coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाँचखाल सेजमा रुख काट्न सुरु

बनेपा - पाँचखालस्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम अघि बढेको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमै सरकारी जमिन (वनक्षेत्र) प्राप्त गरेको भए पनि बल्ल आएर संरचना निर्माणको काम थालनी  भएको हो।

‘दुइटा सामुदायिक वनभित्रका रुखहरु काट्नु पर्ने थियो। वनबाट रुख कटानको आदेश प्राप्तिमा ढिलाइ हुँदा काम पनि ढिलो भएको हो। आजै (बिहीबार)बाट रुख काट्ने काम सुरु भएको छ,’ पाँचखाल सेजका इन्जिनियर अरुण भट्टले जानकारी दिए।

आगामी १५ दिनभित्र एक हेक्टर (करिब २० रोपनी) क्षेत्रफलका रुख काटिसक्ने र संरचना निर्माण थालनी हुने उनको भनाइ छ। ‘गत वर्ष नै एउटा ठेक्का सम्झौता भइसकेको छ, त्यो काम पनि सुरु हुन्छ, भट्टले थपे, ‘चालु आर्थिक वर्षको अर्को ठेक्का सम्झौताको क्रममा छ। जग्गा विकास तथा प्रशासनिक भवनहरुको निर्माण तत्कालै सुरु हुन्छ।’

प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि दुई अर्ब ९५ करोड २७ लाख १७ हजार रुपैयाँको अनुमानित लागत तयार गरेको छ। यसअघि निर्माण सम्पन्न भएको भैरहवा सेज र निर्माणाधीन सिमरा सेजभन्दा फरक खालका पूर्वाधारहरु जस्तै, सेज परिसरमा मनोरञ्जन केन्द्र र स्विमिङ पूलसमेत पाँचखालमा बन्ने गुरुयोजनामा उल्लेख छ।
‘पाँचखाल सेजका लागि रकम छुट्टिने अनि विभिन्न समस्याले प्रत्येक वर्ष ‘फ्रिज’ हुने समस्या थियो। अब निरन्तर निर्माण कार्य भइरहन्छ। आगामी दुई महिनाभित्र संरचना निर्माणको शिलान्यास नै हुन्छ। यसका लागि स्थानीय समुदायले समेत साथ र सहयोग दिएका छौं,’ सेज निर्माणमा सहजीकरण गर्दै आएका पाँचखालका युवा कञ्चन अधिकारीले भने।

वर्तमान सरकारले तातोपानी नाका खुलाउन प्रयास गरिरहेको र चीन सरकार पनि सकारात्मक देखिएको सन्दर्भमा पाँचखालको सेज निर्माण थालनीले चिनियाँलाई आकर्षित गर्न सकिने उनको भनाइ छ। ‘केही समयअघि चीनको औद्योगिक क्षेत्रहरुको भ्रमणका क्रममा पाँचखालको सेजको प्रसंग उठाएको थिएँ। सेज निर्माण कार्य जति चाँडो सकियो, उति नै चाँडो उद्योग भिœयाउन चिनियाँ उद्यमी इच्छुक रहेको पाएँ,’ अधिकारीले थपे।

सेजका कर्मचारीका साथै ठेकेदारहरुसमेत रुख काट्ने क्रममा बिहीबार बिहानैदेखि वनक्षेत्रमा कार्यरत रहेका छन्। यो कार्यले सामुदायिक वनको उपभोक्ता पनि खुसी भएका छन्। ‘छोराछोरीलाई झैं माया गरेर हुर्काएको वन सरकारलाई नै फिर्ता दिएकामा लामो सयमसम्म काम नहुँदा निराश भएका थियौैं। अब निर्माण कार्य सुरु भएकाले खुसी बनाएको छ,’ देवीस्थान वन समूहका अध्यक्ष कर्मसिंह लामाले भने, ‘बाँकी रहने वनक्षेत्रमा न्यून क्षति गरेर सरकारले विशेष आर्थिक क्षेत्रको निर्माणलाई छिटो अघि बढाइदिनुपर्ने हाम्रो आग्रह छ,’ उनले थपे।

पाँचखालको देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी जग्गा सेज निर्माणका लागि वनले २० करोड रुपैयाँमा सो वनक्षेत्र उद्योग मन्त्रालयलाई प्रदान गरेको हो। सेजका लागि ५० हेक्टर (एक हजार रोपनी) वनक्षेत्र किनिएको भए पनि हाललाई एक हेक्टर क्षेत्रफलको रुख काट् मात्रै वनबाट स्वीकृति पाइएको प्राधिकरणका सूचना अधिकारी (उप–सचिव) सुन्दर थापाको भनाइ छ। ‘यतिखेर स्वीकृति पाएको क्षेत्रका रुख काट्दा प्रशासनिकलगायत केही भवन बनाउन मात्रै जमिन पुग्छ। त्यसपछिका आवश्यक संरचना बनाउने क्रममा रुख काट्नुपर्छ। तर, यसैगरी स्वीकृतिमा ढिलाइ भएको खण्डमा तीन वर्षभित्र सेज बनाइसक्ने लक्ष्य पर धकेलिन सक्छ,’ उनले थपे।

नेपाली निजी क्षेत्रले समेत मित्र राष्ट्र चीनका उद्यमीलाई पाँचखालमा ल्याउनका लागि कुराकानी अघि बढाइरहेका छन्। ‘पाँचखाल सेजको निर्माण चाँडो सम्पन्न भए चिनियाँ उद्यमी यहाँ आउन इच्छुक देखिएका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका सदस्य दिलसुन्दर श्रेष्ठले भने, ‘चिनियाँको विशेष चासो नेपालमा फर्निचर उद्योग स्थापना गरेर युरोपतिर निकासी गर्ने रहेको पाइएको छ।’
निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिन सरकारले पाँचखाललाई विशेष आर्थिक क्षेत्र (सेज)का रुपमा घोषणा गरेको हो। पाँचखाल सेजमा ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ। पाँचखाललाई भैरहवा सेजपछिको प्राथमिकतामा राखिएको छ। मुलुकभर १४ स्थानमा यस्ता सेज स्थापनाको अवधारणा ल्याइएको हो।

प्रकाशित: २० पुस २०७५ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App