coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लखेटिएपछि मन्त्रीको शरणमा राउटे

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई कोसी उपहार दिँदै राउटे समुदायका अगुवा महिनबहादुर शाही। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - लेकबेंसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै लखेटेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई गुहारेको छ। सामुदायिक वनमा रूख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए।

‘काठका भाँडाकुँडा बनाउन पाँचवटा सिमल ढालेका थियौं,’ मन्त्री बुढालाई भेटेर राउटे समुदायका अगुवा महिनबहादुर शाहीले भने, ‘गाउँमा मानिस आएर हामीलाई लखेटे।’ राउटे समुदायले रूख काटेको भन्दै सामुदायिक वनका पदाधिकारीले जरिवाना गर्न खोजेपछि उनीहरू बिहीबार मन्त्री र अन्य सरोकारवालाहरूलाई भेट्न वीरेन्द्रनगर आएका थिए।

राउटे समुदाय लेकबेंसीको रतेखोलामा बस्दै आएको छ। रूख ढालेर त्यसैको काठबाट कोसी, मधुसलगायत भाँडाकुँडा बनाएर दैनिकी चलाउने राउटे समुदाय र सामुदायिक वनबीच विभिन्न ठाउँमा विवाद हुँदै आएको छ। राउटे समुदायको गुनासोपछि मन्त्री बुढाले डिभिजन वन कार्यालय सुर्खेतका निमित्त प्रमुख सूर्यप्रसाद शर्मालाई बोलाएर समस्या समाधान गरिदिन निर्देशन दिएका थिए।

‘यसअघि काटिसकेका रूख राउटे समुदायलाई नै उपलब्ध गराउने र अरू रूख काट्न नदिने सहमति भएको छ,’ डिभिजन वन कार्यालय सुर्खेतका निमित्त प्रमुख सूर्यप्रसाद शर्माले भने।

प्रमुख शर्माले सामुदायिक वनका अध्यक्ष कुमारी पाण्डेसँग कुराकानी गरेका थिए। ‘यसअघि काटिसकेका रूख राउटे समुदायलाई नै उपलब्ध गराउने र अरू रूख काट्न नदिने सहमति भएको छ,’ शर्माले भने, ‘काटिसकेका रूखहरू राउटे समुदायलाई आइतबारसम्म उठाउन भनेका छौं।’

मन्त्रीले दिए बाटो खर्च
रूख काट्न पाउनुपर्ने माग राख्न आएका राउटे समुदायलाई कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले १० हजार बाटो खर्च उपलब्ध गराएका छन्। लेकबेंसी नगरपालिकाको रतेखोलामा बस्दै आएका राउटे समुदाय बिहीबार मन्त्री भेट्न वीरेन्द्रनगर आएका थिए। राउटे समुदायले माघीका लागि खर्च मागेपछि मन्त्रालयका तर्फबाट पाँच हजार र व्यक्तिगत तर्फबाट पाँच हजार रुपियाँ उनले उपलब्ध गराएका थिए। मन्त्री बुढाले माघीका लागि प्रतिपरिवार एक–एक बोरा चामल दिने प्रतिबद्धता जनाए।

प्रकाशित: २० पुस २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App