coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली आज इलाम आउँदै

इलाम – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अपराह्न इलाम सदरमुकाम आउँदैछन्। इलाम नगरपालिकाले आयोजना गर्ने लगानी सम्मेलन उद्घाटन र नागरिक अभिनन्दन ग्रहण गर्न प्रम ओली यहाँ आउन लागेका हुन्।

पाँचथरको राँके–रवि–भेडेटार सडक शिलान्यासपछि अपराह्न १ बजेतिर प्रधानमन्त्री ओली इलाम आइपुग्ने नगरपालिकाले जनाएको छ। ओलीले २ बजे सदरमुकामको गौतमबुद्ध सभागृहमा लगानी सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको नगरका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए। ‘सदरमुकामस्थित गढीमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणमा ओर्लिएर ओली कार्यक्रमस्थल गौतमबुद्ध सभागृह आउनुहुनेछ,’ उनले भने, ‘सम्मेलन उद्घाटनपछि प्रधानमन्त्रीको अभिनन्दन कार्यक्रम राखिएको छ।’

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले इलाम टेकेपछि कार्यक्रमस्थलमा अन्य अतिथिहरूको आसनग्रहण हुनेछ।     प्रधानमन्त्री कार्यक्रमस्थल आउनेबित्तिकै राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरु हुनेछ। ‘सम्मेलनको सहआयोजक उद्योग वाणिज्य संघका अध्यक्षले स्वागत गर्नुहुनेछ, नगरपालिका प्रमुख महेश बस्नेतले कार्यक्रमको औचित्य बताउनुहुनेछ र पर्यटन अभियन्ता कृष्ण साहले लगानी सम्मेलनको छोटो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘कार्यपत्र प्रस्तुतिपछि नगरपालिकाले विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गर्ने, त्यसपछि प्रम ओलीलाई अभिनन्दन गर्ने र बढीमा ५ जनाको मन्तव्यपछि प्रम ओलीले सम्बोधन गर्ने कार्यतालिका छ।’अपराह्न ३ बजे प्रम ओली काठमाडौं प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री ओलीले स्वाधीनता, राष्ट्रियता र समृद्धिपथमा गरेको योगदानको कदर गर्दै उनलाई अभिनन्दन गर्न लागिएको प्रमुख बस्नेतले बताए। ‘संविधान निर्माण र जारी गर्नमा निर्वाह गरेको भूमिका, नेपाली राजनीतिक इतिहासमा गरेको योगदान, यसअघि प्रधानमन्त्री भएका बेला भारतले गरेको नाकाबन्दीमा बचाएको राष्ट्रियता, चीनसँगको नाका खुला गरेर नाकाबन्दी युगको अन्त्य गरेको र समृद्धिपथमा देशलाई डोर्याएको योगदानलाई कदर गर्दै प्रम ओलीलाई अभिनन्दन गर्न लागिएको हो,’ उनले भने।     

कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, संघीय  र प्रदेश सरकारका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यलगायतको समेत सहभागिता रहने छ। आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको मेयर बस्नेतले बताए।

सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी–व्यवसायीलगायतको सहभागिता रहने छ। नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ् कमर्स, नेपाल उद्योग परिसंघ, गैरआवसीय नेपालीको संस्था, होटल महासंघ, नेपाल पत्रकार महासंघलगायत संघ–संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन्। ‘इलाम नगरपालिकामा लगानीका क्षेत्र पहिचान गर्दै देशभरका ठूला उद्योगीलाई नगरभित्र विभिन्न क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्न लगानीकर्ताको सम्मेलन आयोजना गर्न लागिएको हो,’ प्रमुख बस्नेतले भने, ‘लगानीकर्ताले यहाँ गरेको लगानीले इलामबासीको जीवनस्तर उकास्दै नगरपालिकाको मात्र नभई सिंगो इलामको समृद्धिमा ठूलो भरथेग गर्ने आशा छ ।’

अभिनन्दन बहिष्कार गर्न कांग्रेसको आग्रह
इलामस्थित नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन कार्यक्रम बहिष्कार गर्न अपिल गरेको छ। बिहीबार अपिल जारी गरी कांग्रेसले प्रधानमन्त्री ओलीलाई ‘असफल र अधिनायकवादी’को आरोप लगाउँदै अभिनन्दन बहिष्कार गर्न आग्रह गरेको हो।

इलाममा रहेका संघीय सरकारअन्तर्गतका डिभिजन कार्यालयहरू विस्थापित गरी प्रदेशअन्तर्गतका कार्यालयसमेत अन्यत्र स्थापना गरेको, पर्यटकीयस्थल घोषणा गर्दा इलामको ऐतिहासिक चियाबारी छुटाएको, पर्यटन क्षेत्रमा इलामलाई बजेट कम दिएकोलगायत कारणले प्रम ओलीलाई अभिनन्दन गर्नुको औचित्य नभएको कांगे्रसले अपिलमा उल्लेख गरेको छ। कर्मचारीतन्त्र तहसनहस बनाइ हुकुमीशैलीको समायोजन विधेयक ल्याएको, भ्रष्टाचारलाई संस्थागत गरेको, धर्मप्रचारकको संस्थालाई सहयोग गरेर विवादमा तानिएकोलगायतका विषय उल्लेख गरी कांग्रेसले अभिनन्दन बहिष्कारको आग्रह गरेको हो।

यसअघि पनि कांग्रेसले कुनै व्यक्तिको निहीत राजनीतिक स्वार्थ पूरा गर्न मात्रै प्रमको अभिनन्दन गर्न लागिएको भन्दै विज्ञप्ति जारी गरेको थियो। पार्टी जिल्ला सभापति हिमालय कर्माचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टाचार वृद्धि भएका बेला प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुले जिल्लाबासीको भावना कदर नहुने उल्लेख छ।

‘हामीले प्रधानमन्त्री ओलीको अभिनन्दप्रति चित्त नबुझेका बुँदा लिपिबद्ध गरी नगरबासीसमक्ष पुर्याएका हौं,’ सभापति कर्माचार्यले नागरिकसँग भने, ‘तर, पार्टी जिल्ला समितिले प्रधानमन्त्री आउने दिन (शुक्रबार) कुनै विरोधको कार्यक्रम भने राखेको छैन, हामीले नगरबासीलाई आग्रह मात्रै गर्ने हो, कार्यक्रमलाई लक्षित गरेर विरोध प्रदर्शन गर्ने होइन। त्यस्तो कुनै कार्यक्रम पनि छैन।’

प्रकाशित: २० पुस २०७५ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App