coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कपको नतिजाबाट लिप्पीको परीक्षा

संघाई – एसिया कपअघि खेलाडीलाई कडा निरीक्षणमा राखेका प्रशिक्षक मार्सेलो लिप्पीले टोलीले आफूलाई प्रमाणित गर्नका लागि जादुमय प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्। युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने प्रतियोगितापछि लिप्पीको टोलीसँगको सम्झौता समाप्त हुँदै छ। ७० वर्षे लिप्पीले शनिबारबाट हुने प्रतियोगितापछि प्रशिक्षण करियरबाट बिदा लिँदै छन्।

व्यक्तिगत जीवनमा युभेन्ट्सलाई इटालियन लिगमा पाँच उपाधिसँगै च्याम्पियन्स लिग उपाधि दिलाएसँगै २००६ को विश्वकप फुटबलमा इटालीको प्रशिक्षण समालेका लिप्पीले एसिया कपमा चीनलाई राम्रो प्रशिक्षण दिँदै प्रशिक्षकबाट अवकाश लिन चाहन्छन्। 

लिप्पीले चीनको क्लब गोन्जाउ इभरग्रान्डेलाई तीन पटक चाइनिज सुपर लिगको उपाधि दिलाएका छन्। उनले २०१२ देखि २०१४ सम्म प्रशिक्षण दिएका थिए। क्लब प्रशिक्षणमा राम्रो नतिजा निकाल्न सफल लिप्पी त्यसपछि राष्ट्रिय प्रशिक्षकका रूपमा नियुक्त भएका हुन्। लिप्पीको परीक्षा एसिया कपको नतिजाले निर्धारण गर्नेछ। चीन सरकारले युवा खेलाडीमा लगानी गरिरहेका बेला लिप्पीको प्रशिक्षणमा रहेको टोलीले प्रतियोगितामा कस्तो प्रदर्शन गर्ला भनेर सबैले व्यग्र प्रतीक्षा गरिरहेका छन्।

युएईमा हुने प्रतियोगितामा वैकल्पिक गोलकिपर चोटग्रस्त देखिएका छन् भने  चिसो र रुघाले टोलीको संरचनामा असर पार्ने देखिन्छ। यद्यपि प्रशिक्षक लिप्पी टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी छन्। चीनले एसिया कप छनोट खेलमा भएका सातमध्ये एक खेलमा मात्र जित निकाल्न सफल भएको थियो भने बाँकी खेलमा सन्तुलित प्रदर्शन गरेको थियो। पछिल्ला खेलमा गोल गर्न नसकेका चीनका खेलाडीको स्वास्थ्य र मनोबल उच्च पार्नका लागि प्रशिक्षक लिप्पीले यति बेला मिहिनेत गरिरहेका छन्।

‘अहिले म खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु, तर घाइते र चिसो मौसमले टोलीमा असर पारिरहेको छ,’ प्रशिक्षक लिप्पीले भने, ‘म उत्कृष्ट प्रशिक्षकको रूपमा प्रमाणित हुन चाहन्छु।’

शनिबारबाट युएईमा सुरु हुने प्रतियोगितामा चीनले किर्गिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्दै छ। उद्घाटन खेलमा आयोजक युएईले बहराइनसँग खेल्नेछ भने आइतबार अस्ट्रेलियाले जोर्डन, थाइल्यान्डले भारत तथा सिरियाले प्यालेस्टाइनसँग खेल्नेछन्। २४ देशको सहभागिता रहेको प्रतियोगिता विभिन्न ८ सहरमा सञ्चालन हुँदै छन्। प्रतियोगितामा सहभागी हुन नेपालले छनोट खेले पनि राम्रो नतिजा निकाल्न सकेको थिएन।

प्रकाशित: २० पुस २०७५ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App