coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

सिड्नी – चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

पहिलो दिनको खेल समाप्तिमा भारत ३०३–४ मा खेलिरहेको छ।  पुजारा अविजित १ सय ३० र हनुमा बिहारी अविजित ३९ रनमा खेलिरहेका छन्। पुजारा र बिहारीले पाँचाैं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरिसकेका छन्। पुजाराले २ सय ५० बलमा १६ चौका प्रहार गर्दा बिहारीले ५८ बलमा ५ चौका प्रहार गरे।

४ खेलको शृंखलामा भारत २–१ ले अघि छ। भारतले एडिलेडमा सम्पन्न पहिलो र मेलबर्नमा सम्पन्न तेस्रो टेस्ट जितेको थियो भने अस्ट्रेलियाले पर्थमा सम्पन्न दोस्रो खेलमा जित हात पारेको थियो।

टेस्ट वरीयताको शीर्ष टोली भारतले सिड्नी टेस्टमा जित हात पारे वा बराबरीमा टुंग्याउन सके अस्ट्रेलियाली भूमिमा पहिलो पटक टेस्ट शृंखलामाथि कब्जा जमाउनेछ। भारतले १९४७–४८ मा पहिलो पटक अस्ट्रेलिया भ्रमण गरेको थियो।
‘हामी बलियो अवस्थामा छाैं,’ पुजाराले भने, ‘पहिलो दिनको खेल समाप्तिमा ३ सय रन कटाउनु सहज पक्कै होइन। मयंक अग्रवालले उत्कृष्ट साझेदारी गरे। उनले आफ्नो क्षमताअनुसारको प्रदर्शन गरे।’

भारतले १० रन जोड्दा ओपनर लोकेश राहुललाई पहिलो विकेटका रूपमा गुमाएको थियो। ६ बलमा २ चौका प्रहार गर्दै  ९ रन जोडेका राहुललाई तीव्र गतिका बलर जस हाज्लेउडले सन मार्सबाट क्याच गराए। दोस्रो विकेटका लागि अर्का ओपनर अग्रवालसँग पुजाराले १ सय २६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। १ सय १२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७७ रन बनाएका अग्रवाललाई स्पिनर नाथम लियोनले मिचेल स्टार्कबाट क्याच गराएका थिए।

अग्रवाल पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका कप्तान विराट कोहली र अजिन्क्या रहानेले सम्हालिएको प्रदर्शन भने गर्न सकेनन्। कोहलीले हाज्लेउडको बलमा अस्ट्रेलियाली कप्तान टिम पायनेबाट क्याच हुनुअघि ५९ बलमा ४ चौकाको मद्दतमा २३ रन जोड्दा रहानेले स्टार्कको बलमा पायनेबाट क्याच हुनुअघि मात्र १० रन जोडेका थिए। पहिलो दिन अस्ट्रेलियाका हाज्लेउडले २ एवं लियोन र स्टार्कले समान १ विकेट लिए।

‘पुजाराले सम्हालिएको प्रदर्शन गर्दै अनुभवी खेलाडी भएको प्रमाणित गरे,’ अस्ट्रेलियाली टोलीमा आश्चर्यजनक रूपमा स्थान बनाएका मार्नोस लाबुस्चेन्जले भने, ‘दोस्रो दिन पहिलो सत्रमा भारतलाई ४ सय रनभन्दा कम योगफलमा सीमित पार्न सके हामी खेलमा फर्किनेछाैं।’

टेस्ट वरीयताको शीर्ष टोली भारतले सिड्नी टेस्टमा जित हात पारे वा बराबरीमा टुंग्याउन सके अस्ट्रेलियाली भूमिमा पहिलो पटक टेस्ट शृंखलामाथि कब्जा जमाउनेछ।

प्रकाशित: २० पुस २०७५ ००:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App