८ वैशाख २०८१ शनिबार
खेल

विभागीय टोलीको विजयी सुरुआत

इटहरी – दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले विजयी सुरुआत गरेका छन्। पुलिसले प्रदेश नम्बर ३ लाई, त्रिभुवन आर्मीले कर्णालीलाई तथा एपिएफले प्रदेश नम्बर ७ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्। यस्तै चौथो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्दै प्रतियोगितामा जित हात पारेको छ।

इटहरीमा भएको उद्घाटन खेलमा पुलिसले प्रदेश नम्बर ३ माथि ३–० को सोझो सेटमा नतिजा हात पारेको हो। पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेटमा पनि उत्कृष्ट खेल्दै २५–१३ को जित दर्ता गर्न सफल भयो। लगातार दुई सेटमा जित हात पारेको पुलिसले तेस्रो सेटमा पनि २५–१९ को सहज जित निकाल्दा प्रतियोगितामा विजयी सुरुआत गरेको हो।

दिनको दोस्रो खेलमा त्रिभुवन आर्मीले कर्णालीलाई पनि ३–० को सोझो सेटमा स्तब्ध पार्यो। २५–१२ ले पहिलो सेट जितेको आर्मीले दोस्रो र तेस्रो सेटमा समान २५–१३ को स्कोर बनाउँदै नतिजा आफ्नो पक्षमा पार्यो। यस्तै अर्को खेलमा प्रदेश नम्बर ७ लाई पराजित गर्न एपिएफले धेरै संघर्ष गर्नुपरेन। सोझो सेटमा जित निकालेको एपिएफले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१५ ले आफ्ने पक्षमा पार्यो।

चौथो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ माथि ४–१ सेटमा जित निकाल्न सफल भयो। पहिलो सेट २५–१९ ले जितको गण्डकीले दोस्रो सेटमा २५–१९ जित निकाल्दा तेस्रो सेट १४–२५ ले गुमाएको थियो। दुई सेटमा जित निकालेको गण्डकीले चौथो सेटमा  २५–१३ को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।

सुनसरी जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता पाँच दिनसम्म चल्नेछ। प्रतियोगितामा नेपालका सातवटै प्रदेशका टिम र विभागीय टोली एपिएफ, नेपाल आर्मी र नेपाल पुलिस क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेताले नगद चार लाख रुपैयाँ, उपविजेता टिमले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् भने तृतीय हुने टिमले नगद एक लाख रुपैयाँ हात पार्नेछ।

प्रकाशित: २० पुस २०७५ ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App