७ वैशाख २०८१ शुक्रबार
अन्य

पश्चाताप

हेर्दाहेर्दै पाँच दशक बितेछ जिन्दगीका । आजका दिनसम्म आफूले गर्न खोजेका सबै कुरा/वाचा पुरा गर्दैगएँ । त्यो पनि नितान्त आफ्नो खुसीमा केन्द्रित भएर । घर, परिवार, श्रीमती, बच्चा, जसले जे भने पनि मानिनँ । एक कानबाट सुनेर अर्को कानबाट उडाइदिएँ । आखिर उनीहरूलाई एउटा सम्पन्न परिवारले पाउने सुख/सुविधा दिएकै थिएँ । पढाइ लेखाइमा कुनै कमी गरिदिएको थिइनँ । त्यसबाहेक अरु के नै कर्तव्य हुन्थ्यो र मेरो परिवारप्रति ? यति भएपछि म आफ्नै संसारमा रमाउँथेँ । आफू रमाउनका लागि चाहिने/नचाहिने, मिल्ने/नमिल्ने के मात्र गरिन मैले ? एक त घर परिवारले मेरो यो मोजमस्तीमा कुनै व्यवधान खडा गरेनन्, कहिल्यै । अर्कोतर्फ कुनै प्रश्न गरिहाले भने पनि धेरै उत्तर एकैपटक हुन्थे मसँग ।

मनमा कुरा खेल्दाखेल्दै हातमा रहेको डाक्टरी रिपोर्टमा आँखा पुग्छ । एकैछिनमा छानाबाट खसेजस्तो हुन्छु । नहोऊँ पनि किन ? रिपोर्ट बोलिरहेको थियो– ‘आभास, तँलाई एचआइभी पोजेटिभले गाँजिसकेको छ ।’ उभिने आँट पनि सकिएछ क्यार ! थचक्क सोफामा बसेँ । निधार र कन्चट वरपर चिट्चिट् पसिना आइरहेको थियो । अनुहारमा बादल देखिन थालेको थियो । मुखबाट उफ्...का छर्रा छुटिरहेका थिए । यत्तिकैमा वर्षा (श्रीमती) आई । म उसलाई यो पीडा प्रदर्शन गर्न चाहन्नथेँ । आखिर लुकाउने हैसियत पनि थिएन ममा । मेरो पारा देखेर सोधी– के भयो ? किन यति निराश र दुःखी ? म बोल्न सकिनँ । उसले मेरो हातमा भएको रिपोर्ट बिस्तार तानी, हेरी र भनी, ‘नआत्तिऊ आभाष, तिमीलाई केही हुँदैन । म र छोरा/छोरी मिलेर तिमीलाई संसारको जुन कुनै कुनामा लगेर भए पनि उपचार गराउँछौँ । प्लिज, तनाब नलेऊ । तिमी जस्तो भलाद्मी, राम्रो, असल, दयावान, मानिसलाई भगवानले अवश्य हेर्नेछन् । उनलाई पनि हामीलाई जस्तै राम्रोसँग थाहा छ कि यो संसारमा एउटामात्रै कुनै राम्रो मानिस छ भने त्यो तिमी नै हौ । मलाई भगवानमा पूरा विश्वास छ, तिमीलाई केही हुँदैन । केही हुँदैन आभाष तिमीलाई । डन्ट वरी ।’

मलाई बारका केटी मन पर्न थाले । लोग्ने विदेशमा भएका केटीका हाउभाउ राम्रा लाग्न थाले । मसाज गर्ने केटीका हाउभाउले लोभ्याए । के थिएन ती केटीसँग जो पैसाका लागि जे गर्न पनि तयार हुन्थे । उनीहरूसँग सामीप्य बढ्दै जाँदा बिस्तार घर परिवार भुल्न थालेँ ।

वर्षाका शब्द शब्द मेरो कानभित्र छिरेर हृदयसम्म पुगिरहेको थियो, आमाले सानो छँदा हालिदिनुभएको तेलजस्तै । सँगै उसको यतिविधि माया अनि विश्वासले मलाई ग्लानिको पीडा पनि हुँदै गयो । पश्चातापले भत्भती पोल्न थाल्यो । आफैँदेखि घृणा लाग्न थाल्यो । अनि आफैँलाई प्रश्न गर्न मन लाग्यो– आखिर म कसरी यस्तो कुलतको दलदलमा फँस्न पुगेँ ? बदमासी पनि यति गरेको थिएँ कि जति पश्चाताप गरे पनि पुग्दैनथ्यो । त्यसैले आज मलाई ईश्वरले नै सजाय दिएका हुन् भन्ने निष्कर्षमा पुगेँ । वर्षा मलाई जति जति सान्त्वना दिँदै जान्थिन्, मलाई भने अतीतले उति नै बढी पोल्न थाल्थ्यो ।

वर्षा चिया बनाएर ल्याउँछु भन्दै कोठाबाट बाहिरिइन् । मलाई भने वर्षासँग भेट भएका सुरुका यादले सताउन थाल्यो । उनीसँग पहिलो भेट एउटा साथीको जन्मदिनको अवसरमा भएको थियो । शायद १७–१८ वर्षकी थिइन् । छोटो रातो र कालो चेक स्कर्ट अनि कालो टप लगाएकी हँसिली, गोरी, राम्री उनी आफ्नी दिदीसँग आएकी थिइन् । एउटा कुनामा बसेर सम्भ्रान्त परिवारको रमाइलो हेरिरहेकी थिइन् । भर्खरै कोपिलाबाट फक्रन आँटेको फूल जस्तो अनुहारले सबैलाई मोहनी लगाइरहेको थियो । अर्थात्, जसको नजर उनको मुहारमा ठोक्किन्थ्यो त्यो अन्त सर्नै मान्दैनथ्यो । यो सब उनको अनुहारमा व्याप्त चमकको कमाल थियो । म पनि अपवाद हुन के सक्थेँ र ? दुई गिलास बियर पिएर उनको अगाडि पुगेँ ।  अनि बिस्तार सोधेँ– किन यहाँ एक्लै बसेको ? हिँड्, सबैले नाचगान गरेको ठाउँमा जाउँ । ‘म दिदीसँग आएकी । अब एकछिनमा उहाँसँगै घर जान्छु । बाबाले ८ बजेसम्म आउनू भन्नुभएको छ,’ बिना संकोच उत्तर दिएकी थिइन् उनले ।

उनको बिना पोतपात उत्तरले मलाई झनै आकर्षित ग-यो । अनि उनकै छेउमा गएर बसेँ टुसुक्क । र, थालेँ गफ गर्न । कुराकानीमा कुनै बनावटीपन थिएन । असाध्यै सरलपन । अनि सोच्न बाध्य भएँ– आजसम्म जति पनि केटी साथीका रूपमा आए, ती कि त मेरो पैसाप्रति लठ्ठिएका थिए कि त भने लवाइ/खुवाइमा आकर्षित भए । तर वर्षामा यसको कुनै संकेतसम्म थिएन । त्यसैले त पहिलो भेटमै म आकर्षित भएको थिएँ उनीप्रति ।

निन्द्रै परेन त्यो रात । वर्षाको मसिनो तर सुरिलो आवाज कानमा गुन्जिरह्यो । बोलीमा प्रष्टिएको यथार्थले भित्रैसम्म छोइरह्यो । निश्चल आँखा अनि निर्दोष र मुलायम अनुहारले रातभर पछ्याइरह्यो । दिमागमा एउटै प्रश्न घरीघरी आइरह्यो– वर्षासँग अब कसरी भेट्ने ? अनि उनीसँग भेट हुँदा गर्ने कुराकानीको मस्यौदा पनि दिमागमै कोर्न थालेँ । 

‘तँ आँट, म पु¥याउँछु’ भन्छन् रे भगवानले । नभन्दै अर्को साथीको जन्मदिन पार्टीमा उनी फेरि आइन्, आफ्नी दिदीसँग । सफा सेतो कुर्ता सुरुवाल अनि कलरफुल चुन्नी । आहा ! कति राम्रो सुहाएको थियो उनको रूप । म त उनलाई देख्दासाथ नतमस्तक भएकै थिएँ, उनको पनि आँखा चम्कियो मलाई देखेर । शायद दोस्रो भेट भएकाले होला, उनले पहिलेदेखि नै चिनेजस्तो व्यवहार गरिन् ।

‘हेलो वर्षा, हाउ आर यु ? हाउ यु डुइङ ?’ मेरो प्रश्न खस्न नपाउँदै उनले जवाफ दिइन्, ‘आइ एम एब्सोलुट्ली फाइन, हाउ एबाउट यु आभाष ?’ त्यसपछि हामी कफी अनि जुस खाएर घण्टौँ गफिएका थियाैं । लाग्थ्यो, वर्षालाई पनि मेरो सामीप्य मन पर्दैछ, मलाई जस्तै । त्यसपछि हाम्रो भेट बेलाबेलामा हुन थाल्यो । दुवै एकअर्काप्रति नजिकिँदै जान थाल्यौँ । हाम्रो एक हुने चाहनालाई दुवै पक्षका अभिभावकबाट स्वीकृति पनि प्राप्त भयो । एकअर्कामा पूरै समर्पित थियौँ । बिस्तारै छोरा जन्मियो । उनी छोरा हुर्काउँदै घर÷व्यवहारमा व्यस्त हुन थालिन् ।

म भने अफिस अनि साथीभाइसँग व्यस्त हुन थालेँ । नयाँ–नयाँ साथीहरू बनाउन थालेँ । मलाई बारका केटी मन पर्न थाले । लोग्ने विदेशमा भएका केटीका हाउभाउ राम्रा लाग्न थाले । मसाज गर्ने केटीका हाउभाउले लोभ्याए । के थिएन ती केटीसँग जो पैसाका लागि जे गर्न पनि तयार हुन्थे । उनीहरूसँग सामीप्य बढ्दै जाँदा बिस्तार घर परिवार भुल्न थालेँ । कहिले त रातको १२–१ बजे पनि पुग्न थालेँ । त्यो पनि बेहोसीमा । आखिर एक नम्बरको ठेकेदार न थिएँ, मसँग टन्न पैसा थियो । चन्दा पनि दिन्थेँ सामाजिक कामका लागि । कसैले मलाई नराम्रो भन्ने आँटै गर्दैनथे । यसैको मातमा मैले भने दिन/प्रतिदिन आफूलाई गिराउँदै गिराउँदै लगिरहेको थिएँ । र, यो क्रम दिन दिगुना, रात चौगुनाका दरले अघि बढिरहेको थियो । पैसाको मातमा न मैले यसको महसुस गर्न आवश्यक ठानेँ न त मप्रति शतप्रतिशत विश्वास गर्ने श्रीमती र छोराछोरीले नै यसको भेउ पाए ।

ढ्याङ्-याङ्ग... ढोका खुलेको आवाजले म झसङ्ग भएछु । वर्षा प्लेटमा चिया र पकौडा लिएर आइन् । बाहिर पानी परिरहेकाले चिसो चिसो थियो । वर्षाले मायालु लवजले ‘ल हजुरलाई मन पर्ने पकौडा बनाएकी छु आज, चिया र पकौडा खानुहोस्’ भनेपछि म झनै लज्जित भएँ उनीसँग । अनि लाग्यो– मेरो बदमासी आज वर्षालाई सुनाउनै पर्छ । आखिर गल्ती बोधले पनि त मानिसलाई सच्याउन, सुध्रन मद्दत गर्छ । वान्ता गर्नुअघि मडारिइरहेको शरीर वान्ता गरेपछि शान्त भएजस्तो पार्न पनि बदमासी त सुनाउनै पर्छ भन्ने निष्कर्षमा पुगेँ । अनि भनेँ, ‘आऊ सँगै बसेर चिया खाजा खाउँ।’

‘वर्षा, आज मलाई तिमीसँग माफी माग्नु छ, केही कुराले मलाई भित्र–भित्र खाइरहेको छ,’ आभाषले वर्षाको आँखामा आँखा जुधाउँदै भने, ‘त्यसैले गत केही दिनदेखि म तिमीहरूसामु आँखा जुधाउन पनि असमर्थ छु । त्यसैले म तिमी र छोराछोरीसँग माफी माग्न चाहन्छु । यो संसारमा भगवान रहेछन् त्यसैले दैवले सजाय दिए जबकि मेरो खुसीमा तिमीहरूले कुनै तगारा हालेनौँ । जसको परिणाम आज भोग्दैछु । र, साक्षी डाक्टरी रिपोर्ट तिम्रै अगाडि छ । यसबाहेक मेरा अरु कर्तुत केही भन्ने आँट छैन यतिबेला, प्लिज मलाई माफ गर वर्षा । आजको यो वर्षातमा म सबै नराम्रा कुरा बगाउन चाहन्छु र लामो विश्राम लिन चाहन्छु...प्लिज...प्लिज...।’ वर्षाको बोलीसँगै आभाषको आँखाबाट पश्चातापका आँसु बगिरहे अविरल । aakriti72@gmail.com

प्रकाशित: २० पुस २०७५ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App