७ वैशाख २०८१ शुक्रबार
अन्य

ग्याजेट, स्क्रिन टाइम र हामी

आज बिहान उठ्नेबित्तिकै मेरो आँखा ‘रिपब्लिका दैनिक’को पहिलो पृष्ठमा छापिएको समाचारमा पुग्यो । त्यहाँ अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले लामो समय र पैसा लगानी गरी एउटा अध्ययनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको समाचार थियो । नतिजाले भन्छ, हाम्रा बालबालिकाहरुले आवश्यकताभन्दा बढी मोबाइल र भिडियो गेममा समय खर्चिएका कारण त्यसले मस्तिष्कमा केही खास किसिमको प्रभाव पारिरहेको छ । बढीभन्दा बढी मोबाइल र भिडियो गेममा समय व्यतित गर्ने बालबालिकाहरुको मस्तिष्कको ‘प्याटर्न’बारे अध्ययन गरिरहेका वैज्ञानिकहरुले तिनको मस्तिष्कको स्क्यानिङ गरेका थिए र सोही स्क्यानिङको निष्कर्ष छ, जुन बालबालिकाले बढीभन्दा बढी स्क्रिन टाइम उपयोग गरिरहेका छन्, तिनको मस्तिष्कमा देखिने गरी बद्लाव आएको छ । अहिलेलाई नै त्यो बदलाव सकारात्मक किसिमको हो कि होइन भन्ने निष्कर्षमा वैज्ञानिकहरु पुग्न सकेका छैनन् । यसको प्रभाव वा कुप्रभाव देखिन अझ कयौँ वर्ष ती बालबालिकाहरुलाई नजिकबाट नियाल्नुपर्ने हुन्छ । ती बालबालिकाहरु युवा र वृद्धावस्थासम्म अध्ययन गरेपछि मात्र यस किसिमको गतिविधिले ल्याउने प्रभाव वा कुप्रभावका बारेमा स्पष्ट हुन सकिन्छ ।

यो अध्ययनका लागि अमेरिकी सरकारले तीन सय मिलियन डलर खर्चिएको र अध्ययनमा सहभागी भएका बालबालिकाहरु दिनमा सात घण्टाभन्दा बढी स्क्रिन टाइम उपभोग गरिरहेकाहरु रहेको बताइएको छ । यस अध्ययनमा सहभागी वैज्ञानिक गाया डअलिङको टिप्पणीलाई मैले ‘रिपब्लिका’ले उद्धृत गर्दै भनेको छ, ‘हामीलाई दिमागमा देखिएको दागको प्रमुख कारक के हो भन्ने थाहा छैन, यसबारे लामो अध्ययन गर्न बाँकी नै छ तर यो पक्का छ, जो लामो समयसम्म स्क्रिन हेरेर बस्छ, उसको दिमागमा एउटा कालो धब्बा बसेको छ । यो कुनै एउटा प्याटर्नमा मात्र धब्बा बसेको छैन ।’

झन् नयाँ पिँढीका लागि त स्मार्टफोन एउटा चर्को लतको कारक बन्न पुगेको छ । युट्युबमा सङ्गीत र भिडियो, टिकटकमा रमाइला छोटा अभिनय, फेसबुकमा च्याट अनि नजाने कयौँ किसिमका गेमहरुको कुलतमा हाम्रा सन्तान परिरहेका छन् । होमवर्क गर्न च्याटरुमको सहयोग लिएको बहानामा स्मार्टफोनमा घण्टौँ व्यस्त हुने पुस्ताबाट अघिल्लो पुस्ता वाक्कदिक्क भइसकेको छ ।

यही अध्ययनले अर्को के देखाएको छ भने जुन बालबालिका दुई घण्टाभन्दा बढी स्क्रिन टाइम बिताउँछन्, उनीहरुको भाषागत समस्या र तर्क गर्ने क्षमतामा ह्रास आएको छ । ४ हजार ५ सय बालबालिकाहरुमाझ गरिएको यो अध्ययनलाई अझ विस्तृत रुपमा गर्न सके, स्क्रिन टाइमको खराबीबारे अझ बढी जान्न सकिने वैज्ञानिकहरुको राय छ । त्यतिञ्जेलसम्म वैज्ञानिकहरुले आमाबाबुलाई सचेत गराउँदै भनेका छन्, ‘१८ देखि २४ वर्षभन्दा मुनिका आफ्ना सन्तानलाई बढीभन्दा बढी डिजिटल मिडियाबाट टाढै राख्नुहोस् । यसैमा सबैको भलो हुनेछ ।’ वैज्ञानिकहरुले भिडियो च्याटिङमा भने कुनै खराबी नरहेको टिप्पणी गरेका छन् ।  

यो समाचार पढिसकेपछि अहिले हामी आफैँले पनि बद्लिँदो जीवनशैलीको अनौठो अवस्था भोगिरहेको टड्कारो महसुस भयो । हामी नियालेर हेरौँ त, हाम्रै सन्तान, हाम्रै परिवारका अन्य सदस्यहरु फुर्सद हुनेबित्तिकै स्मार्टफोनमा कसरी घोरिन्छन् !

घरमा साँझ स्कुल कलेजबाट फर्किएका सन्तान होऊन्, कार्यालयबाट थाकेर आइपुगेका आमाबुबा होऊन्, घरकै वरपर–दायाँबायाँ घुमेर आइपुगेका हजुरबा–हजुरआमा होऊन्, साँझ ढल्केपछि एकअर्कामा सम्वाद ठप्प हुने गरी सामाजिक सञ्जालमा व्यस्त हुन थालेका छन् । कुन चाहिँदो कुरा हो र कुन होइन भन्ने भेउ नपाउने गरी जे कुरा पनि फेसबुक, ट्वीटरमा अपलोड हुन थालेका छन् र फलानो त यस्तो पो भनेर छलफल गर्ने मसला बन्न पुगेको छ ।

झन् नयाँ पिँढीका लागि त स्मार्टफोन एउटा चर्को लतको कारक बन्न पुगेको छ । युट्युबमा सङ्गीत र भिडियो, टिकटकमा रमाइला छोटा अभिनय, फेसबुकमा च्याट अनि नजाने कयौँ किसिमका गेमहरुको कुलतमा हाम्रा सन्तान परिरहेका छन् । होमवर्क गर्न च्याटरुमको सहयोग लिएको बहानामा स्मार्टफोनमा घण्टौँ व्यस्त हुने पुस्ताबाट अघिल्लो पुस्ता वाक्कदिक्क भइसकेको छ ।

फुर्सदिलो क्षणमा परिवारसँग बस्ने, दुःखसुख बाँड्ने, दिनदिनै भोगिरहेका समस्याबारे छलफल गर्ने र त्यसको समाधानका उपाय अभिभावकबाट लिने एक समयको परिपाटि थियो । त्यहाँ परिवारका ठूलाबडासँग अर्ती, उपदेश लिइन्थ्यो । समस्या समाधानका उपाय सिकिन्थ्यो । यही भेला र सुखदुःखबाट नयाँ पिँढीले धेरै कुरा सिक्थे । परिवारको महत्व के हो बुझ्थे । परिवार प्रतिको दायित्व महसुस गर्थे । त्यो बेला परिवार भनेको आमाबुबाबाहेक काकाकाकी, मामामाइजु, हजुरबुबा–हजुरआमा पनि हुन् है भन्ने गहिरो गरी छाप बस्थ्यो । यस्तो फराकिलो परिवारको मायाको महत्व नयाँ पुस्ताले बुझ्थे । 

तर हिजोआज यिनै कुरा लोपोन्मुख बनिसकेको छ । होस्टेलबाट बच्चा घर आँउछन् र सिधै आफ्नो कोठामा गएर कम्प्युटर–मोबाइल चलाउँछन् । आमाले छोराछोरी आउलान् र सँगै बसेर खाउँला भनेर बनाएको खाना सेलाइसक्छ तर सबै परिवार एकै ठाउँमा भेला हुने अवसर जुर्दैन किनभने हरेक व्यक्ति आ—आफ्नो मोबाइल वा कम्प्युटरमा व्यस्त हुन्छ । 

एकताका साइक्लिङ, डोरी खेल्ने, दौडने, कबड्डी खेल्ने आदि खेलकुद बालबालिकाका प्रिय थिए । हिजोआज त्यसको ठाउँ मोबाइलका गेमले लिएको छ । बालबालिका र किशोरकिशोरीको शारीरिक विकास द्रुत गतिमा भइरहेको हुन्छ । त्यतिखेर हावा, पानी, घाम साथै खुला वातावरणको त्यत्तिकै महत्व हुन्छ । यस्तो समयमा हुर्कन र बढ्न यी सबै कुराको आवश्यकता पर्छ । ईश्वरले दिएको यो निःशुल्क उपहार हिजोआज अपहेलित भइरहेको छ र प्रविधिले हामीलाई गाँज्न थालेको छ । 

नयाँ प्रविधि, ग्याजेट र एप नराम्रो होइन । यसले नै संसारलाई धेरै अगाडि पु-याएको छ । प्रविधिका कारण नै हाम्रो आयु लामो हुँदैछ । तर पनि संसारभर नै हिजोआज बढीभन्दा बढी स्क्रिन टाइम उपयोग भइरहेकामा सर्वसाधारण चिन्तित छन् । संसारभरिका अभिभावकहरु स्क्रिन टाइमको बेवाक् उपयोगितालाई दुरुपयोग ठानिरहेका छन् । यसले हाम्रो स्वास्थ्य र जीवनमा निकै नराम्रो प्रभाव पारिरहेका तथ्य र विश्लेषणहरु भइरहेका छन् ।

त्यसैले संसारले चिन्ता गरिरहेका कुरालाई हामी नेपालीले पनि सचेत हुनै पर्छ । हामीले पनि बालबालिका र किशोरकिशोरीहरुले मानेनन् भन्दैमा उनीहरुलाई बढी स्क्रिनटाइमको छुट दिनबाट रोक्न जरुरी भइसकेको छ। aakriti72@gmail.com

प्रकाशित: २० पुस २०७५ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App