दुबै भाषामा  रहेका छन्।

उनको गोलभाव नामक कविताकृति पनि प्रकाशित भएको छ। जम्मा ७२ पृष्ठमा रहेको यस कृतिभित्र नेपाली भाषाका २५ र मगर भाषाका २३ वटा कविताहरु रहेका छन्। यसैगरी २९ पृष्ठमा रहेको प्रकाश नामक निबन्धात्मक कृतिमा विभिन्न राजनीतिक विषयवस्तुबारे चर्चा गरिएको छ। उनको सुकुम्बासी भन्ने पुस्तकमा व्यवहारिक जीवनदर्शन र सुकुम्बासी समस्याबारेका टिप्पणीहरु रहेका छन्। मगर र नेपाली दुबै भाषा प्रयोग गरी लेखिएको यस कृति जम्मा ३० पृष्ठमा रहेको छ। यस्तै शेरबहादुर तरामुले प्रकाशित गरेको जीतबहादुरको  नयाँ मोड नामक कृतिमा विविध भाषा, संस्कृति, राजनीति आदि विषयवस्तुमा लेखिएका निबन्धात्मक रचनाहरु रहेका छन्। २८ पृष्ठमा लेखिएको यस कृतिको अन्त्यमा केही नेपाली भाषामा लेखिएका कविताहरु पनि राखिएका छन्। यसबाहेक उनका डेढ दर्जन जति कृतिहरु पाण्डुलिपिका रुपमा रहेका देखिन्छन्। ती कृतिहरुमा तीनचारवटा चाँहि मगर भाषाका कविताकृति रहेका छन्। साथै उनले २०१२ सालपछिको आत्मकथा पनि लेखेका छन्। पाण्डुलिपिका रुपमा यो कृति नेपाली भाषामा छ भने यसको पृष्ठ ६० रहेको देखिन्छ।

एकपल्ट उनी आफ्नो फुपाजु पर्ने भीमबहादुर बुढाथोकी मगरसँग तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (एकेडेमी) गएका थिए। तत्कालीन प्रज्ञाप्रतिष्ठानका रजिस्ट्रार बालकृष्ण सम थिए। समले किराँतको शव्दकोश बनिसकेको बताउँदै मगर भाषाको शव्दकोश पनि लेखेमा छापिदिने आश्वासन दिए उनलाई। अरु जिल्लाका मगरहरुलाई पनि जम्मा गरी बुटवलमा बसेर जीतबहादुरले मेहनतपूर्वक मगर भाषाको शव्दकोश पनि लेखे। उनले एकेडेमीमा पनि बुझाए। पछि एकदिन साथी हुवीर आले मगरसँग उनी एकेडेमी गए। बालकृष्ण समसँग हुवीरको पहिले नै कुनै विषयमा झगडा भएको रहेछ। उनीसँगै गएका कारण समले जीतबहादुरको मगर भाषाको शव्दकोश नछापेर फिर्ता गरिदिए। यस घटनाले जितबहादुरलाई निकै नरमाइलो लाग्यो र एकेडेमीसँग उनको सधैँभरि असन्तुष्टि र गुनासो पनि रहिरह्यो। त्यसपछि भने उनले जीवनमा फेरि एकेडेमीमा आफ्ना स्वाभिमानी पाइलाहरु टेकेनन्।

जागीरे जीवन
जीतबहादुर सिजालीले पाल्पामा पढ्न गएका बेला तमसुक, भर्पाई, राजीनामा, निवेदन आदि व्यवहारिक ज्ञान सिकेका थिए। पाल्पा अदालतमा उनकै गाउँका एकजना मानिस थिए पाण्डे थर भएका। पाल्पा अपिलमा उनी नौसिन्दा भएर आएका थिए, पछि न्यायाधीश पनि भएका थिए रे। उनकै सहयोगमा जीतबहादुरले कहिलेकाही राजीनामा, भर्पाई, निवेदन आदिको नक्कल सार्ने काम पनि गरे। पढ्नु पनि पर्ने र सधैँ पनि गर्न नपाइने भएकाले कहिलेकाही यो काम गर्थे उनले। आफ्नो बुबाले पनि यही काम गरेकाले उनलाई गाह्रो पनि भएन। त्यसबाट पाएको पैसाले उनको विद्यार्थी जीवनको खल्तीखर्च राम्रैगरी चल्थ्यो। यसरी उनले जागिर वा तलबको स्वाद सानैमा नै चाख्ने अवसर पाएका थिए।

उनी नियमितजसो गोरखापत्र लगायतका विभिन्न पत्रपत्रिकाहरु पढ्थे। त्यसै क्रममा गोरखापत्रमा छापिएको आवश्यकतासम्बन्धी एउटा विज्ञापनले उनको ध्यान खिच्यो। कीर्तिपुरको स्कुलका लागि शिक्षक चाहिएको विज्ञापन थियो त्यो। त्यसमा जम्मा ११ जनाको निवेदन पर्यो। तीमध्ये पहिलो नम्बरमा उनको नाम थियो र उनी नै छनौट भए। उनलाई शिक्षा विभागबाट नियुक्ति दिएर कीर्तिपुर पाठशालामा अङ्ग्रेजी पढाउन पठाइयो। यसरी २०१७, १८ पछि २ वर्ष जति उनले कीर्तिपुरको एक विद्यालयमा दुई वर्ष जति अङ्गे्रजी विषय पढाएर बसे। पछि उनलाई अचानक घाँटीबाट रगत आउने रोग लागेको हुनाले औषधि गर्न भनेर जागिर छाडेर हिडे।

त्यसपछि मिनपचासको विदामा पाल्पाका साथी भुवन के.सीे.सँग हिडेर घर आउँदा त्रिशुली बद्वार भन्ने ठाँउमा बास बसेका थिए। गाउँलेहरुले अनुरोध गरेका कारण जितबहादुर घरै नआएर त्यतै शिक्षक बने। साथी भुवन केसीले पाल्पाको कम्युनिष्ट पार्टीमा काम गरेका थिए। उनले सधैँ कम्युनिष्ट राजनीतिको कुरा गर्थे। उनीसँग जितबहादुरको २, ३ बर्ष सँगत भयो। उनी एक वर्ष बद्वारमा र एक बर्ष जति माझीटारमा बसेर शिक्षण गरे। उनले नै बद्वारमा प्रावि र माझीटारमा माविसम्मको स्वीकृति लिए।

त्रिशुलीबाट फर्केर उनले नवलपरासीको एक गाँउमा २, ३ महिना जति पढाए। त्यसपछि प्यूठान र अर्घाखाँचीको सीमानामा रहेको असुरकोट र खिल्गीको बीचमा केही समय पढाए। खिल्गीमा एउटा प्रावि थियो अनि असुरकोटमा अर्को प्रावि। ती दुईको बीचमा एउटा निमावि स्कुल खोल्ने भनियो। जितबहादुर गएर खोले अनि भवन पनि बनाए। स्कुल नजिकैको दोकानमा उनले डेरा गरी बसेका थिए।

जीतबहादुरले प्रायः फुर्सदमा बाहिरी किताबहरु पढिरहन्थे। त्यो उनको पुरानै बानी थियो । त्यो बानी असुरकोटका केही शिक्षकहरुलाई चित्त बुझेन अनि उनलाई कम्युनिष्ट भनेर निकै दुःख पनि दिए। आफैले लेखेका मगर भाषाका किताबहरु जीतबहादुरसँग थिए। कसैले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले किताबसहित तानसेन चौकीमा पुर्यायो। बाटामा एक रात बसेपछि अर्को दिन पाल्पा पुगे उनीहरु। तानसेन लगेर थानामा पुर्याएर बुझाए उनलाई। तर पगड्नु पर्ने कारण देखाउन नसक्दा किताबहरु राखेर उनलाई चाँहि छाडिदिए।

त्यहाँ जीतबहादुरले आठ कक्षासम्म पढाइ हुने निमावि स्थापना गरे । स्कुलमा भएको एक साँस्कृतिक कार्यक्रममा उनले मगर भाषामा गीत गाएको आरोपमा प्रहरीसँग पनि वयान दिनुपर्यो। त्यसपछि उनी पुनः स्कुल छाडेर हिडे।     जीतबहादुर एक्लै नेपालगञ्ज हेर्न भनेर गए। त्यहाँ निकै गर्मी पाएपछि दाङ फर्किए। दाङमा रोल्पा भूमिसुधारमा काम गर्ने एकजना खरिदार भेटिए। उनीसँग कुराकानी भएपछि जीतबहादुर रोल्पाको ओहोनाफे भन्ने गाँउमा गएर शिक्षक भए। उनी त्यस गाँउमा पुग्दा गाँउलेहरु निकै खुसी भए। उनले पनि सन्तोषपूर्वक दुईवर्ष त्यही बिताए। रोल्पाको सदरमुकाम लिबाङमा उनले शिक्षकको तालिम पनि लिएका थिए।

त्यसपछि उनी काठमाण्डौं आई फर्केर रोल्पा फर्कदै गर्दा देउखुरी गढवाको चियापसलमा एकजना मानिससँग भेट भयो। उनी रोल्पा ढाङदुङका शिक्षक रहेछन्। उनकै पछि लागेर जितबहादुर पनि ढाङदुङ भन्ने गाँउमा गए। साथै शिक्षक बनेर त्यतै पढाउन थाले। स्कुल पाँच कक्षासम्म थियो। त्यहाँ पनि उनले दुई वर्ष जति सेवा गरे। यो २०२६ –२७ सालतिरको कुरा हो। त्यसपछि भने उनले पुनः शिक्षण सेवातिर हात नै हालेनन्।

२०२७ सालमा रोल्पाबाट सयौं घर सुकुम्बासीहरुलाई पछि लगाएर धनसिङ बुढा मगर ( मुखिया) सँग उनी पनि देउखुरी झरे। त्यसपछि भने उनले सरकारी जागिर गरेनन्। तर जीवन निर्वाहका लागि भने उनले बीचबीचमा विभिन्न कामहरु गरेको भेटिन्छ। पञ्चायती कालमा २०३५– ३६ सालदेखि उनले दाङ ग्वारखोलाको बाटो बन्ने क्रममा ४, ६ बर्ष मुन्सीको काम गरेका थिए। पेटीमा ठेक्का पनि लिने गर्थे उनले। पछि जिल्ला शिक्षा कार्यालय दाङको घोराहीमा भवन बन्दा पनि उनले बहिदारको काम गरेका थिए। त्यतिबेला उनले गाँउबाट कामदार पनि लिने गर्थे साथै काम गरेबाफत उनले मासिक २०० रुपियाँ पाउने गरेका थिए। जिल्ला शिक्षा कार्यालयले नै उनलाई तलब दिएर आफ्नै कर्मचारीसरह राखेको थियो। भवन बनिसकेपछि भने उनी फेरि बेरोजगार जस्तै बने अनि गाँउमै समाजसेवा गरेर समय व्यतीत गरे।  

राजनीति र जेलप्रसङ्ग
जितबहादुर सिजाली मगर सानैदेखि अत्यन्त मेहनती, इमान्दार, अध्ययनशील र गम्भीर स्वभावका मानिस थिए। विद्यार्थी जीवनमा उनले देशभित्र र बाहिरको राजनीतिका बारेमा धेरै चासो र अध्ययन गर्ने अवसर पनि प्राप्त  गरे। विशेषतः काठमाण्डौंको बसाइँ र अध्ययनले नै उनलाई यो अवसर दिएको देखिन्छ।

शुरुमा उनी डा.के आई सिंहको राष्ट्रवादी विचारप्रति झुकाव राख्ने मानिस थिए। उनी काठमाण्डौंमा हुँदा डा.के.आई.सिंहको चर्चा शिखरमै थियो। सबैले उनलाई राष्ट्र«वादी मानिस भन्ने गर्थे। २०१५ सालको चुनावमा उनले के.आई.सिंहकै संयुक्त प्रजा परिषद्का उम्मेदवार ओमप्रसाद गौचनलाई नै सघाएका थिए। उनकै प्रचारप्रसारमा गीत गाउँदै पनि हिडेका थिए तर चुनावपछि भने उनी पुष्पलालका नजीक बने। के.आई.सिहको चर्चा आवरण जस्तो मात्रै लाग्यो उनलाई।

आई. ए. का विद्यार्थी छँदा उनका सहकर्मीहरुमध्ये एक थिए –प्रयागलाल श्रेष्ठ। उनी पुष्पलाल समूहमा मानिस थिए। रिडीका प्रयागलाल र स्यांजाका जितबहादुर पुतलीसडकमा एउटै कोठामा डेरा गरी बस्थे त्यतिबेला। यसकारण पनि पुष्पलालसँग उनीहरुको राम्रै चिनाजानी थियो साथै पुष्पलाल पनि उनीहरुको कोठामा प्रायः आइरहन्थे। एल.एल.सी.सम्म पढेका प्रयागलाल र नेता पुष्पलाल कहिलेकाही अङ्ग्रेजीमा पनि कुराकानी गर्थे। उनले बुझ्दैनथे।

जितबहादुर त्यतिबेला इन्द्रचौकमा रहेको चिनीया पुस्तकालयमा दिनको एकपटक जसरी पनि अनिवार्य जान्थे अनि विभिन्न पुस्तक र पत्रपत्रिका पढेर फर्कन्थे। मनमोहन अधिकारी,  शम्भुराम श्रेष्ठ, निर्मल लामा, मोहनविक्रम सिंह आदिसँग पनि उनको त्यतिबेलै भेटघाट भएको थियो।

२०१२ – १३ सालतिर काठमाण्डौंमा हुने कम्युनिष्टहरुको जुलुस, कार्यक्रम र भाषणको प्रभाव अनि साथी प्रयागलाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठहरुसँगको सत्सङ्गतबाट उनी कम्युनिष्ट पार्टीबाट निकै प्रभावित थिए। काठमाण्डौंमा रहँदा कहिलेकाही उनी पनि जुलुसमा हिडे। विभिन्न पुस्तकालको अध्ययन र भोटाहिटीमा रहेको निरञ्जन गोविन्द बैद्यको किताब पसल र नयाँ सडकबाट पनि किनेर पढेका माक्र्स , लेलिन र माओ आदिका पुस्तकहरुबाट उनी वैचारिक हिसाबले निकै क्रान्तिकार िबनिसकेका थिए।

२०१७ साल पुस १ गतेबाट प्रारम्भ भएको पञ्चायती व्यवस्थाका कारण भने केही नेताहरु जेल परे भने कति विदेश लागे साथै कतिपय भूमिगत पनि बने। नुवाकोट जेलबाट छुटेपछि सिजाली पनि दरभङ्गातिर हिडे। तुल्सीलाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ अदि नेताहरुलाई उनले फेरि त्यतै भेटे। त्यसबेला दरभङ्गामा ल्पेटनमको बैठक चलिरहेको थियो र कम्युनिष्ट पार्टीको महासचिव थिए केशरजंग रायमाझी।

दरभङ्गा जाने क्रममा बाटामा एकजना राई साथीसहित बामपन्थी नेता एकदेव आले मगर पनि भेटिएका थिए। उनीहरु वीरगञ्ज स्टेसनबाट दरभङ्गासम्म साथै गएका थिए। पछि पश्चिम १ नम्बर लामिडाँडामा शिक्षण गर्ने क्रममा पनि उनी बनारस गएका थिए। दरभङ्गाको सम्झना आएकोले उनी पछिल्लो पटक त्यहाँ पुगेका थिए। त्यतिबेला पुष्पलाल श्रेष्ठ र तुल्सीलाल श्रेष्ठ दुबै बनारसमा थिए। उनले दुबैसँग भेट गरे। त्यसपछि उनी बनारसमा दुईतीन दिन बसेर फेरि काठमाण्डौ फर्किए अनि पढाउन पुनः लामीडाँडा गए।

उनी शुरुदेखि नै बामपन्थी राजनीतिप्रति विशेष झुकाव राख्ने मानिस थिए। समाजमा हुने सामन्ती शोषण, अन्याय, अत्याचारका साथै जातीय विभेद र छुवाछुतप्रथाको उनले खुलेरै विरोध गर्थे। दुईचार दिन जेल त उनी धेरैपल्ट परेका थिए। २०१७ सालमा पश्चिम १ नम्बर नुवाकोटमा किसान आन्दोलन भएको थियो। त्यसमा जितबहादुर सिजाली पनि निकै सक्रियतापूर्वक लागेका थिए। त्यसै कारण उनलाई सुरक्षाकानुन अन्तर्गत नुवाकोट जेलमा ६ महिना राखियो। प्युठान असुरकोटमा पढाउँदा पनि मगर गीतमा केटाकेटीलाई नचाएको र मगर भाषामा लेखेको आफ्नो किताब बोकेको अभियोगमा प्रहरीले ३ दिन थानामा राख्यो तर पछि आफैले छोड्यो।

समाजसेवा
जितबहादुर सिजाली मगरको समाजसेवाको पक्ष  निकै रोचक रहेको देखिन्छ। सर्वप्रथम वि.स.ं २०१२ सालमा काठमाडौंको इन्द्रचोक, रक्तकालीमा केही साथीहरुसँग मिलेर उनले मगर समाज सुधार समितिको स्थापना गरे। यो नै हालको नेपाल मगर सड्घको जननी संस्था मानिन्छ। त्यतिबेला रक्तकालीमा ढलकप्रताप रानाको घर थियो। उनका फुपाजु पर्ने गुल्मी भार्सेका भीमबहादुर बुढाथोकी मगर पनि त्यतै थिए मुखिया जागीर गरिरहेका। उनीसँग सर्वप्रथम सल्लाह भयो यसबारेमा किनभने गुरुङ, तामाङ, थारु, किराँत, लिम्बू आदि जातिले भने त्यसअघि नै जातीय सङ्गठन स्थापना गरिसकेका थिए। त्यतिबेला ब्याकवार्ड फिडरेसन थियो, जसमा सबै पिछडिएका जातीय सङ्गठनहरुको प्रतिनिधित्व थियो। त्यसमा मगरहरुलाई पनि बेलाबखतमा बोलाउने गरिन्थ्यो तर मगरहरुलाई बोलाइए पनि मगरहरुको आफ्नै स्वतन्त्र सङ्गठन नभएकोले उनीहरुको संस्थागत प्रतिनिधित्व भने हुने कुरा भएन। यसरी अरु जातीय सङ्गठनहरुको प्रेरणाबाट काठमाण्डौँमा मगर समाज सुधार सङ्घ खोलिएको थियो। भीमबहादुर बुढाथोकी त्यसका संस्थागत सभापति थिए भने सचिव ढलकप्रसाद राना। अरु सदस्यहरुका साथमा संस्थाको कार्यालय सचिव बनेका थिए जितबहादुर सिंजाली मगर।

जितबहादुर सिंजाली मगर जहाँजहाँ शिक्षक भएर गएका थिए, त्यहाँत्यहाँ प्रायः सबैतिर नै उनले कक्षाहरु बढाउने सक्रिय पहल पनि गरेका थिए। साथै २०२७ सालदेखि रोल्पाबाट दाङ देउखुरीमा बसाइँ सरेका सिजालीले रोल्पा ढाङदुङ मिरुल, कुरेलीका धनसिङ बुढा मगर (मुखिया) सँग मिलेर देउखुरीका विभिन्न नाकाहरुमा ३० वटा जति गाउँहरु बसालेका थिए। शुरुमा १०० जतिको नामावली लिएर आएकोमा दोस्रोपल्ट ८० र तेस्रोपल्ट ५० जनाको नामावली बोकेर रोल्पालीहरुलाई नाकातिर बसाइँसराइ गराएका थिए उनीहरुले। उनले देउखुरीको खाङ्रा  नाकामा विद्यालय स्थापना र सञ्चालन गर्नमा पनि निकै योगदान गरेका थिए।

रोल्पाबाट झरेर उनीहरुले खाङ्रा नाकामा बस्ती त्यत्ति सजिलै बसालेका भने होइनन्। यसका लागि जितबहादुरसहित केही मानिसहरुले निकै  पसिना बगाएका हुन्। रोल्पा कुरेलीमा बस्दा उनी धनसिङ मुखियाको घरमा बसेका थिए। मुखिया पनि समाजसेवी नै थिए। उनले एकदिन देउखुरीमा जग्गा भएको र त्यसलाई खुलाएमा धेरै गाँउलेहरुलाई पनि गाँसबासको व्यवस्था हुने बताए। त्यसपछि मिनपचासको विदामा आठजना मानिस आवश्यक खर्चपर्च बोकी गाँउबाट हिडे। तीमध्ये एक जितबहादुर पनि थिए। कोइलाबासबाट खबरी नाका हुँदै भैसाही भएर भुवा नाका पुग्न खोज्दा बाटो विराएर उनीहरु भारतको सिरसिया बजार पुगे। फेरि फर्केर कोइलाबास आए। सल्लाह गरी धनसिङ मुखिया, उजीराम बुढा, कर्मसिङ रोका र जितबहादुर काठमाण्डौँ पुगे।  कालीमाटीमा बसेर प्रधानमन्त्रीलाई भेट्न उनकै कार्यालयमा गए र  निवेदन  दिए। त्यसलाई प्रधानमन्त्रीले कृषि विभागमा पठाइदिए अनि कृषि विभागले उनीहरुलाई एउटा प्रमाणपत्र दियो। त्यसैका आधारमा उनीहरु देउखुरीका नाकाहरुमा बसोबास गर्ने आधार बन्यो।

दाड देउखुरीमा उनको स्थायी बसोबास हालको राजपुर गाउँपालिका –६, खाङ्रा नाकामा थियो यो जिल्लाकै एक विकट क्षेत्र हो। उनले यहाँ झण्डै पाँच दशकको समय व्यतीत गरे। पारिवारिक रुपमा उनको एक्लो जीवन निश्चय नै विभिन्न कटु अनुभवहरुले भरिएको थियो। तर सदैव व्यक्तिगत हर्ष, आकाङ्क्षा र सपनाहरुभन्दा समाजकै हर्ष, आकाङ्क्षा र सपनाहरुसँग रमाउने सिजाली साँच्चै नेपाली समाजकै विरलै चरित्रहरुमध्येका एक हुन्। त्याग र सेवाका जीवन्त प्रतिमूर्तिका रुपमा आफ्नो समाजमा परिचित र सम्मानित सिजालीको जीवनकथा एउटा सार्थक यात्राको सुन्दर अभिलेख हो। यही पुस ८ गते आइतबार कपिलवस्तुमा भएको सडक दुर्घटनामा परी ८७ वर्षको उमेरमा उनको दुखद् अवशान भएको छ। यिनै हरफहरुसँगै म मगर आदिकवि सिजालीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।







यसमा तपाईको मत


अन्य समाचार

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

नि: शुल्क भीपीएनले तपाईंको संवेदनशील डेटा चोरी गर्नसक्छन् ! ...

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

Ncell Footer Ad