अनुभूति

भ्वाङ फेसन !

शनिबार, २१ पुष २०७५, १० : ४३ माधव सयपत्री

2561


‘चिन्ताले चितामा पुर्‍याउँछ।’ धेरैले यसो भन्छन्। हुन पनि यस्तै हुँदो रहेछ। तनको रोगले भन्दा मनको रोगले छिट्टै गलाउँछ। मनका यस्तै रोगीहरू मात्रै चेकजाँचका लागि अस्पतालको त्यो कोठामा जान्छन्। देख्छु– कोही एकोहोरो भएर झुङिबसेका। कोही बेन्चमै लडेका। कोही बर्बराइरहेका। तिनको असामान्य व्यवहारले मलाई १८ वर्षअघिको आफ्नै अवस्था सम्झना गराउँछ। तनावरूपी रोगको लहरोमा तानिँदै तानिँदै म पनि त्यहाँ गइरहेको छु। जानै परिरहेको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको साइकियाट्री ओपिडी कोठा मेरा लागि आफ्नै कोठाजस्तै लाग्न थालेको छ। म नियमितजस्तै त्यहाँ जान लागेको १८ वर्ष नाघेको छ। डाक्टर विद्यादेव शर्मा पनि आफन्तजस्तै लाग्छन्। मलाई देख्नेबिसित्तकै आफ्नै भाइभतिजलाईझै गरी सोध्छन्, ‘के छ तिम्रो खबर ?’ उनको त्यो ‘तिमी’ मा आत्मीयता पाउँछु। आफ्नोपन भेट्छु। सुरुमा मलाई उनको खस्रो बोलीले झोक नचलेको होइन। लामो समयसम्म र पटकपटकको भेटघाटले मलाई ‘तिमी’ खस्रो हैन, नरम लाग्न थालेको छ।

ग्रन्चिङ पाइन्टको अवलोकनकर्ता भएर उभिएको छु म। मेरी बास्सै ! भ्वाङ पनि कस्ताकस्ता ! ठूला, साना, ठाडा, तेर्सा, बांगा, घुमाउरा। आइटम आइटमका। हैन, छँदाखाँदाका जिन्स पाइन्टमा किन प्वाल पारेको होला !

विसं ०७५ को सुरु महिनाको सुरु हप्तामै म त्यहाँ पुगेको छु। म टोकन लिन्छु। टिकट साढे ८ नभई नदिने भएकाले अल्मलिने ठाउँ भेट्दिनँ। अगिपछिझै म पुरानो साथीकोमा जान्छु। उदराग्निको रापताप शान्त पार्न परिगो। मलाई भातको पिरलो छ। साथीको घरनजिकै हुनाले पनि सजिलो भएको छ मलाई।  

साथीको नाम पुष्कर श्रेष्ठ हो। ऊ अहिले ‘दि एसिया फाउन्डेसन’ बालुवाटारमा काम गर्छ। उसले र मैले कक्षा ६ देखि नै सँगै पढेका थियौँ। मलाई ऊ ‘बाजे’ सम्बोधन गथ्र्यो। अहिले पनि त्यसै भन्छ। उसको ‘बाजे’ पनि मलाई ज्यादै प्यारो लाग्छ। ऊ मेरो नामले सम्बोधन गर्दैन।

पुष्करकोमा पुग्छु। बाहिरबाट ढोका हान्छु। बोलाउँछु। अहँ, कोही बोल्दैनन्। मोबाइलमा भएको उसको पुरानो नम्बर डायल गर्छु। विनम्रतापूर्वक जनाना स्वर बोल्छ– तपाईंले डायल गर्नुभएको नम्बर स्विच अफ गरिएको छ। मन तुलबुल हुन्छ। भेट्न गएका बखत आफ्नो मित्रसँग भेट नहुँदा लाग्ने दुःखका अतिरिक्त मलाई ‘चारो’को पनि चिन्ता लाग्न थाल्छ।  ‘कता टिप्ने होला चारो ! ऊ भए मेरो मर्का बुझ्थ्यो। आज भातेले भात खान नपाउने भयो !’ म मनसँगै कुरा गर्छु।

उसैको घरको सटरको होटेलवालालाई सोध्छु, ‘पुष्करजी कता हुनुहुन्छ ? नम्बर चेन्ज गर्नुभएछ क्यारे ! बोलाइदिनुस् न।’ होटेलवाला भन्छ, ‘घरवेटी त नयाँ घरमा सरेका छन्। निकै टाढा छ रे नयाँ घर। यहाँ कोही बस्दैनन्। सधैँ यतै आएर अफिस जान्थे। यतैबाट आउँछन् होला। ९ बजेतिर आउनुस् न है !’ अर्को नम्बर माग्छु। डायल गर्छु। अर्कैले उठाउँछ। भन्छ, ‘म पुष्कर सुष्कर हैन। नम्बर चिनेर फोन गर्नुपर्दैन ?’ उल्टो मलाई हकार्छ– नयाँ नम्बरवाला। होटेलवालासँग फेरि अर्को नम्बर माग्ने लन्ठा गर्दिनँ।

म राष्ट्रपति भवनको ठिक सामुन्नेमा बालसखा पुष्कर श्रेष्ठको घरअगाडि सडकपेटीमा उभिएको छु। ७ पनि बजेको छैन। अस्पतालमा टिकट बाँड्ने समय आउन निकै बाँकी छ। प्रातकालीन सूर्यको रमरम किरणले राष्ट्रपति भवन चमचम चम्केको देख्छु। चिल्ला कारहरू अत्याधुनिक गेटबाट गमन–बहिर्गमन भइरहेका छन्। ‘यो चम्किलो भवनमा विराजमान गराउन आन्दोलन गर्ने जनताका अनुहारमाचैँ यस्तो चमक कहिले आउला हँ ? तिनले कहिले गतिलो एउटा घरमा बस्न पाउलान् ?’ मनले आफैसँग प्रश्न गर्छ। केही समययता ‘राष्ट्रपतिहरू’ को सवारीयात्रा र जीवनशैलीका बारेमा सार्वजनिक भएका तल्लोस्तरका टिप्पणी सम्झन्छु। मनलाई बलात् आफैमा केन्द्रित गर्छु। देशको सर्वोच्च, संवैधानिक र आलंकारिक संस्था फेसबुके टिप्पणीको विषय बन्नु नहुने हो।

घडी हेर्छु– टिकट दिने समय अझै एकघण्टै बाँकी छ। ‘कता जाने हो ? भात कता खाने होला ? भाते मोरालाई भातेचिन्ताले नछोड्ने भो नि !’ काठमाडौँमा भातेचिन्ताले मलाई, गाउँमा मकै चोर्न आएका बाँदरलाई रुँङालुले लखेटेजसरी लखेटेको छ, पटकपटक। अहिले पो काठमाडौँका कुनाकुनामा आफन्त छन्। कसै न कसैको दैलामा ढुक्न गयो भने एक छाक भात दिइहाल्छन्। फोनमा ‘म आउँदैछु’ भनेर जाँदा झनै सजिलो।

‘हे दुर्मति काठमाण्डू ! तैँले भोको र अघाएको मान्छे चिन्दैनस्। तँलाई थाह छ ? मैले दिनको दई मुठी फुको चिउरा मुक्याएर १५ दिन भुत्क्याएको छु, तेरो बनिबनाउ बस्तीमा। त्यसैले त तँलाई कवि/लेखकहरू व्यङ्ग्य गर्छन्। ‘काठमाडौं एउटा ग्यालीप्रुफ’, ‘काठमाडौंले अब एक्लैले काठमाडौँ धान्न सक्दैन’, ‘काठमाडौंलाई कोर्रा’ आदि इत्यादि लेखेर।’

यही घर हो, यसैको कुनै कोठामा म पुष्करलाई गणितका गाह्रागाह्रा सूत्र कण्ठ गर्न र समस्या हल गर्न सिकाइरहेको हुन्थेँ। टेस्टमा ऊ गणितमा फेलै भएको थियो। उसलाई मैले जसरी पनि पास गराउनु थियो। घरको धन्दा सकेर म साइकलमा ९ बजेतिर भैरवनाथ अगाडिको बसबिसौनी हुँदै आइपुग्थेँ पुष्करकोमा। एक घण्टा पढाएर जान्थेँ। ऊ दोस्रो चोटिमा एसएलसी पास पनि भयो।  

म अस्पताल पुग्छु। टिकट निल्छु। कोठा नम्बर– ६,  ओपिडिमा लाइन लाग्छु। पालो आउँछ। भित्र पस्छु। डाक्टर शर्मा मलाई देख्नेबित्तिकै मुसुक्क हाँस्छन्। गहिरो गरी मेरो अनुहार पढ्छन् मात्रै। भन्छन्, ‘तिमीमा राम्रो सुधार भएको छ। औषधिको मात्रा कम गर्दै लग।’

म सोध्छु, ‘औषधि छोड्न मिल्दैन डाक्टरसा’ब ?’ उनी भन्छन्, ‘चटक्कै औषधि छाड्न मिल्दैन। मात्रा कम गर्दै लैजान सकिन्छ।’ उनी १८ वर्ष पुरानो मेरो बिरामी पूर्जामा औषधिको नाम धस्काइदिन्छन्। र, आफ्नो सही ठोकिदिन्छन्। एकातिर साइडमा लेखिदिन्छन्, ‘छ महिनामा भेट्ने।’

म अपडेटेट पूर्जा आफूतिर तान्छु। बिदा माग्छु र बाहिरिन्छु। ‘अब छ महिनालाई ढुक्कै भयो। औषधि पसलले सजिलै औषधि दिन्छ।’ आफैसँग कुरा गर्दै मूल सडकमा आइपुग्छु। अफिस समय भएको छ। त्यसैले सडक सवारीसाधनले आप्तव्याप्त छ। बाटो काट्नै महाभारत। बल्लबल्ल पारि जान्छु। हतारिँदै अगि बढ्छु। भैरवनाथ अगाडिको बस बिसौनीमा पुगेर उभिन्छु। यस बिसौनीसँग मेरो पुरानो प्रेम छ। गुनासो छ। आक्रोश पनि छ।

म साझा बस पर्खिरहेको छु। मलाई साझाकै बस चढ्न मन छ। उहिल्यै म यहीं बिसौनीबाट साझाको नीलो बस चढेर असनमा किनमेल गर्न जान्थेँ, मालिक मालिक्नीको मर्जीअनुसार। लिस्ट दिएपछि साहुले यामानको धोक्रोमा टन्नै सामान कोचिदिन्थ्यो। साझामै चढेर फर्कँन्थेँ। बन्द भएको साझाको नीलो बस अहिले हरियो रंगको भएर आएको छ। एकदमै मनपर्छ– साझा यातायात। राज्य बलियो भएको र जनताको अभिभावकत्व लिएको हेर्ने मन कसलाई नहोला र !

म चोकको साइडमै उभिरहेको छु। पर...ग्रन्चिङ पाइन्टवाला युवाहरू देख्छु। ती नजिकिँदै जाँदा मेरा आँखा पनि तिनका पाइन्टमा परेका/पारिएका भ्वाङमा गाडिँदै जान्छन्। अघिपछि यति गहिरिएर पाइन्टको ग्रन्च हेरेको रहेनछु। ग्रन्चिङ पाइन्टको अवलोकनकर्ता भएर उभिएको छु म। मेरी बास्सै ! भ्वाङ पनि कस्ताकस्ता ! ठूला, साना, ठाडा, तेर्सा, बांगा, घुमाउरा। आइटम आइटमका। हैन, छँदाखाँदाका जिन्स पाइन्टमा किन प्वाल पारेको होला !

दुई जना युवती छेवैमा देख्छु। अझै ठूला भ्वाङ ! अहो ! त्योभन्दा ठूलो भ्वाङचाहिँ पाइन्टमा बनाउन मिल्दैन होला। पाइन्टको आधाउधी भागमा भ्वाङ ! हैट, यो भ्वाङ संस्कृतिले हाम्रो भलो गर्ला ! पाइन्टका प्वाल र भ्वाङ हेर्दाहेर्दै म बाल्यकालको सुदूर स्मृतिको भ्वाङमा पुग्छु।

म ११ जतिको छु। हजुरआमा मलाई ‘तिरो बुझाउन जा’ भनेर करकर गरिरहनुभएको छ। म जान मानिरहेको छुइनँ। तिरो बुझ्न माथि प्रधानपञ्चको घरमा डोर आएर बसेका छन् रे। आधा घण्टा जति उकालो जानुपर्छ। मलाई हिँड्न गाह्रो लागेको हुँदै होइन। जान मन नलागेको हुँदै होइन। के हो त ? के हो भने–मेरो एकमात्र सुरुवालको दुवै घुँडामा भ्वाङ परेको छ।

प्वाल परेको सुरुवाल भिरेर म बबुरो बालख ‘शक्तिवान’ प्रधानपञ्चको आँगनमा कसरी टेक्न जानु ! (हुन त मेरो सुरुवाललाई कसले वास्ता गथ्र्यो होला र !) तर, मेरो बालमन पानीबाट झिकेर पाखामा पछारेको माछाको हालतमा पुगेको छ। कसरी छोप्नु, सुरुवालमा परेको प्वाल ? सबै थोक ढाक्न सकिन्छ, लाज ढाक्न सकिँदैन रैछ। धत्, प्वाल सुरुवालमा परेको हो कि मेरो मनमा ? अँहँ, म सुरुवालमा प्वाल देखाएर पर्धानकोमा जान तयार भइनँ।

हजुरआमाले परिवार सत्ताको प्रयोग मजैले गर्नुभयो। ‘जा, तँ नगए को जान्छ ? भैँसी दुहुन्छस् त ? घरको सबै धन्दा गर तँ। म आपैmँ जान्छु।’ घुर्की मैले लगाउनु पर्नेमा हजुरआमाले लगाउनुभयो। मैले भनेँ, ‘(हजुर) आमा, मेरो सुरुवाल फाटेको छ, कसरी जानु म ! मान्छेले खिसी गरिहाल्छन् नि !’

हजुरआमाले भन्नुभयो, ‘केटाकेटीलाई कसले खिसी गर्छ ? खै देखा त। कति फाटेको छ ?’ मैले सुरुवालको प्वाल देखाएँ। हजुरआमालाई थाह थियो– मेरो अर्को सुरुवाल, पाइन्ट वा कट्टु केही पनि छैन। भन्नुभयो, ‘घुँडा तुनेर जा। खोपामा सियो धागोे छ।’

म सुरुवालको घुँडाको प्वाल तुन्न थालेँ। यता तुन्छु, उता डोरा सर्छ। उता तुन्छु, यता डोरा सर्छ। डोरा सर्दैसर्दै सुरुवालको प्वाल ठूलो ठूलो भ्वाङ हुँदै गयो। वर्षदिनसम्म एउटै सुरुवाल लगाउँदा दाइँमा गोरुले माडेको परालजस्तो भएको छ त्यो। गोरुले पराल माडेपछि सानो लठ्ठीले सार्दा पनि छुटिन्छ नि !

जराजीर्ण सुरुवालले गतिमति छाड्यो। रिसले आँखा देखिनँ। ध्वार्रध्वार्र च्यातेर जुठेल्नातिर हुत्याइदिन मन लागेको थियो। फाल्न सकिनँ। अनि मैले सुरुवाल तुन्न पनि सकिनँ। सुरुवालले तुनिन मानेन। हजुरआमालाई देखाएँ। भनेँ, ‘झन् ठूलो प्वाल परो आमा !’ हजुरआमाले भन्नुभयो, ‘ढंग मरु, कसो गरु !’ तुनेर त प्वाल टाल्नै नसक्ने थियो। हजुरआमाले फेरि भन्नुभयो, ‘कमेजको गोजी च्यात्।’ मैले कमेजको कम्मरतिरका दुवै साइडका गोजी च्यातेँ। सीप भनेको सीपै हो नि ! हजुरआमाले गोजीका टुक्रा टाँसेर एकैछिनमा घुँडा टालिदिनुभयो। प्वाल त पुरियो तर टालेको प्रष्टै देखिने भइहाल्यो। तिरो तिर्ने पैसा र पुराना रसिद कमेजको अगाडिको खल्तीमा हालिदिनुभयो। ‘हराउलास् है !’ हजुरआमाले सचेत गराउनुभयो।

म तिरो तिर्न पर्धानको घरतिर उकालो लागेँ। टालेको सुरुवाल कमेजको फेरले छोप्न खोज्थेँ। तर, त्यो रबरको थिएन, तन्कँदैनथ्यो। मनभरि टालेको सुरुवाल खेलाउँदै म पर्धानको आँगन टेक्न पुगेँ। आँगनमा खचाखच मानिस थिए। कोही चिनेका थिए। कोही कहिल्यै नदेखेका। डोरले नाम बोलाएपछि मात्रै तिरो तिर्न जान पाइने रहेछ। गुन्द्रीमा बसेको डोरको अगाडि मैले पुरानो रसिद राखिदिएँ। पर्खालमा बसेँ। म कमेजको फेरले टालेको घुँडो छोप्न खोज्दै थिएँ। तन्काएर छोप्छु, सरिहाल्छ। अरूले देखे देखेनन्, हेरे हेरेनन्। तर, सबैले मेरै सुरुवालमा आँखा गाडीगाडी हेरेभैmँ लाग्यो।

मेरो पालो आयो। डोरले रसिद तानेर उसको ढड्डामा भिडायो। उसले भन्यो, ‘पैसा झिक।’ मैले पैसा झिकेँ। तिरो तिरेर हतारहतार तलतिर खँदारिएँ। घुँडा टालेको सुरुवालमा टाँस्सिएको मेरो मन बल्ल घुँडाबाट आफ्नो ठाउँमा आयो।

परबाट साझाको हरियो बस आयो। भ्वाङ टालेको सुरुवाल पनि मनबाट पर सर्‍यो। वरपर आँखा छरिए। हतारिएर फुटपाथमा मानिस कुदिरहेका थिए। झन् ठुल्ठूला प्वाल र भ्वाङ देख्न थालेँ। हैन, मानिस ‘भ्वाङ फेसन’ मा पो पुगिसकेछ ! त्यो बेला यसरी ‘भ्वाङ फेसन’ चलेको भए म गर्वसाथ सुरुवालको घुँडाका भ्वाङ अभैm ठूलाठूला बनाएर पर्धानकोमा जान्थेँ हुँला। कमेजको फेर तन्काई तन्काई घुँडा छोप्नु पर्दैनथ्यो होला। भ्वाङ फेसन ढिलोे आएको हो कि म छिटो जन्मेको हुँ ! भ्वाङ फेसनको जय होस् !








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...