coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

गाउँपालिकाबाट ‘ट्युसन फी’ पाउँदा विद्यार्थी खुसी

नुवाकोट - चैतमा सञ्चालन हुने एसइईको तयारीमा विद्यार्थी जुटिरहेका छन्। कतिपय विद्यार्थी विद्यालयबाहिरै अंग्रेजी, विज्ञान र गणित विषयका ‘ट्युसन’ पढिरहेका छन्। विद्यालयमा ट्युसन कक्षा सञ्चालन नहुँदा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरू अन्यत्र गई पढ्न सकिरहेका छैनन्।

विद्यालयले ट्युसन सञ्चालन गरे पनि सबै विद्यार्थी ‘फी’ तिरेर पढ्न सक्दैनन्। तर नुवाकोट तादी गाउँपालिका–२ स्थित रालुका माध्यमिक विद्यालयलाई ट्युसन कसरी पढ्ने भनेर चिन्ता लिनुनपर्ने भएको छ। ट्युसनकै लागि भनेर सो गाउँपालिकाले विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ। विद्यालयमा सञ्चालन हुने ट्युसन कक्षामा सबै विद्यार्थीलाई सहभागी गराउन गाउँपालिकाले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

ट्युसन कक्षामा सबै विद्यार्थीलाई सहभागी गराउन नुवाकोटको तादी गाउँपालिकाले रालुका माविलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

ट्युसनकै शीर्षकमा विद्यालयलाई सहयोग गर्ने भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीमा खुसी छाएको छ। यस्तो अवस्थामा ट्युसन पढ्न परिवारसँग पैसा माग्नुपर्ने बाध्यता हटेको छात्रा सुस्मिता गुरुङले बताइन्। ‘विज्ञान, गणित र अङ्ग्रेजी विषयको ट्युसन पढिरहेका छौं,’ उनले भनिन्, ‘तीन विषयको गरी मासिक हजार रुपैयाँ तिर्नुपर्छ। भन्नेबित्तिकै घरबाट पैसा पाइन्न।’ पैसाकै कारण कक्षामा सबै विद्यार्थी सहभागी हुन नसक्ने स्थिति हटेर जाने उनले बताइन्। ‘गाउँपालिका अध्यक्ष आउँदा समस्या सोध्नुभयो। ट्युसन पढ्ने वातावरण मिलाइदिनुपर्‍यो भन्यौं,’ सुस्मिताले भनिन्, ‘सहयोग आउने भएपछि अब ट्युसन कक्षामा सबै साथी सहभागी हुनेछन् भन्ने आशा छ।’ त्यस विद्यालयको कक्षा १० मा ३६ जना विद्यार्थी छन्।

गाउँपालिकाबाट प्राप्त रकम अतिरिक्त कक्षामा विज्ञान, गणित र अङ्ग्रेजी विषय पढाउने शिक्षकहरूलाई दिने प्रधानाध्यापक तिलक पण्डितले बताए। ‘विषयगत शिक्षकहरूले ट्युसन पढ्ने विद्यार्थीले पैसा दिएन भन्ने गुनासो अन्त्य हुने भएको छ ,’ उनले भने, ‘आर्थिक स्थिति कमजोर भएका विद्यार्थी ट्युसन कक्षामा सहभागी नहुँदा पढाइमा एकरूपता थिएन, अब त्यस्तो हुन्न भन्ने विश्वास छ।’ विद्यालय निरीक्षण गर्ने क्रममा त्यहाँका विद्यार्थीहरूले ट्युसन कक्षाको माग गरेकाले ५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए। गाउँपालिकाले गुणस्तरीय शैक्षिक सुधारका लागि पहल गरिरहेको समयमा मागअनुसार अतिरिक्त कक्षा सञ्चालन गर्न आर्थिक सहयोग गरिएको अध्यक्ष पाण्डेको भनाइ छ।

प्रकाशित: २० पुस २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App