coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सल्लाघारीे एक सय आठ रोपनी जग्गा जोगाउन पर्खाल

भक्तपुर - विभिन्न समूहले आँखा गाडिरहेको भक्तपुर सल्लाघारीस्थित एक सय आठ रोपनी क्षेत्रफलको जग्गा पर्खाल घेरेर संरक्षण कार्यको थालनी गरिएको छ। फरकफरक राजनीतिक दल र फरकफरक समूहले आआफनो अनुकूलताअनुसार सो जग्गा प्रयोग गर्न पाउनुपर्ने मागसहित वर्षाैदेखि दबाब दिइरहेका बेला भक्तपुर नगरपालिकाले सुरक्षाका लागि चारैतिर पर्खाल लगाउन थालेको छ। शुक्रबार सो जग्गा घेर्ने पर्खाल लगाउने काम सुरु गरिएको होे। नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले पर्खाल लगाउन थालिएको हो।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारी तीनकुनेमा रहेको यो जग्गा फरकफरक राजनीतिक दल र समूहले आआफनो प्रयोजनका लागि माग गर्दै आएका छन्। पूर्वराजा वीरेन्द्रको नाममा रहेको सो जग्गा हाल नेपाल टष्टको नाममा छ। जनताको जग्गा जनताकै प्रयोजनकै लागि उपयोग हुनुपर्ने माग फरकफरक राजनीतिक दल र समूहको छ। भक्तपुर नगरपालिका १ मा पर्ने सो जग्गामा नेपाल टष्टसँग अनुमति लिएर पर्खाल लगाउन थालेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक सय आठ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्र नापजाँच गर्दा हाल एक सय ६ रोपनीमा सीमित छ। अतिक्रमणका कारण क्षेत्रफल घटेको हो। सार्वजनिक जग्गा जोगाउने कर्तव्य स्थानीय सरकारको रहेकाले नेपाल टष्टसँग स्वीकृति लिई पर्खाल लगाउने काम थालेको उनले बताए।

भक्तपुरमा प्रभुत्व जमाएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सो जग्गा ख्वप विश्वविद्यालयका लागि प्रयोग गर्न दिनुपर्ने माग गर्दै आएको छ। मेडिकल कलेजसहित ख्वप विश्वविद्यालय राख्न सो जग्गा माग गर्दै आएको नेमकिपाले केही समयअघि उक्त ठाउँमा ख्वप विश्वविद्यालय स्थापना गर्ने भन्दै डिजाइनसमेत सार्वजनिक गरेको थियो।

पर्खाल शिलान्यास कार्यक्रममा पनि नेमकिपाका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय स्थापनाका लागि सो जग्गा दिइनुपर्ने बताए। जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनका लागि पटकपटक आफूहरुले माग गर्दै आएको स्मरण गराउँदै उनले जनताको जग्गा जनताका छोराछोरीले सस्तो शुल्कमा अध्ययन गर्ने विश्वविद्यालयका लागि प्रयोग गर्न दिइनुपर्ने उनको तर्क छ।

नेमकिपाको एकाधिकार रहेको भक्तपुर नगरपालिका नै जग्गाको संरक्षणमा लागेपछि प्रतिस्पर्धी अन्य पार्टी भने सो जग्गा विश्वविद्यालय प्रयोजनकै लागि प्रयोग हुने हो कि भनेर सशंकित भएका छन्। उक्त जग्गामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रंगशाला बनाउनुपर्ने माग राख्दै आएको छ। साथै विभिन्न समूहमध्ये कसैले तरकारी बजार, कसैले अन्तर्राष्टिय सम्मेलन केन्द्र, कसैले बसपार्क, व्यापारिक कम्प्लेक्समा प्रयोग हुनुपर्ने माग राख्दै आएका छन्। तर नेपाल ट्रष्टको कार्यालयले भने नेपाल ट्रष्ट ऐन २०६४ अनुसार ट्रष्टको नाममा भएको अचल सम्पति बिक्रीवितरण गर्न तथा भोगाधिकार हस्तान्तरण गर्न नपाइने भन्दै कुनै व्यक्ति तथा संस्थालाई जग्गा उपलबध गराउन नसकिने बताउँदै आएको छ।

नगरपालिकाले जग्गाको चारैतिर चार फिट अग्लो पर्खाल र त्यसमािथ तीन फिटको जाली राख्ने योजना बनाएको छ। जग्गा संरक्षण गर्न पूर्ववडाअध्यक्ष लक्ष्मीनारायण राजलवटको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ।कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने बताए। भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय जनताको सहयोग र सहभागितामा सार्वजनिक क्षेत्रको संरक्षण अभियानमा नगरपालिका अग्रसर रहेको बताए।

प्रकाशित: २१ पुस २०७५ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App