coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नाम र राजधानी ताेक्न सांसदकाे माग

बुटवल - प्रदेश नं ५ का सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गाे चाँडाे लगाउन माग गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानीका सम्बन्धमा सुझाव दिन गठीत विशेष समितिले छिटो काम थाल्नुपर्नेमा जोड दिएका हुन्।

समितिले सुरुको तीन महिना संयोजकै तोक्न नसकेको स्मरण गर्दै सभासदहरुले अहिले थपिएको समयमा समेत काम नहुने हो की भन्ने चिन्ता व्यक्त गरे। सांसदहरुले पछि थप गरीएको समय पनि घर्कीदै गएकोले छिटो काम थाल्न समितिलाइ आग्रह गरे। सभासदहरु भगवतिदेवी भण्डारी, रमा घर्ती, कमलराज श्रेष्ठले समितिमा सदस्य थप गर्ने विषयमा विवाद गरेर समय खेर फाल्नु भन्दा सर्वसम्मत रुपमा राजधानी र नाम टुंगो लगाउन छिटो काम थाल्न समितिलाइ आग्रह गरे। यसअघिका बैठकमा केही सभासदले विशेष समितिमा रुकुम, बाँके र नवलपरासीबाट प्रतिनिधित्व नभएको भन्दै सदस्य थप गर्नुपर्ने भनाइ राखेका थिए। थप गरीएको समयमा पनि समितिले उपलब्धीमुलक काम गर्न नसके प्रदेशसभाप्रति जनताको विश्वास घट्ने भन्दै सांसदहरुले तोकिएकै समयमा काम सम्पन्न गर्न समितिले छिटो काम थाल्नुपर्नेमा जाेड दिए।

सभासद निर्मला क्षेत्रीले अपराधिक मुद्दामा जेलमा रहेका व्यक्तिलाइ संविधानको मर्म विपरित सपथ खुवाइएको भन्दै त्यसको विरोध गरीन। रेशम चौधरीलाइ प्रतिनिधि सांसदको सपथ खुवाइएको बिषयमा बोल्दै सभासद क्षेत्रीले चौधरीको सपथ संविधान विपरित भएको भन्दै प्रदेश सभा मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्। विशेष समयमा बोल्दै नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित नहुने गरी बिदाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।सभासद बिष्णु पन्थीले युवाहरुलाइ कृषि पेशाप्रति आकर्षित गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। प्रदेशसभाको अर्को बैठक पुस २९ गते बस्नेगरी स्थगित भएको छ।

 

प्रकाशित: २० पुस २०७५ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App