१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रोगैरोगको चपेटामा काठमाडौंवासी

बाहिरबाट हेर्दा काठमाडौं सहर जति सुन्दर देखिन्छ, यसभित्रको जनजीवन भने त्यति नै कुरूप अर्थात् रोगग्रस्त छ। प्रदूषित वातावरण तथा गलत जीवनशैलीका कारण काठमाडौंवासी विभिन्न रोगका सिकार भइरहेका छन्।

युवा उमेरमै अनेक रोग लिएर आउँछन्। ४० कटेपछि देखिनुपर्ने रक्तचाप २५/३० वर्षमै, कोलेस्ट्रोल २२/२३ वर्षमै र मधुमेह ३२/३५ वर्षकै उमेरमा देखिन थालेका छन्। मोटोपनाको समस्या पनि भयावह छ।

उपत्यकावासी के–कस्ता रोगबाट पीडित भइरहेका छन् त ? यस विषयमा प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका फिजिसियन डा. धुव्र गैरेसँग गरेको यो सन्देशमूलक संवादः

कति वर्ष भयो चिकित्सा सेवामा लागेको ?  
चौध वर्ष बितिसकेको छ, त्यसमा सबैभन्दा बढी समय वीर अस्पतालमै बिताएँ।

चौध वर्षअघि र अहिले उपत्यकावासीको स्वास्थ्यमा कस्तो फरक पाउनुभएको छ ?
यहाँ नसर्ने रोगहरू बढेका छन्। खासगरी मधुमेह, उच्चरक्तचाप, क्यान्सर, भिटामिन डी कमी, कोलेस्ट्रोल, एलर्जी, श्वासप्रश्वास सम्बन्धी रोग बढेका छन्।

यहाँ नसर्ने रोग बढ्नाको कारण ?
खानेकुरा सबै रसायनयुक्त, प्रदूषित र कृत्रिम छन्। विषादी र रासायनिक मलको बढ्ता प्रयोग भएका तरकारी बजारमा छन्। अन्य खानेकुरामा पनि प्रशस्त औषधि तथा रसायन हालेर राख्ने चलन छ। बजारमा प्लास्टिकका चामल पनि बिक्री भइरहेका छन्। कुनै पनि खानेकुरा स्वच्छ र स्वस्थ छैनन्। कृषकले बढी उत्पादनका लागि रासायनिक मल र औषधि बढ्तै प्रयोग गर्ने गरेका छन्। सरकारले बजार अनुगमन गरेको छैन। यस्ता खानाले नसर्ने रोग बढाएका हुन्।

मोटोपना,मधुमेह र उच्च रक्तचाप बढ्नाको कारण नि ?
यी रोग बढ्नुमा खानेकुरा र हाम्रो जीवनशैलीकै मुख्य भूमिका छ। मोबाइल, टेलिभिजन हेरेर बस्ने, अलिकति पनि हिँड्न नखोज्ने। कार्बोहाइडे«ट र चिल्लोयुक्त खाना बढी खाने तर व्यायाम तथा शारीरिक श्रम पटक्कै नगर्नेजस्ता बानीले यी रोगले बढी गाँजेको हो।

उपत्यकाका मानिसमा भिटामिन डी किन कमी भयो त ?
घरभित्रै बस्ने, बिहानै कार्यालय जाने अनि एसीमा बस्ने। अनुहार कालो हुन्छ भनेर सनब्लक क्रिम लगाउने, घामले डढ्छ भनेर छाता ओढ्ने, घरले छेकेर घाम ताप्न नपाउने गर्दा शरीरमा घामबाट प्राप्त हुने भिटामिन डी पुग्न पाएन। भिटामिन ‘डी’ बिहानी घामको किरणमा पाइन्छ।

कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप के कारणले बढ्यो त ?
प्रशोधित तथा कार्बोहाइड्रेट र चिल्लोयुक्त खाना, जंकफुड बढी खाने। फलफूल, सागपात कम खाने चलन यहाँ बढ्दै गएको छ। जसका कारण यी रोग बढेका हुन्।

उसो भए कस्ता खानेकुरा खाने त ?
प्रशोधित खाना कम खाने। झलक्क हेर्दा राम्रो देखिएका तरकारी, फलफूल नखाने। सकेसम्म मौसमी तरकारी र फलफूल खाने। मासु कम खाने, सट्टामा  माछा खाने। जंकफुड, तेल बढी भएका खानेकुरा नखाने।

काठमाडौं उपत्यकामा बस्नेहरूलाई लाग्ने अन्य रोग के–कस्ता छन् त ?
कृत्रिम मोटोपनाको समस्या बढ्दो छ। बाहिरबाट आएका मानिसमा भन्दा  उपत्यकावासीमा ड्रग रेसिसटेन्स (औषधिले काम नगर्ने अवस्था) बढेको  छ। उदाहरणका लागि जुन एन्टिबायोटिकले बाहिरी जिल्लाका बिरामीलाई सजिलै काम गर्छ त्यही औषधिले उपत्यकावासीलाई छुँदैन।
उच्चरक्तचाप, कोलेस्ट्रोल, भिटामिन डी कमी समस्या पनि यहाँ अधिकतर मानिसलाई देखिन्छ। पुरुषलाई फोक्सो तथा कलेजोको क्यान्सर बढी देखिएको छ भने महिलालाई पाठेघर क्यान्सर।
यसबाहेक उपत्यकावासीमा न्युरो साइकेट्रिक डिसअर्डर (मनोवैज्ञानिक समस्या) पनि धेरै देखिन्छ। एन्जाइटी (डर), डिपे्रसन (चिन्ता), थकानजस्ता समस्या पनि यहाँ बढी छन्।

ड्रग रेसिसटेन्स हुनाको कारण ?
काठमाडौं उपत्यकाकोे क्षेत्रफल सानो भए पनि जनघनत्व धेरै छ। भीडभाड बढी छ। हावापानी प्रदूषित हावा पानी छ। जसरका कारण विभिन्न रोगका किटाणु उत्पन्न भएका छन्। त्यही किटाणु आपसमा सर्ने प्रक्रिया चलिरहेको छ। यस्तो संक्रमणमा सामान्य औषधिले काम गर्दैन।
ज्वरो आउँदा जुन औषधिले बाहिरी जिल्लाका बिरामीलाई काम गर्छ त्यसले उपत्यकावासीलाई गर्दैन थप एन्टिबायोटिक दिनुपर्ने हुन्छ। उपत्यकावासीमा रोग सहने क्षमता कम भएकाले पनि रेसिसटेन्स बढाएको हो। सामान्य रुघाखोकी लाग्नेबित्तिकै औषधि किनेर खाइहाल्ने बानी छ यहाँ। जुन रोग केही दिनमा आफैं निको भएर जान्छ त्यस्ता समस्यामा जथाभाबी औषधि खाने गर्दा ड्रग रेसिसटेन्स समस्या बढेर गएको छ।

भनेपछि उपत्यकावासीलाई सामान्य एन्टिबायोटिकले काम नगर्ने भइसक्यो ?
कसैलाई नगर्ने त होइन। तर धेरैजसोमा ड्रग रेसिसटेन्स भएको छ। उनीहरू जब बिरामी भएर अस्पताल आउँछन् तब परीक्षण गर्दा यो समस्या भएको पाउँछौ।

ड्रग रेसिसटेन्स हुँदा कस्ता लक्षण देखिन्छन् ?
ज्वरो आएर बिरामी भर्ना भएका हुन्छन्। तर जब सामान्य औषधिले काम गर्दैन तब हामी रगतको  कल्चर (विशेष परीक्षण) गर्छौं। रिपोर्ट हेर्दा धेरै प्यारामिटरमा रेसिसटेन्स देखिन्छ। चार/पाँचवटा औषधिबाहेक सबैमा रेसिसटेन्स देखिन्छ। यसको अर्थ के हो भने उपत्यकावासीमा जथाभाबी औषधी प्रयोग गर्ने चलन छ।

उपत्यकावासीमा किन मानसिक तथा मनोवैज्ञानिक समस्या बढेको होला ?
उपत्यकावासीमा जीवनशैलीमा आएको परिवर्तनको प्रभाव हो यो। यहाँको जीवनशैली तनावपूर्ण छ। जस्तो, अरूको देखासिकी गर्ने तथा विलासी जीवन जिउन चाहने। जुन पूरा गर्न संभव हुँदैन। साधारण स्कुलमा पढ्दा पनि हुनेमा अरूको देखासिकीले महँगै स्कुलमा पढ्ने÷पढाउने, महँगो मूल्यका मोबाइल, मोटरसाइकल नै चाहिने आदि महत्वाकांक्षा पूरा हुन नसक्दा मान्छेमा निराशा छाएको छ। जसका कारणमा यहाँका मानिसमा मनोवैज्ञानिक तथा मानसिक रोग देखिएका हुन्।

उपत्यकाका मानिसमा देखापर्ने सरुवा रोगहरू चाहिँ के–के हुन् त ?
क्षयरोग, जन्डिस, मौसमी फ्लु, टाइफाइडजस्ता सरुवा रोग यहाँ छन्। भीडभाड तथा घना बस्ती भएकाले उपत्यकामा क्षयरोगको संक्रमण बढी फैलिएको देखिन्छ। जस्तो, सुकुमवासी बस्ती, छात्रावास तथा कारखानामा क्षयरोग बढी देखिन्छ।

सरुवा रोग फैलिनाको कारण ?
खचाखच बस्ती तथा प्रदूषित वातावरणमा यस्ता रोग आपसमा सजिलै सर्छन्। मुख्य कुरा, साँघुरो ठाउँमा जनघनत्व बढी छ यहाँ।  प्रदूषण र पानी अभाव उस्तै छ। सबैले खानेपानी उमाल्दैनन्,  पानीको स्रोत नै फोहोर छन्। स्वस्थ भन्ने कुरा केही पनि भएन उपत्यकामा। हावा, पानी। यही कारण सरुवा रोग फैलिन्छ।

उपत्यकामा कम उमेरमै दम हुने, खोकी लागिरहने समस्या पनि छन् हो ?
व्यापक छ। हिँडेर आ’को हुँ, मलाई रुघाखोकीले समात्यो भन्ने धेरै छन्। ५० वर्षपछि हुनुपर्ने दम १२÷१५ वर्षकै उमेरमा देखिएका छन्। कतिपयमा फोक्सोको क्यान्सर पनि देखिएको छ।

उपत्यकावासी कुन अवस्थामा उपचारमा आउँछन् छ ?
युवा उमेरमै अनेक रोग लिएर आउँछन्।  ४० कटेपछि देखिनुपर्ने रक्तचाप २५/३० वर्षमै, कोलेस्ट्रोल २२÷२३ वर्षमै र मधुमेह ३२÷३५ वर्षकै उमेरमा देखिन थालेका छन्। मोटोपनाको समस्या पनि भयावह छ।

कोलेस्ट्रोल भएमा के हुन्छ ?
रगतका नली साँघुरिएर रक्तसञ्चारमा बाधा पुग्ने, बढी सुत्न मन लाग्ने, उमेर नपुग्दै हृदयाघात हुने हुन्छ। उमेर नपुग्दै उच्च रक्तचाप भएर मिर्गौला फेल हुने हुन्छ। यसका साथै युवा उमेरमै पक्षाघात भएर अस्पताल आउनेहरू पनि छन्।

त्यसो भए काठमाडौंका बासिन्दाले आफूलाई स्वस्थ राख्न के गर्नु आवश्यक छ ?
प्रदूषणबाट बच्ने, अनावश्यक अवस्थामा धुवाँमा नहिँड्ने, प्रशोधित खानाहरू नखाने, स्वच्छ पानी (उमालेर) प्रशस्त पिउने, गुलिया चिज कम खाने, मौसमी तरकारी तथा फलफूल खाने, बाहिर हिँड्दा अनिवार्य मास्क लगाउने, नियमित व्यायाम गर्ने गर्नु आवश्यक छ।

प्रकाशित: २१ पुस २०७५ ०२:३४ शनिबार

उपत्यका प्रदूषित_वातावरण राेग जीवनशैली