१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गौर सिसिटिभी क्यामेराको निगरानीमा

गौरमा शुक्रबार वायसलेस सिसिटिभी क्यामेराको उदघाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल। तस्बिर : नागरि

रौतहट - सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका रौतहट सदरमुकाम गौरका गतिविधि निगरानी गर्न विभिन्न दस स्थानमा उच्च प्रविधिको सिसिटिभी क्यामेरा जडान गरिएको छ। तराई मधेसका अन्य जिल्लाको तुलनामा सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने गौरमा पहिलोपल्ट विभिन्न दस स्थानमा उच्चप्रविधिका सिसिटिभी क्यामेरा जडान गरी रौतहट प्रहरीले निगरानी सुरु गरेको छ। चोरी, तस्करी, करणीलगायतका अपराध नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको हो।

बिपी चोक, गौरभन्सार कार्यालय, बैंक रोड, जिल्ला प्रहरी कार्यालय अगाडिको मुख्य सडक, अस्पताल चोक, जिल्ला प्रशासन कार्यालयअघिको सडकलगायत स्थानमा ती क्यामेरा जडान गरिएको रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले बताए।

गौर नगरपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा दसवटा सेटलाइट प्रविधिके सिसिटिभी क्यामेरा जडान गरिएको हो। अपराध नियन्त्रणमा यस्ता क्यामेराले प्रहरीलाई सहयोग पुर्‍याउने एसपी ढकालले बताए। ती क्यामेराले रातिमा हुने आपराधिक गतिविधिसमेत निगरानी गर्ने क्षमता राख्छन्।

यसैबीच नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको मन जित्न प्रहरीले निष्ठावान भएर काम गर्न जरुरी रहेको बताएका छन्। गौरमा शुक्रबार वायरलेस प्रविधिका सिसिटिभी क्यामेरा उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले केही प्रहरी कर्मचारीले गरेको गल्तीका कारण सिंगो संगठनमा असर पर्ने भएकाले त्यस्ता कार्य नगर्न पनि उनले आग्रह गरे। ‘प्रहरी भनेको राम्रो हुनुपर्छ, नराम्रो गर्ने प्रहरी होइन,’ खनालले भने, ‘अब नराम्रो आचरण गर्ने प्रहरीलाई संगठनबाट टाढा राख्ने बतावरण बनाउन जरुरी छ।’

नागरिकको जिउधनको सुरक्षा गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा नेपाल प्रहरी अहोरात्र खटिरहेको उनले बताए। सूचना प्रविधिको दुरुपयोग गरेर आपराधिक कर्म गर्ने समूह पनि बढिरहेकाले प्रहरी संगठन पनि सोहीअनुसार क्रियाशील हुनुपर्ने उनको भनाइ छ। अपराध नियन्त्रण र शान्तिसुव्यवस्था कायम गर्नु प्रहरीको मुख्य दायित्व भएको उनले बताए। प्रहरीलाई सूचना प्रविधिसँग निकट राखेर अघि बढ्न सके अनुसन्धानमा सफलता पाइने उनले बताए। उनले नेपाल प्रहरीको अपराध अनुसन्धान पद्धतिको एसियामै छुटै किसिमको साख रहेको उनको दाबी छ।

गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पाल, जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल राय यादव, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो।

प्रकाशित: २१ पुस २०७५ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App