coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

डा. केसी साथमा सांसद चौधरी

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद सुरेन्द्र चौधरीले डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनको छैठौं दिन शनिबार स्वास्थ्य सेवा र शिक्षाका लागि उनले उठाएका माग पूरा गर्न प्रमुख दल नै मौन रहेको अवस्थामा आफूले भ्रष्टाचारविरुद्ध अभियानमा नेतृत्व लिने दृढता चौधरीले व्यक्त गरे।

'गोविन्द केसी ऐक्यबद्धता गठनबन्धन' को आह्वानमा राजधानीमा शनिबार आयोजित र्‍यालीपछिको कोणसभामा चौधरीले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि पहलकदमी लिनुको विकल्प नभएको बताए।

बजेटको आधा पनि तोकिएको काममा खर्च नहुने र अधिकांश रकम कमिसनमा सकिने गरेको उनले बताए। 'नेता, कर्मचारी, सचिव सबै भ्रष्ट छन्,' चौधरीले भने। ग्रामीण क्षेत्रमा अहिले पनि ज्वरो आउँदा सिटामोल र पखाला लाग्दा 'मेट्रोनिनाजोड नपाएर थुपै नेपालीले ज्यान गुमाइरहनुपरेको भन्दै यस्तो अवस्थामा डा. केसीको माग सान्दर्भिक भएको बताए।

उनले अहिले पनि घुसखोरी र कमिसनकै भरमा विशेषज्ञ र बिरामी नभएका मेडिकलले उच्च विशेषज्ञ सुपरस्पेसियालिटी तहको कोर्स पढाइरहेको बताए। गठबन्धनका संयोजक डा. जीवन क्षत्रीले डा. केसीले उठाएका चिकित्सा शिक्षासँग सम्बन्धित माग पूरा गर्न केही आशालग्दा प्रयास भएको भन्दै सुशासनको विषयमा उठाएका कुरा अझै पूरा हुन सकेको बताए।

सोही कार्यक्रममा कांग्रेसको तरुण दल सदस्य लक्ष्मी खतिवडाले २०१५ सालमा प्रधानमन्त्री बन्दा बिपीले देेखेको स्वास्थ्य र शिक्षामा समान पहुँच पुर्‍याउने सपना अहिलेसम्म सार्थक बन्न नसकेको भन्दै सोही उद्देश्यका लागि डा. केसीप्रति आफ्नो समर्थन रहेको बताइन्। उनले डा. केसीले दुर्गम गाउँमा मेडिकल कलेज र पैसा नभए पनि विपन्न विद्यार्थीको मेडिकल शिक्षामा पहुँच हुनुपर्ने मुद्दा उठाएको भन्दै अभियानमा सघाउन आग्रह गरिन्।

सभाअगाडि सयौंका संख्यामा माइतीघरमण्डलमा भेला भएका युवाले विभिन्न नारा र प्लेकार्डसहित बानेश्वरसम्म र्‍याली गरेका थिए। प्रदर्शनमा युवा विद्यार्थी विभिन्न दुर्गम जिल्लाबाट आएका सर्वसाधारणसमेत थिए।

माग पूरा गर्न संसद् उदासीन

डा. केसीको अनशनको छैठौं दिन स्वास्थ्य निकै कमजोर बनिसक्दा पनि उनको प्रमुख माग सम्बोधनमा संसद् उदासीन देखिएको छ। केसीले आफूलाई अनशनमा छाडेर संसद् बैठक स्थगित गर्ने तयारी रहेको सुन्नमा आएको भन्दै कुनै हालतमा यसो हुन नदिने बताए। 'हाम्रो आन्दोलनलाई बेवास्ता गरेर कसरी संसद् स्थगित गर्न सक्छन्,' उनले भने। डा. केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा ऐन संशोधनसहित तत्काल पास हुनुपर्नेलगायत माग राखेका छन्। संसद्सँग सम्बन्धित माग सम्बोधन गर्न पहल गर्ने वचन अघिल्लो अनशनकै समयमा दिए पनि पछिल्लो अनशनमा सभामुख ओनसरी घर्तीले कुनै पहल नगरेको डा. केसीले बताए।

सरकार संवेदनशील : मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. केसीले उठाएका चिकित्सा शिक्षासम्बन्धी माग पूरा गराउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्। शुक्रबार डा. केसीलाई भेटेर फर्किएसँगै मन्त्री थापाले सरकारी स्तरबाट विगतमा भएका सम्झौता कार्यान्वयनका चरणमा रहेको बताए।

उनी चिकित्सा शिक्षासम्बन्धी ऐन संसद्मा पुगेर प्रक्रियामा रहेको, मनमोहन विधयेक फिर्ता लिने र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम मनमोहन अधिकारीको नामबाट राख्ने काम भइसकेको बताए। 'स्वाभाविक रुपमा प्रक्रिया लिने र लाग्ने कुरा मात्रै बाँकी छ,' उनले भने, 'त्यसका लागि लाग्ने समयबाहेक अरु थुप्रै कुरा सुरुआत भएका छन्।' मन्त्री थापाले अघिल्ला अनशनको सम्झौताअनुसार सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाको लागिसमेत प्रक्रिया सुरु भएको बताए। उनले केही दिनभित्रै चिकित्साशास्त्र अध्ययन संस्थानको डिनसमेत वरिष्ठताकै आधारमा नियुक्ति हुनेमा आफू विश्वस्त रहेको समेत बताए।

उनले शुक्रबारसमेत डा. केसीलाई भेटेर अनशन रोक्न आग्रह गरेका थिए। डा. केसीले मन्त्रीका रुपमा थापाले गरेको कामको सराहना गर्दै मन्त्रीको सरकारप्रमुख र संसद् मागप्रति संवेदनशील नभएकाले अनशन रोक्न नसक्ने बताएका थिए।

प्रकाशित: १६ आश्विन २०७३ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App