८ वैशाख २०८१ शनिबार
समाज

खेतीयोग्य जमिन जंगलमा परिणत

विगतको खेतीयोग्य जमिन जंगल बनेको देखाउँदै मोदी–८ का अध्यक्ष सुकबहादुर गुरुङ। तस्बिर : छविलाल/नागरिक

पर्वत - सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्ती सुनसान त छ नै। त्यहाँ रहेका सयौं रोपनी खेतीयोग्य जमिनसमेत बाँझिएको छ । खेत बारी, बारी खरबारी, खरबारी झाडीमा परिणत भएका कुरा सुन्ने गरेपनि यहाँका सयौं रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएको छ।

मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेमा रहेको सयौं रोपनी खेतीयोग्य जमिन डरलाग्दो जंगलमा परिणत भएको हो । दुई दशकअघिसम्म धानका ठूला–ठूला गाँज देख्न पाइने जमिनमा अहिले ठूल्ठूला रुखले ढाकिएको छ।

मोदी गाउँपालिका–८ चित्रेका वडाध्यक्ष सुकबहादुर गुरुङले खेतीयोग्य जमिनमा खेती लगाउन छाडेपछि झाडी र जंगलमा परिणत भएको बताए । ‘दुई दशकअघिसम्म यो जमिनमा ठूल्ठूला गाँजसहितको धान देख्न पाइन्थ्यो तर अहिले जंगल र झाडीले भरिएको छ’, विगतको खेतीयोग्य जमिनमा भरिएको जंगल देखाउँदै वडा अध्यक्ष गुरुङले भने।

पञ्चासेको काखमा रहेको चित्रेमा बसोबासका लागि सुन्दर हावापानी रहे पनि सुविधाको खोजीमा त्यहाँका बासिन्दा धमाधम पोखरा, डिमुवा, पातिचौर, नयाँपुल लगायतका ठाउँमा बसाइँ झरेपछि चित्रेको माथिल्लो भेग सुनसानजस्तै बन्न पुगेको छ । उनीहरूको जमिनसमेत बाँझिदै गएको छ । ‘खेती लगाउने मान्छे नै नभएपछि राम्रो अन्न उत्पादन हुने जमिन त्यत्तिकै खेर गएको गुरुङले बताए।

चित्रेस्थित पञ्चकोशी आधारभूत विद्यालयकी प्रधानाध्यापक सुशीलादेवी गुरुङले पनि कति राम्रो उत्पादन हुने जमिन त्यत्तिकै बाँझिएको देख्दा पनि दुःख लाग्ने बताइन् । पछिल्लो समय जमिन बाँझिने क्रम बढेको उनले जानकारी दिइन्।

‘विस्तारै खेतीयोग्य जमिनमा अन्नपात लगाउने क्रम हट्दै गएको छ’, उनले भनिन् । उनकै पहलमा पञ्चकोशी आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पढाइ चलाएर बालबालिकालाई अध्ययनको नाममा अभिभावक पनि बजार झर्ने क्रम रोक्ने अभियान चलेपनि स्थानीयको बसाइँ सर्ने क्रम रोकिएको छैन।

उनकाअनुसार त्यहाँका बासिन्दा विशेषगरी सुविधा, रोजगारी र शिक्षाकै कारण बजार झर्ने गरेका हुन् । शिक्षाकै कारण बजार झर्ने क्रमलाई रोक्न उनकै पहलमा पञ्चकोशी आधारभूत विद्यालय जिल्लाकै नमुना विद्यालय बनेको छ । चित्रे जिल्लाकै पहिलो बालमैत्री घोषित वडा पनि हो।

गुरुङले गाउँमा उत्पादन हुने प्रशस्त जमिन भएपनि मानिस बजार नै च्याप्ने प्रवृत्ति देख्दा चिन्ता लागेको बताइन् । छोटो समयमै धान फल्ने जमिनमा जंगल र झाडीले ढाक्दा आफू जन्मेको गाउँ पनि नौलो लाग्ने गरेको उनी बताउँछिन् । उनले उत्पादनयोग्य जमिनलाई बाँझो नराख्ने र राज्यले पनि उत्पादनमा जोड दिने नीति अख्तियार गर्नुपर्नेमा जोड दिइन् । चित्रे जिल्लाकै आकर्षक होमस्टे भएको गाउँ पनि हो।

पर्वत, स्याङ्जा र कास्की गरी तीन जिल्लाको संगमस्थलमा रहेको ऐतिहासिक पञ्चासेको काखमा रहेको चित्रेमा पर्यटनको थुप्रै सम्भावना पनि रहेको छ । चित्रेमा अहिले पनि दैनिक रूपमा होमस्टेको अध्ययन, अवलोकनका लागि मानिस आउने गरेका छन्। 

 

प्रकाशित: २० पुस २०७५ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App