७ वैशाख २०८१ शुक्रबार
अन्य

बौद्ध स्तुपको बत्ती हटाइयो

बौद्ध स्तुपमा हालिएको बत्ती हटाउँदै कामदार। तस्बिर : श्याम राई

बौद्ध मेलम्ची घ्याङ गुठीले बौद्धस्तुपमा ड्रिल गरेर हालिएको आधुनिक बत्ती बिहीबार हटाइएको छ। पुरातात्व विभागको निर्देशनपछि गुठीले बत्ती हटाएको हो। विभागको स्वीकृति नलिई गुठीले आफूखुसी स्तुपमा हजारौ प्वाल पारेर बत्ती हालेपछि सरोकारवालाले विरोध गरेका थिए। स्तुपा कुरूप भएको भन्दै सम्पदा बचाउ अभियानकर्ताहरूले समेत विरोध जनाएका हुन्।

विभागले बौद्धस्तुपमा हालिएका बत्ती र जेनेरेटर हटाउन निर्देशन आएकोले बत्ती हटाएको बौद्ध मेलम्ची घ्याङ गुठीका लामा विभागका इन्चार्ज साङ्गे दोर्जे तामाङले बताए। ‘विभागबाट पत्र आएकोले सबै बत्ती हटाएका हौँ, उनले भने, ‘अबदेखि स्तुपमा कामहरू गर्दा सबै निकायसँग सहमति गरेर मात्रै काम गर्नेछौँ।’

स्तुपलाई झिलीमिली पार्ने भन्दै कुनै निकायसँग अनुमति नलिई गुठीले विदेशी नागरिक ल्याई पहिलो स्टेपदेखि स्तुपाको गर्वभागसम्म प्वाल पारेर आधुनिक बत्तीहरू हालेको थियो। अहिले त्यहाँ राखिएको बत्तिको जेनेरेटर समेत हटाइएको छ। विभागले पत्र काटेपछि प्वाल ढाक्नको लागि गुठीले रङरोगन समेत गरेको थियो।

स्तुपाको अतिक्रमण रोक्न कार्यक्रम
विश्व सम्पदामा सूचिकृत बौद्धस्तुपामाथि गुठीले अतिक्रमण गरेपछि त्यसको संरक्षण र संवद्र्धन गर्न बिहीबार उक्त स्तुपामा काठमाडौं महानगरपालिका वडा न. ६ र सम्पदा बचाउ अभियानकर्ताले कार्यक्रम आयोजना गरेका छन्।

वडा ६ का वडा अध्यक्ष दीपेन्द्र लामाले मौलिक सम्पदालाई बिगार्न खोजिएकाले त्यसलाई दबाब र आगामी दिनमा यस्तो नगर्न सबैमा सन्देश दिनको लागि कार्यक्रम आयोजना गरिएको बताए। ‘गुठीलाई दबाब दिएपछि बल्ल बत्ती हटाएको छ,’ उनले भने ‘अबदेखि कसैले पनि यस्तो काम नगर्न कार्यक्रममार्फत् सन्देश दिएका छौँ।’ तार हटाएपछि स्तुपाको मौलिकतामा झल्किएको उनले बताए।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले मापदण्डविपरित बौद्धस्तुपमा प्वाल पारेर बत्ती हाल्दा मौलिकतामाथि प्रश्न उठेको बताइन्। ‘मनपरी काम गरेर सम्पदाको मौलिकता हराउन पाइँदैन। अबदेखि गुठीले यस्तो गल्ति नगरोस्,’ उनले भनिन्। मनपरी सम्पदाको स्वारुप बिगार्दा पर्यटकको आगमनमा समेत असर परेको उनले बताइन्।

सम्पदा अभियानकर्ता गणपति श्रेष्ठले सम्पदाको मौलिकता नास्ने काम गर्न नहुने बताए। कार्यक्रममा बौद्ध स्तुपालाई संरक्षण गर्ने प्रतिबद्धता जनाउन हस्ताक्षर समेत गरिएको थियो। यस्तै, सोही अवसरमा  सेतो परेवा समेत उडाइएको छ।

प्रकाशित: २० पुस २०७५ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App