coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

टोखालाई पर्यटकको हब बनाउने तयारी गरेका छौं

सिंहराज श्रेष्ठ, वडा अध्यक्ष, टोखा नगरपालिका–३

तपाईँ जनप्रतिनिधि भएर आएसँगै जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएको पनि २० महिना भइसक्यो। त्यसयता जनताकै सेवामा लागिरहेका छौं। बिनाज हाउजिङदेखि टोखागेटसम्म डेढ किलोमिटर सडक कालोपत्रे गर्यौं। शवदाह संस्कार गरेर आइसकेपछि नुहाउने ढुंगेधारा मर्मतसम्भार गरेर व्यवस्थित गरेका छौं। गणेशमन्दिर परिसरमा करिव १५ सय वर्गमिटर क्षेत्रफलमा ब्लक छापेका छौं। भूतखेल चौर वरिपरि पर्खाल लगाएर संरक्षण गरेका छौं। त्यतिमात्रै होइन, बनियाँटार क्षेत्रमा दुई सय मिटर सडक कालोपत्रे गरेका छौं। धर्नेश्वर चोकदेखि पूर्व जाने सडक करिव एक किलोमिटर सडक ढलान गरेर चिटिक्क पारेका छौं। लाम्मेपाचाको सडकमा ढल निर्माण र ग्राभेल धमाधम गरिरहेका छौं। त्यस्तै गरी उकालोमा पनि ढलान गरेर व्यवस्थित गरेका छौं। अन्य स्थानको काम पनि तीव्र गतिमा भइरहेको छ। वडामा रहेको सरस्वती माविलाई पनि ६ थान कम्प्युटर हस्तान्तरण गरेका छौं। चालू आवमा सुदर्शन हाइट, नमुना प्लानिङ, मिलिजुली टोल लगायतका विभिन्न स्थानमा करिव डेढ किलोमिटर सडक ढलान गर्ने तयारीमा जुटेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
गत आवमा नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड २० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। नगरपालिकाबाट नगरस्तरीय योजनाअन्तर्गत साढे दुई करोड रूपैयाँ विनियोजन भएको थियो। गत आवमा २५ योजना अघि सारेका थियौं। तिमध्ये २३ योजना तोकेको समयमै निर्माण सम्पन्न भयो। तर, दुई योजना निर्माण सम्पन्न हुन सकेन।

वडा कार्यालयले सडक, ढल, ब्लक बिछ्याउने, खानेपानी, लक्षित समूहलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको छ। चालू आवमा नगरपरिषदबाट वडा कार्यालयको लागि एक करोड ३० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। नगरस्तरीय योजनाबाट तीन करोड रूपैयाँ विनियोजन  भएको छ। वडा कार्यालयले चालू आवमा पनि सडक, ढल, खानेपानी जस्ता आधारभूत आवश्यकतालाई नै बढी प्राथमिकता राखेको छ।

टोखा नगरपालिकाकै सबैभन्दा धेरै क्षेत्रफल भएको वडा हो। त्यसैले पर्याप्त बजेट नहुँदा जनताको अपेक्षाअनुसार काम गर्न सकिरहेका छैनौं। वडा र नगरस्तरीय बजेट मात्रै होइन, विभिन्न सरकारी निकायसँग समन्वय गरेर वडामा विकास निर्माणलाई गति दिने काम गरेका छौं।

तपाईँको वडामा प्राचीन बस्ती छ, संरक्षणका लागि कस्ता योजना अघि सार्नुभएको छ ?
टोखा काठमाडौंको प्राचीन बस्तीमा पर्छ। जुन उपत्यकाकै  पुरानो बस्तीको रूपमा प्रख्यात छ। जहाँ ऐतिहासिक कला संस्कृतिले भरिपूर्ण छ। त्यसैले वडा कार्यालयले प्राचीन तथा ऐतिहासिक बस्तीको संरक्षण र संवद्र्धनको लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं। टोखाको प्राचीन बस्तीमा नेवारी समुदाय बसोबास गर्छन्। टोखाको चाकु देशभर नै प्रख्यात छ। टोखा ऐतिहासिक र प्राचीन बस्ती भए पनि त्यसको फाइदा उठाउन सकिएको छैन। टोखामा केही मात्रामा आन्तरिक पर्यटक आए पनि अझैसम्म विदेशी पर्यटकलाई आकर्षित गर्न सकिएको छैन। त्यसैले वडा कार्यालयले टोखाको ऐतिहासिक पक्षलाई प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको हब बनाउने तयारी गरेका छौं।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
पर्याप्त मात्रामा खानेपानीका स्रोत नहुँदा वडामा खानेपानीको समस्या देखिएको हो। पुरानो बस्तीमा खानेपानीको धेरै समस्या छैन। तर, पछिल्लो समय निर्माण भएका नयाँबस्तीमा खानेपानीको समस्या देखिएको छ। माग अनुसारको खानेपानी आपूर्ति गर्न नसकेकाले वडामा खानेपानीको समस्या भएको हो। वडा कार्यालयले वडामा रहेका खानेपानीको मुहान संरक्षण गरेर रिजर्भायर ट्यांकी निर्माण गरेर खानेपानीको व्यवस्थापन गर्ने तयारीमा जुटेको छ। वडामा अहिले एउटा मात्रै ड्रिप बोरिङबाट खानेपानी वितरण भइरहेको छ। वडा कार्यालयले प्रदेश सरकारसँग समन्वय गरेर दुई ड्रिप बोरिङ खन्नको लागि ५०–५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। अबको तीन वर्षमा वडामा पर्याप्त मात्रामा खानेपानी वितरण गर्ने लक्ष्य लिएका छौं। अब हेरौं, विभिन्न निकायको सहयोग भएमा एक घर, एक धारासहित खानेपानीको व्यवस्थापन गर्ने प्रयत्नमा जुटेका छौं।

तपाईँको वडाका अधिकांश सडक लथालिंग छ, कहिले निर्माण सम्पन्न गर्नुहुन्छ ?
टोखाकै सबैभन्दा धेरै क्षेत्रफल भएको वडामा पर्छ। स्वभावै रूपमा वडाकै सबैभन्दा धेरै सडक रहेका छन्। अधिकांश सडक कच्ची रहेका छन्। त्यसैले वर्षेनी नयाँ–नयाँ योजना बनाएर सडक कालोपत्रे तथा ढलान गर्ने लक्ष्य राखेका छौं। साइबाबा चोकदेखि हात्तीगौंडा सडक खण्ड, हात्तीगौंडा चोकदेखि गणेशस्थान लगायतका स्थानमा डेढ–डेढ किलोमिटरको कच्ची सडक छन्। त्यस्तै गरी खरीडोलदेखि भत्केको पुलसम्म दुई किलोमिटर सडक अस्तव्यस्त रहेका छन्। वर्षांैदेखि सडक अलपत्र हुँदा स्थानीयवासीले सास्ती भोग्दै आइराखेका छन्। घाम लाग्दा धुलाम्मे र पानी आउँदा हिलाम्मे सडकले जनजीवन नै प्रत्यक्ष प्रभावित पारिरहेको छ। आगामी आर्थिक वर्षमा उक्त सडक खण्ड कालोपत्रे गर्ने योजना अघि सारेका छौं।

तपाईँको वडामा अनाधिकृत प्लटिङले अस्तव्यस्त बनाएको छ, नियन्त्रण गर्ने कस्तो योजना छ ?
स्थानीय तहमा लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै जग्गा दलालले अनाधिकृत तथा व्यवस्थित ढंगले जताततै जग्गा प्लटिङ गरेका थिए। जग्गा दलालले खानेपानी, सडक ढल, बिजुली, खुला क्षेत्र समेत नराखीकन जभाभावी ढंगले प्लटिङ गरेकाले अहिले अस्तव्यस्त देखिन्छ। बिग्रिएको ठाउँ सपार्न धेरै गाह्रो हुने रहेछ। त्यसैले अहिले हामीले सडक ढल लगायतका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।

तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
वडाको प्राचीन बस्तीमा जग्गा अतिक्रमणको समस्या छ। पुरानो बस्तीमा बसोबास गर्दै आएका अधिकांश स्थानीयको लालपूर्जा छैन। पुरानो बस्तीको एक तिहाईभन्दा धेरै जग्गा मिचिएको छ। तर, मिचिएको जग्गा कसरी छुट्याउने भन्ने अन्योल छ। उक्त विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्यौं। तर, कस्तो प्रक्रिया अपनाउने विषयमा टुंगो लगाउन सकेका छैनौं। वडा कार्यालयले भूतखेल एक सय ६ रोपनी चौरमा पर्खाल लगाएका छौं। उक्त चौरलाई फुटबल मैदान र हरियाली पार्क बनाउने योजना अघि सारेका छौं। वडामा करिव दुई सय रोपनी सार्वजनिक जग्गा रहेका छन्। ति जग्गालाई जनताको आवश्यकता अनुसार विभिन्न पूर्वाधार निर्माण गर्ने योजना छ।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
२०७२ सालको भूकम्पले वडामा ठूलो धनजनको क्षति भएन। भूकम्पबाट करिव ४०–५० घर प्रभावित भएका थिए। प्रभावितहरूले राहत बापतको रकम बुझेर धमाधम घर निर्माण गरिसकेका छन्। अहिले भूकम्पपीडितको समस्या लगभग समाधान भइसकेको छ। भूकम्पले चर्किएका घरधनीले समेत राहत रकम बुझेर आफ्नो घर मर्मतसम्भार गरेर बसोबास गर्दै आइरहेका छन्।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?  
वडाबासीलाई खानेपानी, सडक, ढल लगायतका आधारभूत आवश्यकता सेवा प्रवाह गर्ने लक्ष्यसहित धमाधम काम गरिरहेका छौं। कार्यकालभित्रै वडाका सम्पूर्ण कच्ची सडक कालोपत्रे गर्न सम्भव छैन। तैपनि स्रोत र साधनले भ्याएसम्म धेरै काम गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं। वडा कार्यालय र नगरस्तरीय योजनाको बजेटले  मात्रै समग्र वडाको विकास सम्भव छैन। त्यसैले संघीय तथा प्रदेश सरकार र अन्य निकायसँग हातेमालो गर्दै वडाको बृहत्तर विकासको लागि दिलोज्यान लगाएर खटेको छु।

प्रकाशित: २० पुस २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App