coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अाजै घुमाैंँ भीमढुंगा

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्।    चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।  

हामी त्यहाँ पुग्दा घरभेटीबाले नमस्कार गर्नु भयो। र, केही बेरमै ढिँडो, हरियोग साग र अचार राखेर खुवाउनु भयो। धेरै स्वादिलो ! कलिलो सागसँग ढिँडोको स्वाद नै बेग्लै। ढिँडोलाई सस्तो खानाका रुपमा लिइन्छ तर मकै, ढिँडो, च्याँख्ला, गहुँ, फापर, कोदो आदिमा शरीरका लागि चाहिने रेशा, छोक्राबोक्रा प्रशस्त मात्रामा पाइन्छ। यस्ता खानाले कब्जियत हुन दिँदैन र पेट सफा राख्न सहयोग गर्छ।

प्रकृतिप्रेमि समूहले हरेक महिनाको चौंथो शनिबार काठमाडौं वरपरका डाँडापाखामा पदयात्रा गर्दै आएको छ। हामीले हाम्रो १३८ औं पदयात्रा मार्ग रेकी गर्दा भीमढुंगा क्षेत्रको थाप्ले होमस्टेमा बसेर ढिंडो खायौं। हामी पदयात्रामा मिलेसम्म स्थानीय स्वास्थ्यबर्धक खाना खुवाउँछौं। यसले आन्तरिक पर्यटन विकासमा टेवा पुर्‍याउँछ। गाउँलेलाई आर्थिक रूपमा फाइदा पुग्छ।   भीमढुंगामा मिश्रित जातिको बसोबास छ। थाप्लेमा विशेषतः तामाङ जातिको बस्ती छ। गाउँको पूर्वमा इचंगु नारायण र रामकोट क्षेत्र पर्छन् भने पश्चिममा धादिङको छत्रे देउराली, उत्तरमा नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्ज र दक्षिणमा दहचोक, इन्द्रदह, रामकोट क्षेत्र पर्दछन्।

भीमढुंगा नाम कसरी रहन गयो भन्ने विषयमा भीमढुंगा पर्या–पर्यटन विकास समितिका अध्यक्ष श्यामबाबु कुँवरले हामीलाई एउटा किंवदन्ती सुनाउनु भयो। किंबदन्ती अनुसार उहिल्यै काठमाडौं जलमग्न हुँदा यहाँ पनि तलाउ थियो। त्यसबेला दोलखा भीमसेन र रामकोटका राजा दानासुरकी छोरी प्रभावतीसंग प्रेम चलेछ। दुई प्रेमी नागार्जुन जंगल र यसको फेदको सुन्दर तलाउमा जलविहार गर्दा भीमसेनको डुंगा यस ठाउँमा अड्कियो। भीमसेनको डुंगा अड्किएको स्थान हुनाले यस ठाउँको नाम भीमसेन डुंगा रहन गयो। समयसँगै अपभ्रंस हुँदै भीमढुंगा भन्न थालियो।   

भीमढुंगा काठमाडौंको सीतापाइला चोकबाट मात्र ५ किमि दुरीमा  नागार्जुनको छहारीमा बसेको सुन्दर भुगोल हो। चारैतिर हरिया डाँडा अनि खेतियोग्य जमिन। जाडोमा पहार ताप्न र गर्मिमा शितल  खान भीमढुँगा उपयुक्त छ। थाप्ले होमस्टेमा बस्ने गरी यात्रा योजना बनाउन सकिन्छ। गाउँ प्राकृतिक रुपले मात्र होइन, ऐतिहासिक रुपले पनि प्रख्यात छ। उहिले गोरखाबाट फूलपाती ल्याउँदा यही बाटो ल्याइन्थ्यो। यस ठाउँका सम्पदा र मन्दिर संरक्षण गरी प्रचार गर्न सके भीमढुंगा राम्रो पर्यटन धाम बन्न सक्छ। भीमढुंगा क्षेत्रका सम्पदाको यहाँ चर्चा गरिएको छ।  

भीमसेन मन्दिर
भीमसेन मन्दिर (१,५०० मिटर)मा भीमसेनको मूर्ति छ। नजिकै शिव लिंग र साँढेका मूर्ति पनि। त्यहाँ चिसो हावा चल्छ। त्यस क्षेत्रबाट चारैतिर सुन्दर दृश्य देखिन्छ। पुरै धादिङ र नुवाकोटका गाउँबस्ती दृष्यावलोकन गर्न सकिन्छ। मन्दिर नजिकै भीमढुंगा हिलस्टेसन रिसोर्ट पनि छ। पहिलापहिला विजया दशमीमा गोरखादेखि काठमाडौंको हनुमान ढोकासम्म ल्याउने फूलपाती धादिङको धुनिंबेसी हुँदै यही भीमढुंगाको बाटो भएर ल्याइन्थ्यो। त्यो चलन कायमै छ।
तिनताका यो काठमाडौं उपत्यका छिर्ने एउटा महत्वपूर्ण नाका थियो। भुइँचालोले भत्काएको भीमसेन मन्दिर पुननिर्माण गरिएको छ। मन्दिर  व्यवस्थित गर्नु पर्ने देखिन्छ।  

गुप्तेश्वर महादेव गुफा
जंगल बीचको भीरमा ठूलो चट्टान मुनि सानो प्वाल छ। गुफा माथि महेशनारायणको मन्दिर। धादिङ र भीमढुंगाको सिमानामा छ गुफा ( १,६०० मिटर)। निहुरिएर कौवाको चालमा हिँड्नुपर्छ गुफा भित्र। ओसिलो गुफा। अँध्यारो भएकाले टर्चलाइट लिएर मात्र गुफामा पस्नु पर्छ। गुफामा चमेरा बस्छन्।  

गुफाका कुनैकुनै भाग साँघुरा र अफ्ठेरा छन् त्यसैले शरीर मिलाएर छिर्नु पर्छ। प्रवेशद्वारबाट करिब २५ मिटरमा छन् शिव र पार्वतीका मूर्ति। ढुंगाका राताम्मे शिला, त्रिशुल अनि साना घण्ट।  गुफा करिव ५० मिटर लामो छ भने उचाई साँढे चार फिट छ। त्यहाँ हरिबोधनी एकादशीमा मेला लाग्छ। गाउँलेले यसको संरक्षण गरी बिजुली व्यवस्था गरी प्रचार गर्न सके पर्यटक चहलपहल गराउन सकिन्छ।

महेशनारायण मन्दिर
गुप्तेश्वर गुफा माथि महेशनारायण मन्दिर छ। ठूलो रुखमुनि चट्टाने  ओढारमा बसेका छन् नारायण। राता शिला, नजिकै घण्ट। यहा“ ठूलो एकादशीका दिन मेला लाग्छ। महेशनारायणको संरक्षण गरेर राम्रो प्रचार गर्नु पर्ने देखिन्छ।  
बाहुनडाँडा
महेशनारायण मन्दिर माथि ठूलो चौर छ। त्यो डाँडा धादिङ र  काठमाडौंको साँधमा पर्छ। उहिल्यै महेशनारायणका पूजारी यहाँ आएर बसेकाले यसको नाम बाहुनडाँडा भएको पर्यटनकर्मी कुँवर दाइले बताउनु भयो। चौरमा सयपत्री ढकमक्क फूलेका। मौसम खुलेका बेला यहाँबाट उत्तरतिर सेता हिमालका सर्लक्क देखिन्छन् भने पश्चिमतिर धादिङको र नुवाकोट देखिन्छ। त्यस्तै दक्षिणमा दहचोक इन्द्रदहको डाँडा र पूर्वमा काठमाडौं उपत्यका देखिन्छ।   हाइकिङ गर्दा चौरमा बसेर लन्च गर्न सकिन्छ। हिमालसँग आँखा झिम्क्याउँदै लन्च गर्दा मनमा आनन्द छाउँछ। भीमसेन मन्दिर बाहुने डाँडामा भ्यूटावर बनाउन सके काठमाडौंलाई नियाल्ने राम्रो गन्तब्यका रूपमा विकास हुन सक्छ। त्यहाँ पिकनिक स्पट समेत बनाउन सके हरेक हप्ता चहलपहल बढ्न सक्छ। बाहुनेडाँडाबाट एक घण्टा हिँडाइमा थाप्ले होमस्टेमा पुगिन्छ।

थाप्ले होमस्टे
नागार्जुन जंगलको एनडाँडा चेकपोष्ट नजिकै पर्छ होमस्टे। भीमढुंगा  पर्या–पर्यटन विकास समितिको पहलमा ०६७ फागुनदेखि गाउँमा होमस्टे सञ्चालन गरिएको थियो। तामाङ वस्ती थाप्लेबाट काठमाडौं, सूर्योदय र सूर्यास्त पनि दृष्यावलोकन गर्न सकिन्छ । राती काठमाडौंको झिलिमिलि सुन्दर देखिन्छ।

भीमढुंगामा एक रात बस्नु बेस हुन्छ। उचाइको बस्ती भएकाले काठमाडौंमा हपक्कै गर्मी बढ्दा पनि भीमढुंगा शितल हुन्छ। थाप्लेबाट भीमसेन मन्दिर हुँदै नर्संरी भञ्ज्याङसम्म पदयात्रा गर्न सकिन्छ।  

थप आकर्षण  
भीमढुंगामा ऐतिहासिक महत्वका थुप्रै सम्पदा छन् जस्तो कि गुर्जुपौवा र ठूलो धारा। खत्री गाउँ नजिकै गुर्जु पौवा छ। उहिले यो बाटोमा गोरखा दरबारबाट काठमाडौं फूलपाती ल्याइन्थ्यो। गुर्जुपौवामा धारा छ। फूलपाती ल्याउँदा आराम गर्ने ठाउँ गुर्जुहरुले बनाएका। त्यसैगरी मन्दिरहरुमा जल्पादेवी मन्दिर, लक्ष्मेश्वर महादेव मन्दिर, मंगलीदेवी मन्दिर, चुनदेवी, शक्तिबल्वेश्वर लगायत छन्।

प्राकृतिक सुन्दरताको धनी भीमढुंगा रमणीय र पर्यटकीय सम्भावना बोकेको ठाउँ। त्यहाँको जंगलमा बन्यजन्तु तथा चरा अध्ययन तथा अवलोकन गर्न सकिन्छ। गाउँको संस्कृति, प्राकृतिक सौन्दर्य र सम्पदाको संरक्षण गरेर प्रचार गरिनु पर्छ। यसका लागि भीमढुंगाबासी आफैं जागरूक बन्नु पर्छ। पर्यटनकर्मी कुँवर दाई नेतृत्वको समिति सक्रिय छ। उनीहरूको होस्टेमा सरोकारवाला निकाय सबैले हैंसे गर्नु पर्छ।

भीमढुंगामा हामीले मंसिर चौथो साता हाइकिङ गरेका थियौं। हाम्रो समूहमा १९० पदयात्री थियौं। हामीले बाहुनडाँडामा बसेर ३ बराबर स्वास्थ्यबर्धक आहार खायौं। र, केहीबेर अन्तरक्रिया गरेर फर्कियौं। भीमढुंगामा वर्षैभरि पदयात्रा गर्न सकिन्छ। त्यहाँबाट २ घण्टामै इन्द्रदह पुग्न सकिन्छ। दह नजिकै स्विजरल्याण्ड पार्क छ। भीमढुँगाबाट धादिङको पीपलामोड पदयात्रा पनि गर्न सकिन्छ। धादिङ र काठमाडौंको साँधमा छ पीपलामोड।
मौसम खुल्दा यात्रामा हिमाल हेर्दै हिँड्न सकिन्छ। उर्बरा फाँट, बाख्रा चराइरहेका गाउँले, साना खोला। गाउँले जीवनशैलीले मोहित बनाउँछ। अब भन्नुस् तपाइँ कहिले घुम्न जाने भीमढुंगा ?

हाइकिङ गन्तव्यहरू   
१) भीमढुंगाको भीमसेनस्थान, गुर्जुपौवा, फेदी, पाखुरे, चापे धुनिबेसी, धादिङ, क्षेत्रपाटी, पुरण डाँडा, जोइटी हुँदै नागढुंगासम्म पदयात्रा। दुरी १३ किमि।
२) भीमढुंगा, भज्याङ पोखरी हुँदै तीनपिप्लेसम्म पदयात्रा। दुरी १२ किमि।
३) रामकोट, दहचोक, इन्द्रदह, सतुंगल हुँदै थानकोटसम्म पदयात्रा। दुरी ११ किमि।
४) भीमढुंगा, नर्सरी भज्याङ, पातलेवन, नैकापसम्म पदयात्रा। दुरी १४ किमि।

कसरी पुग्नेः काठमाडौंको सीतापाइला चोकबाट भीमढुंगा  बसपार्कसम्म सार्वजनिक गाडी चल्छन्। बसपार्कबाट पदयात्रा सुरू। ठूलोधारा, दसेंडाँडा, भीरकोटे, थाप्ले हुँदै बाहुनेडाँडा र त्यहा“बाट महेशनारायण, दुधेश्वरी, भीमसेनस्थान हुँदै नर्सरी भन्ज्याङसम्म पदयात्रा। भीमढुंगा–भीरकोट– थाप्ले ४.५ किमि, थाप्ले–भीमसेनस्थान–नर्सरीभन्ज्याङ ६ किमि। जम्मा पदयात्रा दुरी १०.५ किमि। सीतापाइलाबाट दुई घन्टा हाइकिङमा गाउँमै पुगिन्छ। जम्मा हाइकिङ समय : ५ घन्टा।

जन। बोली
काजी लामा थाप्ले सामुदायिक होमस्टेका अध्यक्ष हुनुहुन्छ।  १२ बैशाखको भुइँचालोमा घरहरु भत्केपछि पुनः निर्माण गरी होमस्टे संचालनमा ल्याइएको छ। ‘१५ सय रुपैयाँको प्याकेजमा लन्च, डिनर, बेड र ब्रेकफास्ट सुविधा दिन्छौं’, काजी भन्नुहुन्छ, ‘हामी तामाङ संस्कृतिले स्वागत गर्छौं। हाम्रो गाउँमा आउनुस् है।’

रेखा बुढाथोकी भैंसेपाटीमा बस्नुहुन्छ। भीमढुंगाका उकाली ओरालीमा हिँड्दा रमाइलो लाग्यो उहाँलाई। ‘भीमसेन मन्दिर, बाहुनडाँडा निकै रमााइलो ठाउँ रहेछन्। हाइकिङमा सबैले लोकल साग किनेको देखेर मैले पनि किनें’, रेखाले भन्नुभयो, ‘थाप्ले होमस्टेमा बस्ने गरी परिवारसहित फेरी आउनेछु।’

सरिता शर्मा ललितपुरको सैंबुमा बस्नुहुन्छ। सधैं घरमा मात्रै बस्दा दिमाग एकहोरो हुन्छ। ‘त्यसैले महिनाको एकपटक मात्र भए पनि पदयात्रामा निस्कनु पर्छ। स्वच्छ हावामा हिँड्दा तनाव मुक्त भइन्छ’, सरिता भन्नुहुन्छ, ‘हिँड्दा शरीर बलियो पनि हुन्छ नयाँ साथी पनि बनाउन पाइन्छ।’  
 

प्रकाशित: २१ पुस २०७५ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App