८ वैशाख २०८१ शनिबार
अन्य

बालकथा : निलिमाको नयाँ स्कुल

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा ६ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो।  आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो।

नयाँ स्कुलमा पिङ थियो। स्विमिङ्ग पुल थियो। चिप्लेटी खेल्ने ठाउँ थियो। सुन्दर बगैँचा थियो। खेल्नका लागि प्रशस्त साम्रगी थिए। सिँगारपटार पारिएको कक्षा थियो। सरमिसले इन्टरनेटबाट खोजीखोजी, प्रोजेक्टरबाट देखाईदेखाई सिकाउनुहुन्थ्यो। नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा पढाइ हुन्थ्यो। अझ ‘इङ्लिस स्पिकिङ्ग जोन’ मा अङ्ग्रेजी मात्रै बोल्न पाइन्थ्यो।

निलिमाका मिजासिला साथीहरू थिए। माया गर्ने सरमिसहरू हुनुहुन्थ्यो। तर खै के थिएन, के थिएन ! निलिमाको मन स्कुलमा रमाउन सकेको थिएन। गाउँमा साथीसँग खुलेर बोल्थिन्। स्कुलमै अनुशासित र फरासिली विद्यार्थी भनेर उनलाई स्कुलले पुरस्कार समेत दिएको थियो। भर्ना भएको ६ महिनासम्म पनि निलिमा सहरको स्कुलमा रत्तिइन सकिनन्। उनी कसैसँग पनि खुलेर बोल्न सकिनन्।

निलिमाको स्कुलमा स्कुल स्थापना दिवस मनाउने तयारी भइरहेको थियो। साथीहरू नृत्य, गायन, कविता वाचन, वाद्यवादनमा अभ्यास गरिरहेका थिए। आफ्नो कला र सिप देखाउन सबै साथी हौसिएका थिए। निलिमाले कुनै पनि कार्यक्रममा भाग लिइनन्। तृप्तिले सोधिन्, ‘निलिमा, तिमीले किन भाग नलिएको ? आफ्नो क्षमता देखाउने मौका आइरहँदैन। तिमीले केही न केहीमा भाग लिनैपर्छ।’ निलिमाले भनिन्, ‘मलाई केही आउँदैन। लाज लाग्छ। तिमीहरूले देखाएको हेर्छु नि !’ हेमाले थपिन्, ‘तिमी झन् गाउँबाट आएकी। गाउँकै ठेट भाकामा गीत गाइदेऊ न। कति रमाइलो मान्छन् ! पुरस्कार पनि पाउन सक्छ्यौ।’

साथीहरूको जिद्दी निलिमालाई मन परेको थिएन। उनले भनिन्, ‘मलाई केहीमा पनि पुरस्कार लिनुछैन। तिमीहरू राम्रो गर्नु, पुरस्कार लिनु। म बाहिर बसेर ताली पड्काउँछु नि !’ (विद्यालयमा नेपालीमा कुरा गर्न नपाइने भएकोले उनीहरूले बिस्तारै कुराकानी गरेका गिए।)

विद्यालयको वार्षिक उत्सवको दिन सबैलाई दुईघण्टा छिटो स्कुल बोलाइएको थियो। निलिमालाई स्कुल जान मन लागेन। बाबाआमालाई पनि निम्तो थियो। आमाले सोध्नुभयो, ‘निलिमा, आज तिम्रो स्कुलको वार्षिक उत्सव होइन ? तिमी किन नगएकी ? हामीलाई त नौ बजे नै बोलाइएको छ।’ निलिमाले भनिन्, ‘आमा मलाई टाउको दुखिराछ। म स्कुल जान्न, कक्षा शिक्षकलाई भनिदिनु है !’ बाबाले भन्नुभयो, ‘बाटोमा मेडिकल छ, त्यहाँ जाँचेर औषधि खाने अनि स्कुल जाने। तिमी नगए हामी पनि जाँदैनौँ नि !’

टाउको दुखाइ त स्कुल नजाने बहाना मात्रै थियो। निलिमालाई स्कुल नगई सुख्खै भएन। बाबाआमासँगै निलिमा स्कुल गइन्। स्कुल पुग्दा सबै साथी आइसकेका थिए। रजनीले सोधिन्, ‘निलिमा, तिमी किन ढिलो आएकी ? झन् केहीमा न भाग लिनुपर्छ भनेको, तिमीले टेर्दै टेरिनौ। तिमीले भाग नलिँदा हामीलाई खल्लो लागेको छ। दुई लाइन गीत मात्रै गाए पनि हुन्छ। कविता भने पनि हुन्छ। हामी तिम्रो नाम लेखाइदिन्छौँ है !’ निलिमाले भनिन्, ‘पर्दैन पर्दैन। मलाई केहीमा पनि भाग लिन मन छैन।’

राजु सरसँग बाबाआमाको भेट गेटैमा भयो। उहाँ निलिमाको कक्षा शिक्षक पनि हुनुहुन्थ्यो। राजु सरले बाबाआमासँग गुनासो गरिहाल्नुभयो, ‘केही काममा पनि निलिमाको जाँगर छैन। राम्रोसित कुरा पनि गर्दिनन्। स्कुलको आजको कार्यक्रममा पनि भाग लिएकी छैनन् क्यारे !’ राजु सरको कुराले निलिमालाई बेस्सरी घोच्यो। बाबाले भन्नुभयो, ‘मैले त भाग लिन भनेको थिएँ।’

बाबाले निलिमालाई त्यही बोलाउनुभयो। अलि झर्केर भन्नुभयो, ‘अवसर आउँदा पनि तिमी केही गर्दिनौ भने यति राम्रो स्कुलमा भर्ना गरेको के काम लाग्यो ? सरले भनेको खुरुक्क मान।’ निलिमाको मनमा अर्कै अर्कै कुरा खेल्न थाल्यो– ‘राम्रो स्कुल ! कसरी राम्रो ? राम्रो भए म किन रमाउन सकिनँ ! योभन्दा त गाउँकै स्कुल राम्रो। त्यहाँ म रमाउँथे। मेरो मन रमाउँथ्यो। मन नरमाउने स्कुल के राम्रो !’

निलिमा बोलिनन्। घोसेमुन्टो लगाएर बसिरहिन्। साथीहरू आए। निलिमालाई तान्न लागे। उनी साथीसँगै भिडतिर गइन्। साथीले अत्यन्तै कर गरेपछि निलिमाले कक्षाको तर्फबाट ‘दुई शब्द’ राख्ने भइन्। कार्यक्रमस्थल भव्यसित सिँगारिएको थियो। नाच्ने–गाउने स्टेजको सजावटले मनै तान्थ्यो। त्यो भव्यता र सजावटले निलिमालाई तान्न सकेको थिएन। किन तान्न सकेन, निलिमाले कसैलाई भनेकी थिइनन्।

कार्यक्रम सुरु भयो। कार्यक्रम सञ्चालक राजु सर हुनुहुँदो रहेछ। शिक्षा मन्त्री प्रमुख अतिथि रहेछन्। स्कुल अध्यक्ष कार्यक्रमका अध्यक्ष थिए। प्रिन्सिपल सरले स्वागत मन्तव्य राख्दै भन्नुभयो, ‘त्यागी अभिभावक र मेहनती विद्यार्थीको कारणले हाम्रो स्कुलले यो प्रगति गरेको हो। अङ्ग्रजी भाषा माध्यमको पढाइले राम्रा भनिएका स्कुललाई पनि उछिन्दै छौ। भर्ना दर ह्वात्तै बढेको छ। यसरी नै यहाँहरूले सहयोग र समर्थन गर्नुभयो भने हाम्रो स्कुल सहरमै एक नम्बरको हुनेछ।.........।’ पटटअ.... ताली बज्यो। अँहँ, निलिमाले ताली बजाइनन्। उनलाई प्रिन्सिपल सरका कुरा मन परेन।  

साथीहरूले नृत्य देखाए। कतिले कविता वाचन गरे। राजु सरले निलिमालाई बोलाइहाल्नुभयो। ताली बज्यो। निलिमा मञ्चमा गइन्। उनले सबैलाई सम्बोधन गरिन्। अनि भनिन्, ‘हाम्रो स्कुल राम्रो छ। पढाइ पनि राम्रो छ। सरमिस असल हुनुहुन्छ। साथीहरू असल छन्। तर...तर मलाई एउटा कुरा मन पर्दैन। यहाँ मैले मेरो भाषा बोल्न पाउँदिन। ‘इङ्लिस स्पिकिङ्ग जोन’ भित्र अरू भाषामा कुरा गर्‍यो भने विद्यार्थीले जरिवाना तिर्नुपर्छ। अब त्यसो हैन, अङ्ग्रजी विषयको कक्षामा मात्र अङ्ग्रेजी बोलौँ। अर्काको भाषा नखोसौँ। स्कुलले मेरो भाषा खोस्दा मलाई मेरी आमा खोसेजस्तै लाग्छ। आफ्नो भाषामा कुरा गर्दा मनको कुरा भन्न सकिन्छ। अर्काको भाषामा सकिँदैन। सक्नुहुन्छ भने, मलाई मेरो मातृभाषा नेपालीमा बोल्न दिनुस्। तामाङलाई तामाङसँग तामाङ भाषामा कुरा गर्न दिनुस्। नेवारलाई नेवारीमा। तराईका साथीले मैथिली, भोजपुरी, अवधी, थारु वा आफ्नो भाषामा कुरा गरुन्। अनि हामी सबैलाई हाम्रो स्कुल राम्रो लाग्छ। स्कुलको माया लाग्छ। हाम्रो स्कुल फूलबारीजस्तै हुन्छ।’

उनी मञ्चबाट बिदा भइन्। एक मिनेटसम्म ताली बजिरह्यो। निलिमाका कुरा सुनेर सबैजना अचम्ममा परे। मन्त्रीज्यूले जिब्रो झिके। अध्यक्ष दङ्गै परे। निलिमा बेखुसी हुनुको कारण बाबाआमाले बुझ्नुभयो। उनी स्कुलमा नरत्तिएको कारण साथीहरूले थाह पाए। निलिमालाई साथीहरूले बधाई दिए। दिप्तिले भनिन्, ‘निलिमा, तिमीले हामी सबैको मनको कुरा राख्यौ, धन्यवाद है !’ निलिमाको अनुहार उज्ज्यालो भएर आयो।

प्रकाशित: २१ पुस २०७५ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App