८ वैशाख २०८१ शनिबार
अन्य

माझखण्डको जग्गा हडप्न चलखेल

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनियमितरूपमा किनबेच हुने गरेको पाइएको छ। केबलकार होमस्टे बन्ने आशा देखाएर केही व्यवसायीले यस क्षेत्रको जग्गा किनबेच थालेका हुन्।

व्यावसायीकै चलखेलमा खेतीयोग्य जमिन धमाधम बिक्री भइरहेको स्थानीयवासी बताउँछन्। ‘जग्गा व्यावसायीहरूले केबलकार र होमस्टे बनाउने भन्दै स्थानीयलाई फकाएरसस्तोमा जग्गा किन्न थालेका छन्,’ स्थानीय सुन्दर लामाले भने, ‘यसले थोरै जग्गा हुने र खेतीपाती गर्नेलाई मर्का परेको छ।’

उनका अनुसार जग्गा व्यावसायीले स्थानीयसँग केबलकारको सपना बाँड्दै छन्। तर, केबलकारको नक्सामात्रै बनेको छ।
जग्गा व्यवसायीले भूकम्पमा लडेका घर होमस्टे शैलीमा बनाउन दबाब दिएको स्थानीयको आरोप छ। ‘यो हाम्रो लागि मान्य छैन, हामीले बनाएका घरलाई होमस्टे भनेर प्रचार गरिएको छ, बस्नलाई बास छैन, किन चाहियो होमस्टे ?,’ अर्का स्थानीय शीतलमान तामाङले भने।

‘जग्गा व्यावसायीहरूले केबलकार र होमस्टे बनाउने भन्दै स्थानीयलाई फकाएरसस्तोमा जग्गा किन्न थालेका छन्, यसले थोरै जग्गा हुने र खेतीपाती गर्नेलाई मर्का परेको छ।’

ललितपुरको ग्रामीण भेगमा पर्ने माझखण्डबाट तराई र हिमशृंखला अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा सरकारी सेवा सुविधा पुगेको छैन। जग्गाको कारोबार बढ्न लागेको भन्दै वागमती गाउँपालिका–५ वडाले जग्गा किनबेचमा रोक लगाएको थियो। तर, व्यावसायीले अहिले खुलेआम जग्गा बिक्री गर्न थालेका छन्।

वडा अध्यक्ष साजन दर्लामीले ‘डेस्टिनेसन माझखण्ड कम्पनी’का केही व्यक्तिले जग्गा किन्ने क्रम बढेसँगै त्यस क्षेत्रको तामाङ बस्ती नासिने भएकाले त्यसलाई रोक लगाइएको बताए। उनले वडाको अनुमतिबिना कुनै व्यक्तिले जग्गा कारोबार गरेको भेटिए कारबाही हुने जानकारी दिए। उनका अनुसार यो क्षेत्रमा रमिते भ्युटावर, रुद्रेश्वर महादेव, बुद्ध विहारलगायत पर्यटकीय ठाउँ छन्।

प्रकाशित: २० पुस २०७५ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App