coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सर्वसाधारणलाई आजबाट नयाँ नोट

काठमाडौं- केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ। नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ।

जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टको व्यवस्था गरिएको छ। यसैगरी, तोक आदेश लिएर नयाँ नोट साट्न आउनेलाई पनि छुट्टै काउन्टर राखिएको छ। सर्वसाधारणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए।

विभागले लाइन बसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्ने छ। 'सर्वसाधारणलाई सहज होस भनेर कुपन वितरण गर्न लागेका हौं,' कँडेलले भने, 'प्रतिव्यक्ति ३७ हजारका नयाँ नोट वितरण गर्दैछौं।'

अघिल्लो सालभन्दा यसपालि सर्वसाधारणलाई बढी नयाँ नोट वितरण गर्न लागेको उनले जानकारी दिए। 'एकजना लाइनमा बसेर नयाँ नोट लगेपछि छरछिमेकीलाई पनि पुगोस भन्ने उद्देश्यले बढी वितरण गरेका हौं,' कँडेलले भने, 'गत वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म साट्न दिइएको थियो।'

केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई भने २ अर्बका नयाँ नोट दिइसकेको छ। असोज ९ गतेदेखि ३ दिनसम्म वाणिज्य बैंकलाई, १–१ दिन विकास बैंक र वित्त कम्पनीलाई र १ दिन केन्द्रीय कार्यालय उपत्यका बाहिर भएका तर शाखा कार्यालय उपत्याकाभित्र भएका तथा छुटफुटलाई वितरण गरेको थियो। सर्वसाधारणले ती संस्थाबाट पनि नयाँ नोट साट्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थालाई गत वर्षभन्दा २० प्रतिशत बढी नयाँ नोट दिइएको पनि कँडेलले जानकारी दिए। 'ठूला वाणिज्य बैंकलाई ८ करोडसम्म दिएका छौ,' उनले भने, 'गत वर्ष ६ करोडसम्म दिएका थियौं।'

यसपालिको दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण हुने अनुमान राष्ट्र बैंकले गरेको छ। गत वर्ष दसैंका बेला ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो।

केन्द्रीय बैंकले उपत्यकाबाहिर पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ। 'उपत्यकाबाहिर भने प्रतिव्यक्ति कति रुपैयाँसम्म साट्ने भन्ने कुरा सम्बन्धित कार्यालयले नै निर्णय गर्नेछन्,' कँडेलले भने।

'एक व्यक्तिले ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउने गरी वितरण व्यवस्था मिलाउन लागिएको छ,' उनले भने, 'सेना, प्रहरी, निजामति कर्मचारी, राष्ट्र बैंकका कर्मचारीले भने विभागबाट सामूहिक सिफारिससहित आएर प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन्।'

दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट बढी प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ। पछिल्लो समय खाद्यान्न, लताकपडा र यातायात खर्च बढेसँगै साना दरका नोटभन्दा मध्यम खालका नोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन्। टीका लगाएर ५ र १० को एउटा नोट दिन नसुहाउने समय आएको उनीहरुको भनाइ छ।

मूल्यवृद्धिको चाप दसैंको दक्षिणामा परेको पनि विज्ञ बताउँछन्। 'निधारको मूल्य पनि बढेको छ,' एकजना विज्ञले ठट्यौली पारामा भने, 'मूल्यवृद्धिको मार नुनदेखि सुनसम्ममा परेको छ।'

दसैंमा नयाँ नोटको दक्षिणा आदानप्रदान, शीरदेखि पाउसम्म नयाँ लुगा लगाउने, नयाँ सामान किन्ने र नयाँ घर सर्ने प्रचलन छ।

प्रकाशित: १६ आश्विन २०७३ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App