७ वैशाख २०८१ शुक्रबार
खेल

राखेपका दुई नेतृत्वको फरक भनाइ

बाँके – आठौं राष्ट्रिय खेलकुद आयोजना मिति अन्योल परिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाले फागुनमा प्रतियोगिता गर्न नसकिने बताएका छन्। पूर्वाधार निर्माण गति र पर्याप्त तयारी नपुगेकाले आठाैं राष्ट्रिय खेलकुद फागुनमा गर्न सक्ने अवस्था नभएको उनले बताए।

उपाध्यक्ष तिम्सिनाले बुधबार र बिहीबार आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर निर्माण भैरहेको पुर्वाधारको निरीक्षण गरेका थिए। प्राविधिक टोलीसँगको छलफलपछि आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गर्न हतार गर्न नहुने उपाध्यक्षले बताए। राखेप नेतृत्वको कमजोर तयारीका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिएको उनले बताए।

‘आठौं राष्ट्रिय खेलकुद गर्दा नेपालगन्जले कस्तो पूर्वाधार पाउँछ भन्ने मुख्य प्रश्न हो। कुन अवस्थामा हुन्छ भन्ने नेपालगन्जवासीको चाहना छ। सामान्य ढंगबाट  प्रतियोगिता आयोजना हुनु हुन्न, तिम्सिनाले भने, ‘अहिलेको तयारी हेर्दा फागुनमा होइन अझ केही महिना पछिसम्म गर्न सक्ने अवस्था छैन। आठौं उद्घाटन गर्ने नेपालगन्ज रंगशाला निर्माण फागुनसम्म गर्न कठिन छ।’

पछिल्लो एक सातामा राखेपका शीर्ष दुई नेतृत्वले नेपालगन्जमा निर्माण भैरहेको पूर्वाधार निरीक्षण गरे। तर दुवै नेतृत्वले आयोजना मिति घोषणा गर्न सकेनन्।

गत पुस ११ गते राखेप सदस्यसचिव केशवकुमार विष्टले निरीक्षणप्रश्चात् फागुनको दोस्रो सातामा आठौं राष्ट्रिय खेलकुद आयोजना गर्न सकिने बताएका थिए। त्यसको एक सातापछि राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले नेपालगन्ज र वरपरका जिल्लामा निर्माण भैरहेको पूर्वाधार हेरेर फर्किए। उनले फागुनमा गर्न सक्ने आधार नदेखिएको पत्रकार सम्मेलनमा बताए।

दुई वर्षअघि नेपालगन्जले आठौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो। तर समयमा भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न नहुँदा मिति घोषणामा समस्या भएको क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले बताए।

पूर्वाधार समयमा निर्माण गर्न नसक्दा राखेप नेतृत्वले आलोचना खेपिरहेका बेला उपाध्यक्ष निम्सिनाले बिहीबार हतारमा प्रतियोगिताको मिति घोषणा गर्दा नेपालगन्जवासीलाई अन्याय हुने बताए। उनले भने, ‘हामीले हतारमा आठौं खेलकुदको मिति घोषणा गर्नु हुन्न। पूर्वाधार निर्माण गति र प्राविधिकको सल्लाहअनुसार गर्ने हो। सामान्य घर बनाएजस्तो हुँदैन राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गर्न। विधि र विधानअनुसार राखेप चल्नुपर्छ। जे मन लाग्यो हचुवाको भरमा राष्ट्रिय खेलकुदको मिति घोषणा गर्नु नेतृत्वको कमजोरी हो।’

उपाध्यक्ष तिम्सिनाले राखेप नेतृत्वले सही ढंगले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण आठौं आयोजना गर्ने मिति अन्योल भएको आरोप लगाए। उनले भने,‘स्थानीय स्तरमा निकै राम्रो काम भएको छ। स्थानीयवासी, क्षेत्रीय खेलकुद परिषद्ले आफनो दायित्व पूरा गरेका छन्। तर राखेपको नेतृत्वले प्रतियोगितालार्ई सहज रूपमा लियो। जसका कारण अहिले आठौंका पूर्वाधार निर्माण र आयोजना गर्न समस्या भइरहेको छ।’ दुई वर्षअघि नेपालगन्जले आठौं राष्ट्रिय खेलकुद गर्ने जिम्मेवारी पाएको थियो।

कमजोर तयारीका कारण राखेपले दुई पटक आयोजना मिति सारिसकेको छ। सुरुआतमा मंसिरमा गर्ने घोषणा गरिएको थियो। तर हुन सकेन। माघमा हुने भनेर राखेपले दोस्रो पटक मिति तय गर्यो। माघमा पनि हुन नसक्दा राखेप नेतृत्व थप आलोचित बन्न पुगेको छ।

राखेप सदस्यसचिव विष्टले आठौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गर्ने क्रममा फागुन दोस्रो सातासम्म आठौं गर्न सकिने बताएका थिए। सुरुआतमा राष्ट्रिय खेलकुद मंसिर २१ देखि २९ सम्म गर्ने मिति तय भएको थियो। तर पूर्वाधार निर्माण र बजेटका कारण तयारी सन्तोषजनक नभएको भन्दै राखेपले माघ २५ देखि फागुन ३ सम्म गर्ने निर्णय गरेको थियो।

राखेपले आठौं राष्ट्रिय खेलकुदका लागि ४२ करोड आवश्यक पर्ने बताएको छ। सातौं राष्ट्रिय खेलकुद आयोजनामा ३५ करोड खर्च भएको थियो। आठौंको उद्घाटन गर्ने भनिएको नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिट मलेसियन कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ। तर सम्झौताअनुसार अग्रिम भुक्तानी गर्ने रकम राखेपले समयमै उपलब्ध गराउन नसक्दा मलेसियन टोली नेपाल आउन ढिलाइ भएको थियो।

क्षेत्रीय अध्यक्ष ओलीले प्रतियोगिता आयोजना मिति अन्योल पर्नुको जिम्मेवार नेतृत्वले लिनुपर्ने बताए। उनले भने, ‘हामीले आफ्नो शतप्रतिशत शक्ति लगाएर काम गरेको छौं। बजेट निकासा गर्ने पहुँच हामीभन्दा माथि छ। आठौं राष्ट्रिय खेलकुद आयोजना अन्योल हाम्रा कारणले भएको होइन। यसका बारेमा हामी सार्वजनिक रूपमा बताउनेछौं।’

अध्यक्ष ओलीले समयमा बजेट नआएका कारण पूर्वाधार निर्माणमा ढिलाइ भएको बताए। उनले भने, ‘बजेट निकास हुने गति ढिला भयो। त्यसले पूर्वाधार निर्माणमा असर गर्यो। अहिले तीव्र गतिमा काम भइरहेको छ। तर अहिले नै मिति घोषणा गर्ने अवस्था छैन।’

प्रकाशित: २० पुस २०७५ ००:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App