५ वैशाख २०८१ बुधबार
अर्थ

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङविरुद्द राजश्व छलीको मुद्दा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका  पूर्व अध्यक्ष बलबहादुर तामाङलाई राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले स्काई ओभरसिज सर्भिसेज प्रालीका सञ्चालक तामाङले बैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको कसुरमा  १९ कारोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिमाना दाबी र ३ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

तामाङको व्यक्तिगत खातामा बिभिन्न विदेशी कम्पनीबाट आययोग्य रकम जम्मा भएकोमा राजस्व चुहावटको कसुरमा अनुसन्धान सुरु गरी विभागले उनको बयान लिने, बैंक खाताको विवरण, नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरुको अध्ययन एवं विश्लेषण गर्दा कर नतिरेको पुष्टि हुन आएको दावी विभागको छ।  विभागले बैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६÷०६७ देखि २०७३÷०७४ सम्मजम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले जनाएको छ। 

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा ४ (क) र (ख)बमोजिमको कसुर गरेको देखिएकाले आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २(१) बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर, सोही ऐनको दफा १२०(ख) बमोजिम शुल्क,दफा ११८ र ११९ बमोजिम ब्याज समेतले हुने जम्मा  ६ करोड ५२ लाख ४७ हजार ८५७ रुपैयाँ राजस्व चुहावट गरेको जनाएको छ। सो रकम बिगो कायम गरी विभागले तामाङबाट बिगो बापतको रकम असुल गरी सोही  ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बर सम्म जरिवाना र तीन वर्ष सम्म कैद सजाय मागदावी गरी काठमाण्डौ जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।

 

प्रकाशित: २० पुस २०७५ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App